नेपाली काँग्रेसद्वारा नेता रामचन्द्र पौडेलमाथि कारबाही

सफल खबर संवाददाता

शनिबार, २१ असार २०७६, १४ : ५८
नेपाली काँग्रेसद्वारा नेता रामचन्द्र पौडेलमाथि कारबाही

तनहुँ । नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँले पार्टीका केन्द्रीय सदस्य रामचन्द्र पौडेलमाथि कारबाही गरिएको जनाएको छ । नेता पौडेलसहित सात जनालाई संगठन कमजोर बनाउन भूमिका खेलेको आरोप लगाइएको छ ।
नेपाली काँग्रेस तनहुँका प्रवक्ता हरिशरण पण्डितद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेस तनहुँको तत्कालीन नेतृत्वको कमजोरीका कारण नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोर्नु परेकोले असक्षम नेतृत्वको कार्य समितिलाई विघटन गरी २०७५ साल माघ ८ गते सम्पन्न नेपाली काँग्रेस तनहुँको विशेष अधिवेशनबाट नयाँ जिल्ला कार्य समिति गठन भई काम गर्दै आइरहेको अवस्थामा पार्टीका निष्ठावान, कर्तव्यनिष्ठ, इमानदार कार्यकर्ताहरुको विरुद्धमा वक्तव्यबाजी गर्दै केन्द्रीय कार्यालय सानेपामा गई पार्टी सभापतिसमक्ष अनावश्यक भ्रम र अफवाह फैलाई पार्टी हित विपरीत गई संगठन कमजोर बनाउन अहम् भूमिका निर्वाह गरेका केन्द्रीय सदस्य रामचन्द्र पौडेल, शंकर भण्डारी, महासमिति सदस्यहरु ध्रुव वाग्ले, रघुनाथ पौडेल, बैकुण्ठनाथ न्यौपाने, जितप्रकाश आले र क्षेत्रीय प्रतिनिधि विश्व बास्तोलालाई पार्टीको विधान अनुसार आवश्यक कारबाही गर्ने जिल्ला अनुशासन समितिको सिफारिसका आधारमा जिल्ला कार्य समिति तनहुँका सभापति डिल्लीराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको छ ।’

प्रतिक्रिया दिनुहोस