धनौजीको खेलमैदानमा प्रथम मेयर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

शनिबार, १३ माघ २०७४, १३ : १६
धनौजीको खेलमैदानमा प्रथम मेयर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

चितवन । भरतपुर महानगरपालिका वडा नं.२२ पटिहानीको आयोजनामा माघ २७ देखि फागुन १ गतेसम्म आधारभुत विद्यालय धनौजीको खेलमैदानमा प्रथम मेयर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । 

प्रतियोगिताको पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्ने कार्यक्रम तय भएको मूल आयोजक समितिका संयोजक तथा वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको तयारी अहिले तीव्र पारिएको बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न विभिन्न १६ वटा उपसमिति गठन गरिएको अध्यक्ष महतोले जानकारी दिनुभयो ।

प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल, न्यू डायमण्ड एकेडेमी र भारतको एक टिम गरी ६ टिमको सहभागिता रहने प्रचार–प्रसार उपसमितिका संयोजक रामहरि सेढाईले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ, तृतीय हुने टिमले ५० हजार रुपैयाँ र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य चार विधामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

लिगकम नकआउटको आधारमा खेल खेलाइने उक्त प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस