पूर्व एमाले किन बन्दैछ यति अनुदार ?

१० वर्षे माओवादी जनयुद्द र त्यही युद्दका क्रममा शहीद भएकाहरुलाई सम्मान गर्ने सवालमा पूर्व एमाले पङक्तिका नेताहरु नै अझै अनुदार बनिरहेका छन् ।

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०७६, ०७ : ४८
पूर्व एमाले किन बन्दैछ यति अनुदार ?

काठमाडौं । असार २ गते सोमबार । धुम्बराही स्थित नेकपा पार्टी केन्द्रीय कार्यालय । तत्कालिन माओवादीका केन्द्रीय सदस्य रितबहादुर खडकाको स्मृति दिवसमा आयोजित स्मृति सभा । आयोजक शहीद रितबहादुर स्मृति प्रतिष्ठानले
नेकपाका दुबै अध्यक्षलाई कार्यक्रममा निम्तो गरेको थियो ।

तर प्रधानमन्त्री ओलीले आउन अनिच्छा देखाएपछि अघिल्लै दिन असार १ मा केन्द्रीय कार्यालयबाट कार्यलय सचिव समेत रहेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको नाममा सञ्चारमाध्यममा एउटा निमन्त्रणा पत्र पुग्यो, – असार २ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यमा कमरेड रीतबहादुर खड्का ‘प्रताप’को १७ औं स्मृति दिवसको अवसरमा कार्यक्रम छ । निमन्त्रणा गरिन्छ ।’

तर, सोमबारको उक्त कार्यक्रममा पूर्व एमाले धारका नेताहरु करिब उपस्थिती नै भएनन् भन्दा पनि हुन्छ । सहिद रितबहादुर खडकाको गृहजिल्ला दोलखाका पशुपति चौलागाई, दोलखाकै सांसद पार्वत गुरुङ र केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठ बाहेक प्रायः एमाले धारका नेताहरु कोही पनि कार्यक्रममा देखिएनन ।

देखिएका थिए त, – केवल माओवादी आन्दोलनसँग जोडिएका नेता कार्यकर्ताहरु मात्र । यसले पनि देखाउँछ, तत्कालिन एमाले धारका नेता कार्यकर्ताले अझै पनि माओवादीले सञ्चालन गरेको १० वर्षे न्यायपूर्ण जनयुद्ध र त्यसका शहीद बेपत्ताको सम्मानमा अझै अनुदारवादी रुझान नै राख्छ । प्रताप स्मृति दिवसमा आयोजित कार्यक्रम मात्र होइन, अन्य केही कार्यक्रम र एमाले धारका नेताहरुको रवैयाले पनि उक्त कुराको पुष्टि गर्ने एक जना नेकपामा माओवादी धारका स्थायी समिति सदस्यले सफलखबरलाई बताए ।

उनका अनुसार केही घटना र प्रवृत्तिलाई दाजेर सुष्म अध्ययन गर्ने हो भने एमाले धारका नेता कार्यकर्ताले अझै पनि माओवादीको विरतापूर्ण इतिहासलाई स्वीकार गर्न नसकेको सजिल्यै बुझन सकिन्छ ।

ति घटनाहरुलाई यसरी हेरौं :
घटना १ : राजनीतिक प्रतिवेदन छाप्न ओलीले गरेको आनाकानी पार्टी एकताको राजनीतिक प्रतिवेदनमा प्रष्टैसँग लेखिएको छ, – जनयुद्ध, जनआन्दोलनको त्याग र बलिदानको इतिहास । शुरुमा सकभर माओवादी जनयुद्धलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली र ततकालिन एमाले नेताहरुले स्वीकार गर्न चाहेका थिएनन ।

राजनीतिक प्रतिवेदन निर्माणका लागि गठित वरिष्ठ नेता माधव नेपालको संयोजकत्वको समितिमा पनि यो विषयमा चर्काे बहस भयो । पछि जनयुद्ध शब्दलाई समेटेर प्रतिवेदन लेख्ने सहमति बन्यो । सोही अनुसार सचिवालय र स्थायी समितिसम्मले पारित गरेर राजनीतिक प्रतिवेदन दुई अध्यक्षले अन्तिम रुप दिएर छाप्न पठाउने निर्णय पनि भयो ।

गत वर्षकै जेठ अन्तिमसम्म प्रतिवेदन छापिसक्ने गरी सचिवालयले निर्णय पनि गरेको छ । तर प्रतिवेदन १३ महिना बितिसक्दा समेत अहिलेसम्म छापिन सकेको छैन । प्रधानमन्त्री ओलीले त्यही प्रतिवेदनमा उल्लेखित जनयुद्धको विरतापूर्ण इतिहास समेटिएकै कारण प्रतिवेदन छाप्न आनाकानी गरिरहेका हुन् ।

राजनीतिक प्रतिवेदनमा जनयुद्ध शब्द नसमेटिएको भए उहिल्यै प्रतिवेदन छापिएर आईसक्थ्यो, तर त्यो शब्द भएकै कारण प्रधानमन्त्री ओलीले प्रतिवेदन छाप्न आलटाल गरिरहेका छन्,’ नेकपा स्थायी समितिका ति सदस्यले भने

घटना २ : जनयुद्ध दिवस
२०७५ फागुन १ को जनुद्ध दिवस पार्टी केन्द्रीय कार्यालयकै तर्फबाट दुबै अध्यक्षको उपस्थितीमा जनयुद्ध तथा जनआन्दोलनका शहीदको सम्झना कार्यक्रमका रुपमा पार्टी कार्यालय धुम्बराहीमा मनाउने समझदारी बन्यो । त्यही अनुसार अध्यक्षद्धय ओली र प्रचण्ड दुबैले कार्यक्रमलाई सम्बोधन गर्ने भन्ने निधो पनि भयो । तर १ फागुनका दिन प्रधानमन्त्री ओली अचानक कार्यक्रममै आईदिएनन ।

ओली मात्रै होइनन्, एमालेका वरिष्ठ नेताहरुनै समेत कार्यक्रममा आईदिएनन । महासचिव विष्णु पौडेल कार्यक्रममा आए, तर उनी पनि हसिलो अनुहारमा नभई बाध्यात्मक अवस्था भएर मात्र आएको जसरी प्रस्तुत भईदिए । वरिष्ठ नेता माधव नेपालले त अझ दुई अध्यक्षले कसरी जनयुद्ध दिवस मनाउने निर्णय गरेर देशभर आन्तकिर सर्कुलर गरे ? भनेर कडा टिप्पणी नै गरे । यसले पनि देखाउँछ ततकालिन एमाले धारका नेताहरु जनयुद्धलाई भित्री हद्धयबाट स्वीकार गर्न सकिरहेका छैनन ।

घटना ३ : पोष्टबहादुर बोगठी स्मृति दिवस
तत्कालिन नेकपामा महासचिव समेत रहेका इमान्दार नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसमा मात्र आयोजित कार्यक्रममा ओली लगायत एमाले धारका नेताहरु कार्यक्रममा सहभागी हुन पुगे । अन्य शहीद माओवादी नेताहरुको कार्यक्रम देखि जनयुद्ध दिवसमा सहभागी नहुने अनि बोगटीको स्मृति कार्यक्रममा भने एमाले धारका नेताहरुको उपस्थिती किन ?

एक जना एमाले धारका ओली निकट स्थायी समिति सदस्यले सफल खबरसँग भने , –‘बोगटीका विषयमा अलिक फरक धारणा भएकोले नेताहरुले सहभागीता जनाउनु भएको हो ।’ उनका अनुसार बोगटी १० वर्षे युद्धको पीरियडमा निधन भएको होइन । माओवादी शान्तिपूर्ण राजनीतिमा आईसकेपछि बोगटीको हृदयघात भएर निधन भएकोले जनयुद्धका बेलाका शहीद बोगटीको निधनको अवस्थालाई फरक दृष्टिकोणबाट हेर्ने भएर सहभागिता जनाइएको हो ।’

अध्यक्ष प्रचण्डले तत्कालिन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा पार्टी कार्यलय देखि मदन नगर बल्खुसम्म पुगेर श्रद्धान्जली दिनु, अझ पार्टी एकता समेत मदन आश्रित स्मृति दिवसकै दिन पारेर गर्न प्रस्ताव राख्नुले प्रचण्ड उदार नेताका रुपमा नेता कार्यकर्तामा चिनिएका छन् ।
माओवादी धारका नेताहरु अलिक लचक भएर ब्यवहारिक बन्न खोजेको देखाएका छन् । तर एमाले धारका नेताहरुमा त्यसको अझै खडेरी नै छ ।

नेतृत्व तहमै अझै आग्रह –पूर्वाग्रह र छोइछितो भएपछि तल्लो तहमा पनि उस्तै अवस्था देखा परेको छ । नेताहरुले एक अर्काे धारका बीचमा मन माझामाझ र साटासाट गर्न निर्देशन दिएपनि पार्टी एकताको यो एक वर्षसम्म अझै काग कागकै बथानमा , बकुल्ला बकुल्लाकै बथानमा भने झै एमाले एमाले धारभित्रै र माओवादी माओवादी धारभित्रैका नेता कार्यकर्तासँग माध हिमचिम र घुलमिल हुन सकिरहेका छैनन् । दुबैपक्षको मन मिल्ने अवस्था भने अझै देखा परिनसकेको अवस्था छ ।
 

प्रतिक्रिया दिनुहोस