विश्वकप क्रिकेटको सट्टेबाजी गराउने व्यक्ति पक्राउ

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, १२ : ५०
विश्वकप क्रिकेटको सट्टेबाजी गराउने व्यक्ति पक्राउ

चितवन । विश्वकप क्रिकेटको सट्टेबाजी गराई रहेको अवस्थामा एक जनालाई प्र्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ८ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर ३ मा डेरा गरी बस्ने ३३ वर्षीय मुकेशकुमार साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा खटिएको बिशेष टोलीले विभिन्न ठाउँमा सट्टेबाजीमा संलग्न व्यक्ति तथा स्थानहरु समेतको खोजतलास गर्ने क्रममा मंगलबार राति सट्टेबाजी गराई रहेको अवस्थामा साहलाई उनकै कोठाबाट पक्राउ गरेको हो । साहको कोठाबाट सट्टेबाजी गर्ने तथा गराउने कार्यमा प्रयोग गरेको मोबाइल ६ थान, नगद तीन लाख पंैतालीस हजार छपन्न रुपैयाँ र विभिन्न बैंक तथा आइएमइका भौचरहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
साहले नेपाली तथा भारतीय नागरिकहरु समेतलाई आवद्ध गराई ठूलै रकमको सट्टेबाजी गराउँदै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । नेपाली तथा भारतीय नागरिकहरु समेत साहको सम्पर्कमा आई विभिन्न समयमा सट्टेबाजीको रकम आदानप्रदान गर्ने गरेको एवं साहले विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेका साहलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) को उपदफा ४ बमोजिम मुद्दामा अनुसन्धान र कारबाही गरिने प्रहरी कार्यालयले जनाएको छ । उक्त कसुरमा बरामद बिगो जफत गरी १ बर्षसम्म कैद र दश हजार रुपैयाँ जरिवानाको सजाय हुने कानूनी व्यवस्था छ ।  
 

प्रतिक्रिया दिनुहोस