गैंडाकोट नगरपालिका तोकिएको मितिमा बजेट ल्याउन असक्षम

बुधबार, ११ असार २०७६, १८ : ३२
गैंडाकोट नगरपालिका तोकिएको मितिमा बजेट ल्याउन असक्षम

चितवन । नवलपुुको गैंडाकोट नगरपालिकाले तोकिएको मिति गुज्रिदा पनि नगरपालिकाको बजेट ल्याउन सकेन । हरेक गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकाले असार १० गत्तेसम्ममा बजेट ल्याउनुपर्ने व्यवस्था भएपनि नगरसभा बस्न नसक्दा तोकिएको मितिमा बजेट ल्याउन नगरपालिका असक्षम भएको हो । "

संघीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयको सर्कुलर अनुसार हरेक स्थानीय तहले असार १० भित्र नगरसभा गरी बजेट ल्याउनुपर्ने हुन्छ । तर नगरपालिकाले भने विभिन्न कारण देखाउँदै नगरसभा बस्न नसकेको जनाएको छ । 

मेयर छत्रराज पौडेलले उपमेयर केही समय अघि विष्णु कुमारी कँडेल विरामी भएर उपचारका लागि भारत जाँदा नगरसभाका लागि आवश्यक पूर्व तयारी गर्न नसकिएको बताए । उनका अनुसार उपमेयर कंडेल संयोजकत्वको राजस्व परामर्स समितिको बैठक बस्न नसक्दा नगरसभा बस्न नसकेको हो । 

मेयर पौडेलले नगर कार्यपालिका बैठक भोली बस्ने र नगरसभाबारे टुंगो लाग्ने बताए । उनले भने ‘अरु समस्या, विवादका कारण रोकिएको होइन, विभिन्न समितिको बैठक बस्न नसक्दा नगरसभा प्रभावित भयो ।’ यद्यपी यस नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच यसअघिदेखि विभिन्न विषयमा हुँदैआएको विवादका कारण अहिले आएर नगरसभा समेत प्रभावित भएको भन्दै सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन । 

यसअघि विवादका कारण कार्यपालिका बस्न समेत सकस परेको थियो । त्यसपछि मेयरले एकैपल्ट नगरसभा गर्ने मनस्थितिमा पुगेका थिए तर कार्यपालिका बैठक बस्नुपर्ने उपमेयरको तिब्र मागका कारण कार्यपालिका बैठक बसेको थियो ।
 

प्रतिक्रिया दिनुहोस