प्राध्यापन र समाजसेवामा ओबामा

मंगलबार, २८ कार्तिक २०७४, ०७ : ५३
प्राध्यापन र समाजसेवामा ओबामा

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पनि विभिन्न प्राध्यापन र सामाजिक कार्यमा सक्रिय छन् । उनले प्रजातन्त्र र उदारवादी व्यवस्थालाई कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा भाषण दिने गरेका छन् । उनले अमेरिकामा आँधीका कारण टेक्सास राज्यका थुपै्र व्यक्ति पीडित भएपछि पूर्वराष्ट्रपति जिम्मी कार्टर, जर्ज एचडब्लू बुस, बिल क्लिन्टन र जर्ज डब्लू बुससँगै मिलेर ‘वान अमेरिका अपिल’ नामक कार्यक्रममा सहभागिता जनाएका थिए । राष्ट्रपतिका रूपमा कार्यकाल सकिएपछि उनले ‘ओबामा फाउन्डेसन’ चलाउँदै आएका छन् ।

भाषणले संकलित पैसा समाजसेवामा
सन् २००१ मा अमेरिकी राष्टपतिको कार्यकाल सकिएपछि बिल क्लिन्टन उत्प्रेरणा दिने भाषण गरेर जम्मा गरेको पैसाले परोपकारी कोष सञ्चालन गर्छन् । २००४ मा एशियामा सुनामी आएपछि संयुक्त राष्टसंघका तत्कालीन महासचिव कोफी अनानले क्लिन्टनलाई सहायता मिसनको नेतृत्वकर्ता बनाएका थिए ।

जर्ज डब्ल्यु बुस समाजसेवामै केन्द्रीत छन् । राष्टपति ओबामाको आग्रहपछि उनले सन् २०१० मा क्लिन्टन–बुस फाउन्डेसन खोलेर हैटी भूकम्पपीडितका लागि सहयोग रकम जुटाएका थिए । उनको अर्को काम चित्रकला हो । विस्टन चर्चिलको निबन्धन ‘पेन्टिङ यास अ पास्टटाइम’ बाट प्रभावित भएपछि उनी चित्रकार बनेका हुन् । उनले टोनी ब्लेयर, भ्यादिमिर पुटिन लगायतका विश्व नेताहरूको चित्र कोरेका छन् । त्यस्तै जनावर जीवन लगायत चित्र उनले कोरेका छन् । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुट्रेस अहिले संयुक्त राष्टसंघका महासचिव छन् ।

बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यानरुन अहिले विभिन्न एनजिओमा आबद्ध छन् । उनी अमेरिकी निजी क्षेत्रको एक कम्पनीमा जागिरे समेत छन् । इलेक्ट्रोनिक पेमेन्ट कम्पनी फस्र्ट डाटा कर्पोरेशनमा उनले महिनामा २ देखि ३ दिनसम्म जागिर गर्छन् । यो कम्पनीले विश्वभर भएको क्यास मेसिनका डेभिड कार्ड र क्रेडिट कार्डका कारोबार हेर्ने गर्छ । यस कम्पनीमा सल्लाहकार रहेका क्यानरुनले कम्प्नीले गर्ने विभिन्न कार्यक्रममा आफ्ना धारणा राख्छन् ।

कलामको अन्तिम सास कक्षाकोठामा
भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामले राष्ट्रपतिबाट हटेलगत्तै प्राध्यापन पेसा सुरु गरे । इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टअन्तर्गतका विभिन्न कलेजमा पढ्ने विद्यार्थीमाझ उनले आफ्ना अनुभव सुनाउँथे । सिलोङ, अहमदावाद र इन्दोरमा रहेका कलेजमा भिजिटिङ प्रोफेसरका रूपमा उनले युवा विद्यार्थीलाई ज्ञान बाँडे । युवाहरूसँग घुलमिल भइरहन चाहने कलामको निधन पनि विद्यार्थीलाई कक्षाकोठामा पढाउँदा–पढाउँदै भयो । आइआइएम सिलोङको कक्षाकोठामा उनको जीवनकै अन्तिम वाक्य थियो, ‘रमाइला बच्चाबच्चीहरू के तिमीहरू राम्रो गर्दै छौ ?’

प्रतिक्रिया दिनुहोस