सुरक्षा चुनौती थपिएको गृहमन्त्रालयको निष्कर्ष, विशेष निगरानी बढाउन निर्देशन

सोमबार, २७ कार्तिक २०७४, ०७ : ०९
सुरक्षा चुनौती थपिएको गृहमन्त्रालयको निष्कर्ष, विशेष निगरानी बढाउन निर्देशन

पछिल्लो समय उम्मेद्वारहरुमाथि आक्रमण बढेपछि सरकारले सुरक्षा सतर्कता बढाउने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेद्वारमाथि भएको आक्रमणबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालिएको छ ।

गृहमन्त्रालयले मातहतका सुरक्षा निकायहरुलाई थप कडाईं गर्न निर्देशन दिएको छ । सुरक्षा चुनौती बढेको निष्कर्षमा पुगेको गृहले विशेष निगरानी बढाउने भएको हो । संवेदनशील र अतिसंवेदनशील क्षेत्रको पहिचान गरि त्यसै अनुरुप सुरक्षाकर्मी परिचालन गर्ने तयारीमा गृह रहेको छ । मन्त्रालयले अतिसंवेदनशील क्षेत्रमा विशेष सुरक्षा योजना लागु गर्ने तयारी समेत गरेको छ ।

उम्मेद्वार तथा राजनीतिक दलका नेताहरुले थप सुरक्षितरुपमा प्रचार प्रसार गर्ने वातावरण तयार पार्न कुनै कसर बाँकी नराख्न मातहतका सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ । सरकारले निर्वाचनकै लागि भनेर २ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । निर्वाचनका लागि भर्ना गरिएका ९८ हजार २ सय ६८ म्यादी खटिएका छन् । यस्तै सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका टोली समेत खटिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस