निर्वाचनमा सुरक्षा चुनौती: पहाडमा विप्लव, तराईमा जातीय राजनीति

सोमबार, २७ कार्तिक २०७४, ०७ : ५४
निर्वाचनमा सुरक्षा चुनौती: पहाडमा विप्लव, तराईमा जातीय राजनीति

उम्मेदवारमाथि आक्रमणका घटना बढेपछि आइतबार दिउँसो निर्वाचन आयोग र गृह मन्त्रालयमा सुरक्षा रणनीतिबारे छुट्टाछुट्टै छलफल भयो । छलफलपछि आइजिपीलगायतका अधिकारी गृहबाट निस्किएका मात्र के थिए, रोल्पामा माओवादी उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी गोली हानिएको रिपोर्ट आयो ।

निर्वाचन नजिकिँदै गर्दा चुनावविरोधी समूहको हिंसात्मक घटना बढिरहेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट आक्रमण भइरहेको सुरक्षाकर्मीको सूचना छ । आजको नयाँ पत्रिकामा खबर छ ।

उनीहरूले माओवादीका नेताहरूलाई लक्षित गरी आक्रमण गरिरहेका छन् । चुनावविरोधी समूह वा दल आक्रामक बन्दा सुरक्षाकर्मीहरू भने रक्षात्मक बन्न पुगेका छन् ।

कठोर बन्न निर्देशन
विप्लव नेतृत्वको पार्टीविरुद्ध कठोर बन्न सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । उम्मेदवारमाथि आक्रमण गर्ने तथा आतंकित गराउनेलाई त्यहीअनुसार जवाफी कारबाही गर्न गृहले प्रहरीलाई निर्देशन दिएको छ ।

पहाडमा सुरक्षा बढाउने तयारी
तराईका जिल्लामा धेरै ‘सुरक्षा थ्रेट’ हुने आकलन गरिएको थियो । तर, नेकपाको गतिविधिका कारण गृह मन्त्रालयले पहाडी जिल्लामा सुरक्षाकर्मी बढाउने तयारी गरेको छ । रोल्पा, रुकुम, गोरखालगायत जिल्लामा सुरक्षाकर्मी बढाउन लागिएको गृह स्रोतले जनाएको छ ।

आठै पृतनामा हेलिकोप्टर स्ट्यान्डबाई
सबै पृतनामा सेनाले हेलिकोप्टर स्ट्यान्डबाई राखेको सैनिक प्रवक्ता सहायकरथी दाहालले बताए । निर्वाचनका वेला कतै आकस्मिक रूपमा थप सुरक्षाकर्मी चाहिएमा हेलिकोप्टरमार्फत पठाउने केन्द्रीय सुरक्षा योजना छ ।

चुनौती
– पहाडी जिल्लाको भौगोलिक विकटता, विप्लव नेतृत्वको नेकपा र तराईमा जातीय राजनीतिलाई सुरक्षा अधिकारीले आसन्न निर्वाचनको प्रमुख चुनौती ठानेका छन् । सोहीअनुसार सुरक्षा योजनालाई अघि बढाइएको छ । गृहले चार प्रदेशमा सुरक्षा गोष्ठी गरिरहेको छ, थप तीन प्रदेशमा गोष्ठीको तयारी छ । गोष्ठीमा सहभागीहरूले अन्तरपार्टी संघर्ष नै निर्वाचनको प्रमुख सुरक्षा चुनौती भएको बताएका छन् । पहाडका विकट क्षेत्रमा रहेका मतदानस्थलमा थोरै मात्र प्रहरी हुने भएकाले झडप भए पनि समयमै थप प्रहरी पुग्न नसक्दा क्षति हुन सक्ने आकलन गरिएको छ ।

– त्यस्तै, तराईमा खुला सिमानाका साथै जातीय राजनीतिलाई सुरक्षा चुनौतीका रूपमा लिइएको छ । आफ्नो जातको उम्मेदवारलाई मात्र भोट हाल्ने चलन तराईका कतिपय स्थानमा छन् । जसले गर्दा निर्वाचनमा दुई समूहबीच झडप हुन सक्ने विश्लेषण स्थानीय सुरक्षा समितिहरूको छ । आफूहरूले सबै किसिमका चुनौतीलाई विश्लेषण गरेर सुरक्षा तयारी गरिरहेको प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रमुख एआइजी विजयलाल कायस्थले बताए । सीमा सुरक्षालाई बलियो बनाउन भारतीय पक्षसँग छलफल सुरु भइसकेको उनले बताए । साना हतियार नियन्त्रणका लागि पनि प्रहरीले योजना अघि बढाएको छ । तराईमा पनि स्थानीय निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले विस्फोटलगायतका गतिविधि गरेका थिए ।

– तराईमा विखण्डनको नारा लिएर अघि बढेको सिके राउतको समूह भने हालसम्म कुनै चुनावविरोधी गतिविधिमा देखिएको छैन । तर, उनीहरूलाई पनि निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

९० प्रतिशत प्रहरी सुरक्षामा खटिने
निर्वाचनमा प्रहरीको कुल जनशक्तिमध्ये ९० प्रतिशत सुरक्षामा खटिने प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए । नेपाल प्रहरीको दरबन्दी ७२ हजार हो । जसमध्ये करिब पाँच हजार रिक्त छ । ६७ हजार प्रहरीमध्ये सात हजार कार्यालय सुरक्षालगायत प्रशासनिक काममा खटिनेछन् । स्थानीय निर्वाचनमा खटिएबराबरको जनशक्ति नै सेनाबाट परिचालित हुँँदै छन् । सेनाबाट ६४ हजार २० जना निर्वाचनमा खटिने सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले बताए ।

सशस्त्र प्रहरी पहिलो चरणको निर्वाचनमा ११ हजार नौ सय तथा दोस्रो चरणमा २७ हजार सात सय खटिँदै छन् । यसमा थोरै संख्या थपघट हुन सक्ने प्रवक्ता डिआइजी बाबुराम पाण्डेले बताए । राष्ट्रिय अनुसन्धानबाट करिब एक हजार पाँच सय सूचना संकलनमा खटिनेछन् । त्यस्तै, निर्वाचनका लागि भर्ना गरिएका ९८ हजार म्यादी प्रहरी कार्यस्थलमा खटिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस