अतिविपन्न परिवारलाई निःशुल्क मिटर बक्स

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, १७ : ४७
अतिविपन्न परिवारलाई निःशुल्क मिटर बक्स

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अतिविपन्न १ सय ६ घरधुरीलाई निःशुल्क मिटर बक्स वितरण गरेको छ । बुधबार केन्द्रको कार्यालयमा एक कार्यक्रम गरी क्षेत्रीय कार्यालय हेटौँडाका निर्देशक रामराज पाण्डेले उनीहरुलाई मिटर बक्स वितरण गरेका हुन् । 
मिटर बक्स जडान गर्ने क्रममा एमसीबी पनि निःशुल्क दिइने केन्द्रले जनाएको छ । नेपाल सरकारको उज्यालो नेपाल कार्यक्रम अन्तर्गत विनियोजन भएको ६० लाख बजेटबाट मिटर बक्स वितरण गरिएको निर्देशक पाण्डेले बताए । ३ सय ५० भन्दा बढी घरले फर्म भरे पनि पहिलो चरणमा १ सय ६ जनालाई वितरण गरिएको र अन्यलाई पनि क्रमशः वितरण गर्ने केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए । 
भरतपुर वितरण केन्द्र अन्तर्गतका भरतपुर, माडी, तनँहु लगायत विभिन्न स्थानका बोटे, दराई, चेपाङ, दलित समुदायका अतिविपन्न परिवारलाई मिटर बक्स वितरण गरिएको हो । सम्बन्धित वडाको सिफारिस लिएर फर्म भरेका, १ कठ्ठाभन्दा कम जमिन भएकालाई मिटर बक्स वितरण गरिएको केन्द्रले जनाएको छ । 
फर्म भरेर मिटर बक्स लिन वितरण केन्द्रमा पुगेका केही भने त्यसै फर्किए । उनिहरुले केन्द्रले फोन गरेर बोलाएर पनि मिटर नदिएको भन्दै आक्रोश पोखेका छन् । यसअघि टाँडी वितरण केन्द्रले पनि अतिविपन्न परिवारलाई निःशुल्क मिटर बक्स वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस