युवा समाज नेपालको नारायणगढस्थित मुख्य कार्यालयमा तोडफोड र चोरी

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०७६, १७ : १८
युवा समाज नेपालको नारायणगढस्थित मुख्य कार्यालयमा तोडफोड र चोरी

चितवन । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल युवा समाज नेपालको नारायणगढस्थित मुख्य कार्यालयमा गए राति तोडफोड र चोरी भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ३ मा रहेको कार्यालयमा रातको समयमा तोडफोड र चोरी भएको हो ।

समाजका अध्यक्ष केशव रेग्मीका अनुसार अज्ञात समूहले भवनको च्यानल गेट र भित्री ढोका फोरेर कम्युटर र कागजात छर्नुका साथै तोडफोड गरेका छन् । त्यहाँ रहेको एउटा ल्यापटप चोरी भएको उहाँले जानकारी दिनुभयो । केही समयअघि बाल विकास कार्यक्रम अन्तर्गत बचत संकलन हुने गरेको थियो । बचत रकम भएको अनुमानमा चोरी गरिएको हुनसक्ने रेग्मीले बताउनभयो ।

वि.सं. २०५१ सालमा स्थापना भएको समाजले चितवन, गोर्खा र तनहुँमा खानेपानी एवं सरसफाइका २७ आयोजना सम्पन्न गरेको पूर्वअध्यक्ष लिलाधर पौडेलले बताउनुभयो । यससँगै बालबालिका, महिला र मानवअधिकारका क्षेत्रमा समाजले काम गर्दै आएको उहाँको भनाइ छ ।

समाजले घटनाका सम्बन्धमा प्रहरीमा जानकारी गराएको छ । समाजका पूर्वअध्यक्ष पौडेलले सामाजिक संस्थामा भएको चोरी र तोडफोड निन्धनीय भएको बताउनुभयो । दोशिमाथि कडा कारवाही गर्न माग समेत समाजले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले चोरी नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस