काभ्रे जिल्ला अदालतबाट बाल यौनदुराचारी क्यानेडियन नागरिकलाई ९ वर्ष कैद

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०७६, १४ : ३६
काभ्रे जिल्ला अदालतबाट बाल यौनदुराचारी क्यानेडियन नागरिकलाई ९ वर्ष कैद

काठमाडौं । नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक पिटर जोहन डालग्लिसलाई काभ्रे जिल्ला अदालतले यौन दुराचारमा दोषी ठहर गर्दै ९ वर्ष कैद सजाय सुनाएको छ ।

अदालतले २९५ कोड नाम भएका बालकका हकमा ९ वर्ष कैद र २९४ कोड नाम भएका बालकको हकमा ७ वर्ष कैद सजाय सुनाएको हो ।

एउटै मुद्दाका दुई पीडितको हकमा भएको सजाय गाभिँदा पिटरले ९ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ । अदालतले जेठ २६ गते नै उनलाई बाल यौन दुराचारमा दोषी ठह¥याएको थियो ।

अदालतले पीडित दुवै बालकलाई जनही ५ हजार अमेरिकी डलर बराबर नेपाली रुपैयाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको हो ।

न्यायाधीश अर्जुन अधिकारीको इजालसले जेठ २७ गते यौन दुराचार कसुरमा दोषी ठहर गर्दै संहिताअनुसार सजाय फैसला असार २३ मा सुनाउने निर्णय गरेको थियो ।

विश्वका गरिब र युद्धग्रस्त देशका सडक तथा युद्ध प्रभावित बालबालिका संरक्षकका रूपमा चिनिएका डालग्लिस २०७५ चैत २४ मा काभ्रेबाट यौन दुराचार अभियोगमा पक्राउ परेका थिए । उनी हाल पुर्पक्षका लागि धुलिखेल कारगारमा छन् ।
 

प्रतिक्रिया दिनुहोस