सिंगापुरसँग हारेपछि नेपालको टी–२० विश्वकप खेल्ने सपना चकनाचुर

सफल खबर संवाददाता

आइतबार, १२ साउन २०७६, १० : ५७
सिंगापुरसँग हारेपछि नेपालको टी–२० विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौँ । आगामी वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ । आईतबार आईसीसी टी२० एसिया विश्वकप छनोट खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । नेपाललाई हराउँदै च्याम्पियन बनेको सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुगेको छ । ग्लोबल छनोट आगामी अक्टोबरमा यूएईमा हुनेछ ।

आइतबार सिंगापुरले दिएको १९२ रनको विशाल पछ्याएको नेपालले खराब ब्याटिङ गर्‍यो। नेपाल १५ ओभरमा १०९ रनमै अलआउट भयो। नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ३९ रन जोडे। उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।  त्यसअघि कप्तान पारस खड्का १० बलमा १२ रन जोडेर आउट भए । 

पारस र ज्ञानेन्द्र ७ ओभरभित्र आउट भएपछि दबाबमा परेको नेपालले लगातार विकेट गुमाएको थियो। यस्तै ७ रन बनाएर खेलिरहेका शरद भेषवाकरको लामो प्रहार जनक प्रसादले बाउन्ड्री उफ्रिएर एक हातले क्याच गरेपछि नेपाल संकटमा परेको थियो।  नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ रन र सोमपाल कामीले रनआउट हुनुअघि ११ रन जोडे।  अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।  नेपालको इनिङ ध्वस्त पार्न सिंगापुरका सेलाडेन विजयकुमारले ४ विकेट लिए। उनले २५ रन खर्चिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । नेपालका लागि अभिनास बोहराले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३५ रन खर्चेर चार विकेट लिए । करण केसीले २ विकेट लिए ।
 

प्रतिक्रिया दिनुहोस