वाम गठबन्धनको मुख्य उद्देश्य विकास र सुशासनमार्फत समृध्दि : प्रचण्ड

मंगलबार, २८ कार्तिक २०७४, ११ : ४५
वाम गठबन्धनको मुख्य उद्देश्य विकास र सुशासनमार्फत समृध्दि : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको मुख्य उद्देश्य देशको तिब्र आर्थिक विकास र सुशासनमार्फत समृध्दि हासिल गर्ने भएको बताएका छन् । मंगलबार निर्वाचन क्षेत्र अन्तर्गत रहेको पश्चिम चितवनको हरैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले चितवनको बिकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे । उनले मतदातालाई पैसाको प्रलोभनमा पार्ने, जनतालाई रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरूद्ध खबरदारी गर्न जनसमुदायलाई अपिल गरे ।

अध्यक्ष प्रचण्डले केही उम्मेद्वारहरू पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको आफूले जानकारी पाएको भन्दै तिनीहरूका पैसा खोसेर जनतालाई बाँढ्न गठबन्धनका कार्यकर्ता तथा जनसमुदायलाई निर्देशन दिए ।

"विगतमा धेरै उम्मेद्वारहरूले चितवनबाट चुनाव लडेर जितेपनि जनताको आशा पूरा गर्न सकेनन् । म विगतमा अरूले नगरेका काम योजनाबद्द ढंगले पूरा गर्न चितवन आएको हुँ ।"

चुनावी सभा, घरदैलो तथा मतदाता भेटघाटका क्रममा गाजापुरमा रहेको मदन स्मृति पार्कमा पुगेर जननेता मदन भण्डारीको स्मरण गर्दै अध्यक्ष प्रचण्डले मदन भण्डारीको सपना साकार हुने दिन आइसकेको बताए । गाजापुर स्वर्गीय मदन भण्डरीको शव प्राप्त भएको स्थान हो ।

अबको पाँच बर्षमा चितवन बिकास र सभ्यताको दृष्टिकोणले देशकै नमुना जिल्ला बनाइछाड्ने विश्वास ब्यक्त गरे । उनले भने, "विगतमा धेरै उम्मेद्वारहरूले चितवनबाट चुनाव लडेर जितेपनि जनताको आशा पूरा गर्न सकेनन् । म विगतमा अरूले नगरेका काम योजनाबद्द ढंगले पूरा गर्न चितवन आएको हुँ ।"

उनले राजनीतिक लडाइ पूरा भएको भन्दै अबको बाटो तिब्र बिकाससंगै समृद्धि मार्फत नेपाली जनताको मुहार फेर्ने नै भएको बताए । आफू प्रधानमन्त्री हुँदा चितवनलाई रणनैतिक महत्वका योजनाहरूको लागि दुई अर्बभन्दा बढी विशेष बजेट चितवनमा आफैले व्यवस्था गरेको स्मरण गरे ।

उनले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र औद्योगिक बिकासमार्फत रोजगारी सृजना गरी सम्पूर्ण शक्ति राष्ट्र निर्माणमा केन्द्रीत गर्ने आफ्नो योजना रहेको बताए । यसका लागि ५ बर्षे स्थिर सरकार अनिवार्य भएको बताउँदै त्यसका लागि वाम गठबन्धनका सम्पूर्ण उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा ३ नम्बर क्षेत्र प्रदेश क का उम्मेद्वार कृष्ण भूर्तेलले आफू चितवनबासीको सेवामा निरन्तर लागिपरेको बताउँदै आफू लगायत वाम गठबन्धनका उम्मेद्वारहरूलाई विजयी गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस