प्रतिपक्षीको विरोधपछि स्थगन भएको प्रतिनिधिसभाको बैठक पुन बस्न सकेन

मंगलबार, २४ असार २०७६, १५ : ४०
प्रतिपक्षीको विरोधपछि स्थगन भएको प्रतिनिधिसभाको बैठक पुन बस्न सकेन

काठमाडौँ । प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने विषयमा  सहमति नजुटेपछि बैठक बुधबार १ बजेसम्मका लागि स्थगन गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत आज १५ मिनेटपछि बस्ने गरी स्थगित बैठक विशेषकारणवश बस्न नसक्ने भएकाले अर्को मिति तय भएको जानकारी दिनुभयो । 

त्यसअघि संघीय संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ नेकपा, नेपाली काँग्रेसलगायत दलका प्रमुख सचेतकसँग सभामुख महराले छलफल गर्नुभएको थियो । छलफलमा कुनै सहमति नभएपछि बैठक स्थगन भएको हो । प्रमुख प्रतिपक्षी, राजपालगायतले सर्लाहीका बालक अनुप रायको पोखरीमा परेर डुबेको  घटना र सो घटनालाई लिएर न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले गोली चलाएको तथा कुमार पौडेलको मुठभेटमा निधनलगायत विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो घटनाका बारेमा सदनलाई जानकारी दिनुभएको थियो । गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै काँग्रेस र राजपाका सांसदले नाराबाजी गरेका कारण बैठक स्थगन भएको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस