मेट्रो रेलको डिपिआर: यसरी बन्नेछ दुई खर्बमा उपत्यकामा मेट्रो रेल

मंगलबार, २८ कार्तिक २०७४, ०७ : ००
मेट्रो रेलको डिपिआर: यसरी बन्नेछ दुई खर्बमा उपत्यकामा मेट्रो रेल

लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ । रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैँले गर्नेछ । दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारीअन्तर्गत बुट प्रणालीमा अघि बढाइनेछ ।

निर्णय चाँडै कार्यान्वयनमा ल्याइने
बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय चाँडै कार्यान्वयनमा आउने बताए । ‘उपत्यकामा मेट्रो रेल कुदाउने सपना पुरानै हो । यसअघि केही अध्ययन भएका थिए । विविध कारण थन्किए पनि अब यसले फेरि ब्युँझिने मौका पाएको छ । चाँडोभन्दा चाँडो बोर्डको निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने ।

सिइओ अधिकारीले डिएफएस र डिपिआर तयारी मात्र नभई मेट्रो रेल निर्माण कार्य नै अघि बढाइने जानकारी दिए । ‘अहिले सम्भाव्यता र डिपिआर अध्ययनको जिम्मेवारी आएको छ । तयारी भएलगत्तै निर्माणको चरणमा प्रवेश गर्छौँ । त्यसका लागि आवश्यक लगानी जुटाउन सरकारलाई भनिनेछ, सँगै निजी क्षेत्रलाई आह्वान गरिनेछ,’ उनले भने ।

यसअघि कोरियन कम्पनीले गरेको थियो सम्भाव्यता अध्ययन
लगानी बोर्डका अनुसार मेट्र रेल सम्बन्धमा यसअघि तयार गरिएको प्रतिवेदन पनि अध्ययन हुनेछ । उपत्यकामा मेट्रो रेल चलाउने उद्देश्यले कोरियन कम्पनीले सन् २०१२ मै सम्भाव्यता अध्ययन गरेको थियो । कम्पनीले ‘इलेक्ट्रिक फायर मेट्रो रेल’ चलाउन रेल विभागको संयोजकत्वमा अध्ययन गरेको थियो । त्यसवेला चक्रपथभित्र मात्रै लक्षित गरी मेट्रो रेल निर्माणको अध्ययन भएको थियो । पाँच लेनमा कुदाउन सकिने भनी गरिएको अध्ययन प्रतिवेदनअनुसार सातदोबाटो–रत्नपार्क–महाराजगन्ज चोकसम्म रुट नंं. ‘ए’ र कलंकी–कालीमाटी–कोटेश्वरसम्म रुट नं. ‘बी’ नाम दिइएको थियो । त्यस्तै, रुट नं. ‘सी’ चक्रपथ, रुट नं. ‘डी’ स्वयम्भू–डिल्लीबजार–बौद्ध र रुट नं. ‘ई’ अन्तर्गत धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुलाई राखिएको थियो । प्रतिवेदनअनुसार रुट नं. ‘ए’, ‘बी’ र ‘सी’ इलिभेटेड अर्थात् स्काइरेल हुने भनिएको थियो । रुट नं. नम्बर ‘डी’ र ‘ई’ भने भूमिगत हुने भनिएको थियो ।

दुई खर्ब खर्च लाग्ने
बोर्डका अनुसार रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डसम्मको लम्बाइ ४५ किमि छ । सो खण्ड निर्माण गर्न झन्डै एक खर्ब २९ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । त्यस्तै, रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसनसम्मको लम्बाइ करिब २५ किमि छ । यस खण्डको निर्माण लागत ७५ अर्बभन्दा बढी लाग्ने अनुमान छ । ‘तथ्यांकअनुसार लिक निर्माणको लागत रकम प्रतिकिमि तीन अर्ब रुपैयाँ छ,’ लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस