अब दश वर्ष समृद्धिमा लाग्छु : दाहाल

सोमबार, २७ कार्तिक २०७४, ११ : ०३
अब दश वर्ष समृद्धिमा लाग्छु : दाहाल

 

तिलकराम रिमाल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू राजनीतिमा लागेपछि १० वर्ष बिचार र संगठन निर्माणमा लागेको, अर्काे १० वर्ष गणतन्त्र र शान्ति प्रक्रियामा बितेको भन्दै अबको दश वर्ष देशलाई समृद्धितर्फ लैजान लाग्ने बताएका छन् । भरतपुर महानगरपालिका वडा नं. १४ स्थित उनको निवासमा सोमबार राष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरुसँग विस्तृत कुराकानी गर्दै दाहालले अब सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताए । सिद्धान्तको पछि लागेर अब जनतालाई दुःख दिन नहुने उनको भनाई थियो ।

वामपन्थी एकतालाई मजबदु बनाएर राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर सिद्धान्त मिलाउँदै जानु पर्ने अध्यक्ष दाहालले बताए । उनले पार्टी एकीकरणमा कुनै शंका नगर्न आग्रह गर्दै भने “पार्टी मिल्ने भनेपछि मिल्ने कुरा हेर्ने हो, दुवैको मिल्ने कुरा माक्सवाद–लेनिनवाद र द्वन्द्वात्मक भौतिकवादलाई विश्व दृष्टिकोणमा मान्छौं ।, समाजवाद अबको हाम्रो उद्देश्य हो, रणनीति हाम्रो अब समाजवादतिर जाने हुन्छ ।”

उनले अगाडि थपे “शान्तिपूर्ण रुपमा समाजवाद नेपालमा सम्भव छ भन्ने कुरामा हामी सहमत छौं ।” उनले सिद्धान्त भन्दा पनि आर्थिक समृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिंदै भने “अहिले आर्थिक समृद्धिमा नै जोड दिनुपर्छ भन्ने कुरा मान्ने भएपछि अरु कुरा मिलाउनु पर्छ ।”

पार्टी एकीकरणको सन्दर्भमा माओवादलाई छलफल गर्न सकिने बताउँदै दाहालले भने “माओवादी महाधिवेशनसम्म छलफल गर्ने गरी राख्न सकिन्छ ।” प्रचण्डपथ आधिकारिक भईसकेको अवस्थामा पनि म आफैले ड्रप गरेको भन्दै उनले अनुकूल समयमा यसलाई छलफल गर्न सकिने बताए । उनले मिल्ने कुरालाई आधार बनाएर पार्टी एकता गर्दै जाने र नमिलेका कुरा छलफल गर्दै टुंग्याउँदै लैजान सकिने बताए । उनले भने “यो बढी राष्ट्रको हितमा छ ।” सिद्धान्तभन्दा राष्ट्रको हित महत्वपूर्ण हुने भन्दै दाहालले भने “सिद्धान्तको पछि लागेर राष्ट्र र जनतालाई दुःख दिने कि ? राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर सिद्धान्त मिलाउँदै लैजाने भन्ने मध्ये एउटा रोज्नु प¥यो ।” उनले अगाडि थपे “मान्छेको लागि सिद्धान्त हो, सिद्धान्तका लागि मान्छे होइन ।”

पछिल्लो समय रोल्पा र रुकुममा माओवादी केन्द्रका उम्मेदवारहरुमाथि भएका आक्रमणका सन्दर्भमा उनले यसमा विप्लव समूह र नेपाली कांग्रेसका स्थानीय तहका नेताको कहीन कही साठगाँठ देखिएको बताए । विप्लव समूहका ठूलो संख्यामा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेपछि विक्षिप्त भएर आक्रमणमा उत्रिएको भन्दै उनले यस्तो समूहसँग कांग्रेस मिल्नु दुर्भाग्य भएको बताए । हतियारसहित पक्राउ परेका विप्लव कार्यकर्ता छोड्न वहालवाला कांग्रेसका मन्त्रीले विज्ञप्ति जारी गरेको भन्दै उनले भने “तिमीहरु आतंक मच्चाओ. हामी चुनावको प्रचारमा जान्छौं भनेर विप्लव र कांग्रेसबीच तालमेल भएको तल्लो तहबाट रिपोर्ट आएको छ ।”

उनले अगाडि थपे “लोकतन्त्रवादी भन्ने कांग्रेसले कम्युनिष्टको तालमेललाई एकातिर अधिनायकवादी भन्ने आफूलाई चाहिं अपराधिक गतिविधि गर्नेहरुसँग साथ लिएर जान सुहाउँदैन ।” प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश प्रवाह गर्न आग्रह गर्दै उनले भने “यसलाई नियन्त्रण गर्नुहोस्, यसले कांग्रेसको पनि हित हुँदैन ।”

विप्लव समूहलाई उनको आग्रह थियो “कि त जनयुद्ध शुरु भयो भनेर घोषणा गरेर आउनुहोस्, त्यो राजनीतिक विषय हुन्छ ।”
निर्वाचनको संघारमा दुई पार्टी एकताको कुरा टुंगोमा पुगेकाले तत्काल संसदमा प्रमुख कार्यकारीको विषय लान नभ्याईएको दाहालको भनाई थियो । अध्यक्ष दाहालले यसका लागि दुई तिहाई बहुमत बनाएर संसदमा लैजानु पर्ने भएकाले निर्वाचनपछि यो विषय अगाडि बढ्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस