‘भरतपुरलाई बगैँचाको सहर बनाउने दौडानमा छु’

सफल खबर संवाददाता

बुधबार, ०१ साउन २०७६, १७ : २२
‘भरतपुरलाई बगैँचाको सहर बनाउने दौडानमा छु’

चितवन । नेपालका मध्येमागमा रहेको भरतपुरमा ७७ वटा जिल्लाका मानिसहरु बसोबास गर्छन् । तीव्र रुपमा सहरीकरण भइरहेको भरतपुरलाई सफा, सुन्दर र मानवीय बसोबास योग्य व्यवस्थित सहर बनाउनु आजको मुख्य आवश्यकता बनेको सर्वविदितै छ । यही आवश्यकतालाई मध्येनजर गर्दै ३ नं प्रदेशका सांसद विजय सुवेदीले भरतपुरमा सरसफाइ एवम् हरियाली प्रवद्र्धन कार्यक्रम चलाइरहनु भएको छ ।

जनसंख्या वृद्धि हुनु, सहरीकरण बढ्दै जानु, खुला जमिन मासिनु र धुँवा धुलोसहित फोहर प्रदुषण बढ्दै गइरहेको अवस्थामा सांसद सुवेदीको सरसफाइ एवम् हरियाली प्रवद्र्धन कार्यक्रम सार्थक बन्दै गइरहेको पाइएको छ । सांसद सुवेदीले प्रदेश सरकारको बजेटबाट सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रम सुरु गर्नुभएको हो । जसको लागि उहाँले ५० लाख रुपैयाँ रकम विनियोजन गर्नुभएको थियो । 

नयाँ आर्थिक वर्षको सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रम भरतपुर महानगरपालिकामार्फत शुभारम्भ भइसकेको छ । ३ नं प्रदेशमा रहेका ११० सांसदमध्ये सरसफाइ एवम् हरियाली प्रवद्र्धन कार्यक्रममा बजेट छुट्याउने एकमात्र सांसद हुन् सुवेदी । 
भरतपुर महानगरमा चलिरहेको सरसफाइ एवम् हरियाली प्रवद्र्धन कार्यक्रमको सेरोफेरोमा रहेर सफल खबरले प्रदेश सांसद विजय सुवेदीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

भरतपुर महानगरपालिकामा चलिरहेको सरसफाइ एवम् हरियाली प्रवद्र्धन कार्यक्रम कस्तो प्रकृतिको छ ? 
चितवनको भरतपुर महानगरमा तीव्र विकास भइरहेको छ । बढ्दो सहरीकरणले खुला जमिनहरु कम हुँदै गइरहेका छन् । यस्तो अवस्थामा सहरलाई सरसफाइ र हरियाली बनाउन अति आवश्यक छ । सरसफाइ र हरियालीलाई अहिल्यै नै सोचेनौँ भने पछि धोका हुन सक्छ । यसको उदाहरणको रुपमा हामी राजधानीलाई पनि लिन सक्छौँ ।

सभ्यताको पहिलो परिचय भनेको सरसफाइ नै हो । हामी आफू बसोबास गर्ने ठाउँलाई कस्तो ठाउँको रुपमा विकास गर्ने भन्ने हाम्रै हातमा रहको हुन्छ । मानिसको चाहनाले विश्वमा सुन्दर हरियाली सहरहरु निर्माण भएका छन् । विश्वले सुन्दर हरियाली सहर बनाइराख्दा हामीले भरतपुरलाई पनि बनाउन सक्छौँ । त्यो अठोटका साथ हामी हिँड्नुपर्छ । 

भरतपुरलाई धुँवा धुलो नभएको, फोहोर वस्तुहरु कतै पनि नफालिएको सफा, ढल र खोलानालासम्म पुग्ने पानी प्रशोधन गरी सफा पानीले भरिएका, कुनै पनि खोलाको किनार, सडक, सार्वजनिक ठाउँ र घर परिसरमा जताततै फलफूलको बिरुवा लगाउनु यस कार्यक्रमको मुख्य ध्येय नै हो ।

यही दृष्टिकोणलाई मध्येनजर गर्दै भरतपुरमा सरसफाइ एवम् हरियाली प्रवद्र्धन कार्यक्रम चलाइएको हो । प्रदेश सरकारबाट सरसफाइ र हरियाली प्रवद्र्धन शीर्षकमा रकम विनियोजन गरी भरतपुरलाई फलफूलको बगैँचाको सहर बनाउने दौडानमा हिँडिरहेको छु भन्दा फरक नपर्ला ।

भरतपुरलाई सुन्दर एक बगैँचा बनाउने लक्ष्य हो ? 
अवश्य हो । सरसफाइ एवम् हरियाली प्रवद्र्धन कार्यक्रमको मुख्य लक्ष्य नै भरतपुरलाई सुन्दर एक बगैँचा बनाउनु नै हो । त्यसमा पनि अझ फलफूलको बगैँचा बनाउनु हाम्रो ध्येय हो । यही अभियानमा हामी हिँडिरहेका छौँ । 

अशोकका बिरुवा लगाउँदा हरियाली कायम त भयो, तर त्यसको फल लाग्दैन । त्यसैले त्यस्ता फल नलाग्ने बिरुवा लगाउनुभन्दा लिची, आँप, कागतीलगायतका फल लाग्ने बिरुवा लगाउन हामीले प्रोत्साहन गरिरहेका छौँ । यस्ता बिरुवा लगाउँदा फलफूल पनि खान पाइन्छ अनि हरियाली पनि कायम हुन्छ । सिङ्गो भरतपुरलाई नै लटरम्म फलहरु फलिरहेको एउटा रमणीय बगैँचाको रुपमा विकास गर्न सकिन्छ । यही दौडानमा म लागिरहेको छु । 

देशभरका मानिसहरु भरतपुर आउँदा प्रत्येक घरमा मौसमअनुसारको लटरम्म फलेको फलहरु देखून् । जताततै हरियाली देखून्, कतै पनि फोहोर टुक्रो नभेटून् । त्यही किसिमको करेसा बारी, त्यही किसिमको कौसी खेती भेटून् । हामी यही अभिायानमा छौँ । सरसफाइ एवम् हरियाली प्रवद्र्धन कार्यक्रम यही उद्देश्यमा लम्किरहेको छ । 

सरसफाइ एवम् हरियाली प्रवद्र्धन कार्यक्रम कहाँकहाँ प्रारम्भ भएको छ ? कामहरु केके भएका छन् ?
चितवन निर्वाचन क्षेत्र २ को ‘ख’ अन्तर्गत रहेका सात वटा वडाको १४ टोलमा यो अभियान प्रारम्भ गरिएको छ । यसअन्तर्गत प्रत्येक घरमा हुने फोहरलाई सड्ने र नसड्ने फोहर छुट्टाई, सड्ने फोहोरबाट बायो ग्यास निकाली खाना पकाउन प्रयोग गरिएको छ भने नसड्ने फोहोर, प्लास्टिक, फलाम, सीसालगायतका अन्य वस्तुहरुलाई संकलन गरी टोल विकास संस्थाले टोलभित्रै व्यवस्थापन गरेको ठोस फोहर संकलन केन्द्रमा राख्ने व्यवस्था गरिएको छ । 

यसबाट टोलले उक्त वस्तुहरुलाई पुनः प्रयोग गर्न र विक्री गरेर टोलको आम्दानी बढाउन सक्छन् । सड्ने फोहोरबाट प्रति घर तीन÷चार जनाको लागि खाना पकाउन सकिनुका साथै यसबाट निस्किएको मलबाट बोटबिरुवामा लगाई तरकारी एवम् फलफूल उत्पादन गर्न सकिन्छ । 

यसरी फोहोर व्यवस्थापन गर्दा कसैको भर पर्नु पर्दैन भने फोहोरबाट मोहोर कमाउन सकिन्छ । पहिलो चरण प्रयोगको रुपमा भरतपुरका आठ वटा टोलको ९ स्थानमा बायोग्यास प्लान्ट जडान गरिएको छ । भरतपुर महानगर वडा नं ७ को दीपज्योति टोलमा ठोस फोहोर संकलन केन्द्र सुरुवात् पनि भइसकेको छ ।

यसबाहेक अरु केके भएका छन् ?
सहरलाई सफा राख्न घर, कारखाना, अस्पताल र अन्य विभिन्न क्षेत्रबाट निस्कने फोहर पानीलाई शुद्धीकरण गरेर मात्र खोला नालामा जान सकिने व्यवस्था गर्नुपर्छ । यसको लागि पानी शुद्धीकरण परियोजना आवश्यक छ । यसका लागि हामीले अहिले जलकुम्भी झारबाट पानी शुद्धीकरणको अभियान प्रारम्भ गरेका छौँ ।

यसै निर्वाचन क्षेत्रका पाँच वडाका ६ घरमा जलकुम्भी झारबाट शुद्धीकरण गरी निस्केको पानीलाई तरकारी या करेसाबारीमा पुनः प्रयोग गर्न सकिन्छ । यसबाट बढी भएको पानी खोलानाला पठाउन सकिन्छ । फोहोर पानी एक थोपा पनि खोलानालामा जान दिनु हुँदैन । यसले खोलानालालाई स्वच्छ बनाइ सुन्दरता कायम गर्न सकिन्छ । 

यो कार्यक्रमले भरतपुर फलफूलको बगैँचा, बसोबास योग्य सुन्दर सहर बन्न सक्छ ? 
अवश्य सक्छ । यसमा दुई मत नै छैन । सरसफाइ तथा हरियाली प्रवद्र्धनमा सबै लाग्न जरुरी छ । यसको लागि केही समय लाग्न सक्छ, तर सम्भव छ । यस कार्यक्रम चलाइएको क्षेत्रमा ६५ हजार फलफूलका बिरुवाहरु रोपिएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा सहकारी प्रशिक्षालय भरतपुरको कार्यालयमा फलफूलको बिरुवा रोपेर अघिल्लो आर्थिक वर्षको कार्यक्रमको समापन एवम् नयाँ आर्थिक वर्षको फलफूल बिरुवा रोपण कार्यक्रम सुरु भएको छ । 

यस कार्यक्रमको संयोजक वातावरण तथा सरसफाइ क्षेत्रमा लामो समय अनुभव संगाल्नुभएका केशवप्रसाद रेग्मी हुनुहुन्छ । उहाँ लागेरै अभियानमा खटिनुभएको छ । यसका साथै भरतपुर महानगर, टोल विकास संस्था, वे गु्रपलगायतका संस्थाहरुको अभियानमा ठूलो सहयोग छ । महानगरका अन्य वडाहरुले पनि यस कार्यक्रमको सिको गर्दै अघि बढेका छन् । 

यस अभियानअन्तर्गत भरतपुर महानगरका १४ टोलमा फलफूल रोपण, गोडमेल एवम् रुख व्यवस्थापनका लागि आवश्यक पर्ने औजार उपकरणहरु राख्न प्रत्येक टोलमा एउटा कस्टम हायरिङ सेन्टर स्थापना गर्न बजेट उपलव्ध गराइएको छ । यसबाट प्रत्येक टोलमा व्यक्तिलाई चाहिने औजार उपकरण त्यहाँबाट उपलव्ध हुन सक्नेछ भने फलफूल खेती प्रवद्र्धनका लागि टोल विकास संस्थाले विज्ञहरुको समितिबाट नियमित सहयोग लिन सक्नेछन् । 

एउटा टोललाई एकै प्रकृतिको फलफूलको बगैँचाबाट परिचित गराउनको लागि सडकको दायाँबायाँ लगाउने गरी १४ टोलमै फलफूलको बिरुवा वितरण गरिएको छ । यसबाट निश्चित समयमा टोलवासीको सहयोगबाट आफ्नो प्रकारको नमुनाको टोल बन्नेछ । यसरी एकपछि अर्को टोलहरु क्रमशः नमुना बन्दै जानेछन् । जसबाट भरतपुर फलफूलको बगैँचा, बसोबास योग्य सुन्दर सहर बन्न सक्छ । आजको यो अभियान भोलि साकार हुनेछ । 

प्रतिक्रिया दिनुहोस