रंगशाला निर्माणमा चितवन तात्यो, एक घन्टामै ६५ लाख बढी सहयोग

सफल खबर संवाददाता

आइतबार, १२ साउन २०७६, १३ : ०९
रंगशाला निर्माणमा चितवन तात्यो, एक घन्टामै ६५ लाख बढी सहयोग

चितवन । चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको तातो चितवनलाई लागिरहेको छ । दिनहुँ लाखौँ रुपैयाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि उठिरहेको छ । 

यहाँका व्यवसायीदेखि कर्मचारीसम्म सहकारीदेखि विद्यालयसम्म क्रिकेट रंगशाला निर्माणको लागि दिनहुँ सहयोग गरिरहेका छन् । आज भरतपुर महानगरपालिकामा एक घन्टामै ६५ लाखभन्दा बढीको चेक धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण भएको छ । 

‘रंगशाला निर्माणमा चितवन तातेको अनुभव भइरहेको छ, दिनहुँ घन्टैपिच्छे रकम आउने क्रम जारी छ’ धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले भन्नुभयो, ‘चितवन किन तातेन भन्ने लागेको थियो, तर तात्न बाँकी नै रहेछ, अब तातेको महुुसुस भइरहेको छ ।’

भरतपुर महानगरपालिकाले उपलव्ध गराएको ५० लाख रुपैयाँको चेक ग्रहण गर्दै धुर्मुसले रंगशाला निर्माणको लागि दिइएको एक रुपैयाँ पनि दुरुपयोग नहुने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘भदौमा डीपीआर सक्ने लक्ष्य थियो, तर बीचमा केही समस्या भयो, तर पनि दसैँअघि रंगशालाको डीपीआर सक्ने लक्ष्यमा हामी दौडिरहेका छौँ ।’

अध्यक्ष धुर्मुसले आफू केही लिन नआएको र चितवनलाई रंगशाला छोड्न आएको हुनाले चितवनवासी अझ तात्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा जब राजनीतिक परिवर्तन आउनुअघि पहिला चितवन तात्नुपर्ने थियो, अब रंगशालामा पनि परिवर्तन देखिन चितवन नै तात्नुपर्छ ।’

भरतपुर महानगर प्रमुख रेनु दाहालले फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई ५० लाखको चेक हन्तान्तरण गर्दै पछिल्लो समय रंगशाला निर्माणमा चितवन तातेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तोकिएको समयमै रंगशाला निर्माण सक्नुपर्छ, त्यही उद्देश्यले चितवनवासी अझ सहयोगमा अझ दौडिन आवश्यक छ, दौडिरहेको पनि छ ।’ 

उहाँले भरतपुर महानगरले बजेटबाट ६ करोड ५० लाख बजेट छुट्टाएको बताउनुभयो । पाँचहजार एक जनाको जिल्ला समिति बनेको र अब टोलटोलबाट सहयोग रकम उठ्ने बताउनुभयो । उहाँले रंगशालालाई सहयोग रकम जुटाउनकै लागि निर्देशक समिति गठन भएको बताउनुभयो । महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २८ सदस्यीय निर्देशक समिति बनेको छ । जुन समितिमा सबै क्षेत्रका प्रतिनिधिहरु सहभागी भएका छन् । 

यस्तै, भरतपुर महानगर स्तरीय सहयोग समिति गठन भएको छ । उपमेयर पार्वती शाहको संयोजकत्वमा २७७ भरतपुर महानगरस्तरीय रंगशाला निर्माण समिति गठन भएको छ । 

एक घण्टामै आएको सहयोग 
रंगशाला निर्माणको लागि भरतपुर महानगरले ५० लाखको चेक हस्तान्तरण गरेपछि प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले व्यक्तिगत रुपमा एक लाख ५१ हजार १५१ रुपैयाँको चेक फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गर्नुभएको थियो । 

चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले १२ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । उहाँले उद्योग संघले यसअघि बोलेको ५१ लाखमध्येको केही रकम हस्तान्तरण गर्नुभएको हो । 

यस्तै अक्सफोर्ड कलेज गैँडाकोटका प्रिन्सिपल हरि भण्डारीले रंगशाला निर्माणकै लागि दुई लाख ३३ हजारको चेक हस्तान्तरण गर्नुभएको हो । अक्सफोर्डले यसअघि नै ७ लाख ७७ हजार ७७७ रुपैयाँ दिने घोषणा गरेको थियो । 
सहयोग प्रतिबद्धता 
चितवनमा विभिन्न व्यक्तिहरु, संघसंस्था तथा विद्यालयहरुले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । हंश बहुउद्देश्यीय सहकारीका अध्यक्ष दिनेशकुमार चुकेले यही हव्ता १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । सवशक्ति साकोसका तर्फबाट ५ लाख ५५ हजार सहयोग गर्ने प्रतिबद्धता आएको छ ।

डा शारदा कुँवर र नारायणसिंह कुँवरले १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । चितवन जिल्ला बचत तथा सहकारी संघले एक लाख सहयोग गर्ने प्रतिबद्धता आएको छ । लायन्सकर्मी रामप्रसाद भट्टले एक लाख बढी सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । निर्माण व्यवसायी संघले पनि सहयोगको प्रतिबद्धता गरेको छ । 

प्रतिक्रिया दिनुहोस