Safal Khabar - सेती नदीमा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु
आइतबार, ०८ भदौ २०७६ (Sunday, 25 August, 2019)
सेती नदीमा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु
शनिबार, ०४ साउन २०७६, १८ : ०६
सेती नदीमा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

तनहुँ । पौडी खेल्ने क्रममा शनिबार डुबेर तनहुँमा एक बालकको मृत्यु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ निवासी १२ वर्षीय विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
 
जिल्लाको भिमाद नगरपालिका–५ मामाघरमा गएका ती बालक सोही वडास्थित सेती नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।  

पौडी खेल्ने क्रममा हामफाल्दा नदीमा रहेको दलदले माटोमा टाउको गएर गडेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै गएका श्रीराम श्रेष्ठ मुख बोल्न नसक्ने भएकाले तत्कालै उपचारको लागि लैजान नसकिएको प्रहरीले जनाएको छ । उक्त घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली गएर शव बाहिर निकालेका थिए । 

त्यसैगरी जिल्लाको भानुनगरपालिका–१३ चन्द्रावतीका आठ वर्षीय सुवास अधिकारीको डोरीको पासो लागि मृत्यु भएको छ । आमा र हजुरबुबा काममा गएको समयमा ९२ वर्षीया मैया अधिकारी घरमा रहेको अवस्थामा अधिकरीले डोरीमा खेल्ने क्रममा पासो लाग्न गई मृत्यु भएको प्रहरीले जनाएको छ । उठबस गर्न नसक्ने वृद्धा हजुरआमा घरमा रहे पनि अधिकारी जानीजानी नभई डोरीमा झुन्डिने क्रममा अचानक घाँटीमा पासो लाग्न गई मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । (रासस) 

प्रतिक्रिया दिनुहोस