'प्रधानमन्त्री ओलीले सहमति अनुसार भोलि छाड्नुहुन्न भन्ने म कल्पना गर्न चाहन्नँ'

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, १९ : ११
'प्रधानमन्त्री ओलीले सहमति अनुसार भोलि छाड्नुहुन्न भन्ने म कल्पना गर्न चाहन्नँ'

फाईल फोटो

– प्रचण्ड, पूर्व प्रधनमन्त्री तथा अध्यक्ष, नेकपा

पार्टी क्एता अगाडी तपाई र ओलीवीचको सहमति के हो ?
पार्टी एकता गर्दा पक्कै पनि हाम्रोवीचमा समझदारी भएको छ । हामीले सहमतिबाट नै निर्णय गरेर जानुपर्छ । पार्टीमा र सरकारको नेतृत्व पनि हामीले आलोपालो गर्ने नै भन्ने सहमति छ । त्यो लिखितै छ । त्यो बाहिरै आइसक्या छ । त्यो किताबमा छापिएरै आइसक्या छ । त्यसकारण यो के हो भनेर धेरै प्रश्न गरिराख्न आवश्यक म ठान्दिनँ । आलोपालोमा जाने सहमति भएकै छ ।

केपीजी र मेरो कुरा हुँदा हामी सहमतिअनुसार नै जाने भन्ने कुरामा नै हामी प्रतिवद्ध छौं । त्यसकारण अहिले म आशंका गर्न पनि चाहन्न । यो विषय फेरि के हो भने उहाँ र मवीच सहमति भयो, पार्टी्भित्र सहमति भयो भने पाँचै वर्ष केपी ओली हुन पनि हुन्छ । मलाई चैं प्रधानमन्त्री लिन हतारो विल्कुलै छैन ।

देशमा सुशासन र विकासले गति लियो र जनतामा सन्तुष्टि आयो भने मैले पार्टीलाई मुख्यरुपमा हेर्ने र अर्को चाहिँ अध्यक्षले प्रधानमन्त्री मुख्यरुपमा हेर्ने गरी काम मिलायो भने मलाई सहज हुन्छ । मलाई प्रधानमन्त्री नभई नहुने, चाहिने भनेर मैले सोचेको छैन । मानिसहरुले त्यसै हो कि भन्छन्, कतिपय अलिकति संकीर्ण, अलिकति पूर्वाग्रही आँखाले हेर्नेहरुले चाहिँ मैले थोरै जनताका गुनासो, जनताका कुराहरु बोलें भने प्रधानमन्त्री हुन बोल्या हो कि भन्ने पनि मान्छे छन् । तर, मेरो त्यो कुरा होइन । राम्रोसँग पार्टी रन भयो, राम्रोसँग सरकार रन भयो भने त्यो आलोपालो भनिएको भए पनि पाँचै वर्ष केपीजी बस्दा पनि मलाई आपत्ति हुँदैन । म समर्थन गरिराख्छु ।

म एउटा कुरालाई फेरि दोहो¥याउँछु– सुशासन र विकासले गति लियो, सरकार दिन प्रतिदिन अझ बढी लोकप्रिय कामहरु गर्दै अगाडि बढ्यो भने हामीले सहमति गरेकोमा प्रधानमन्त्री फेरिराख्नुपर्छ भन्नेमा म छैन । तर, म पनि एउटा नेताको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित त हुनुपर्छ । त्यसो भयो भने सरकारको नेतृत्व एउटा अध्यक्षले, पार्टीको नेतृत्व एउटा अध्यक्षले ग¥यो भने सन्तुलन मिल्छ र म फेरि प्रधानमन्त्री भइराख्न पनि पर्दैन । मैले खेल्ने पार्टी अध्यक्षका रुपमा राम्रोसँग भूमिका खेल्छु ।

अहिले यो छलफलको विषय छ । हाम्रो पार्टी पंक्तिमा पनि, लिडरसिप लेबलमा पनि छलफल चलिराखेकै छ ।

तर, एउटा कुरा के हो भने फेरि विभिन्न परिस्थितिले काम पनि गर्छ । त्यो सबै परिस्थितिमा हिजो हामीले एकता गर्दा जे सहमति गरेका थियौं, त्यो सहमतिप्रति हामी सबैले इमान्दार त हुनैपर्छ । म अहिले कसैप्रति आशंका गर्दिनँ । म के विश्वास गर्छु भने कामरेड केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न उहाँले नै अप्ठ्यारो मान्नुहुन्न । मैले लिन नि अप्ठ्यारो मान्दिनँ ।

राम्रो काम भयो र सहमति पार्टी्भित्र भयो भने उहाँलाई नै पाँचै वर्ष चलाउन दिन मैले केही नै अप्ठ्यारो मान्दिनँ । उहाँले पनि पार्टी सञ्चालन तपाईले राम्रोसँग गर्नुहोस् भनेर दिन उहाँले अप्ठ्यारो मान्न हुँदैन ।

कुरो चुरोमा आइपुग्यो । तपाईं र ओलीको बीचमा साढे दुई वर्ष ओलीले नेतृत्व गर्ने। त्यसपछि साढे दुई वर्ष तपाईं प्रधानमन्त्री बन्ने सहमति भएको थियो। उहाँ प्रधानमन्त्री भैसक्नुभएको छ। १५ महिना भैसक्यो। तपाईं अब साढे दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएर पार्टी एकता भयो। यदि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिखेर प्रधानमन्त्री पद छाड्नु भएन भने तपाईंले के गर्नुहुन्छ ?
जे हुन्छ सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ। पार्टीले डिसिजन गर्ने कुरा हो। त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ। मैले प्रधानमन्त्रीजीलाई दुःख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु । तपाईंहरूले देखिराख्नुभएकै छ। मैले सरकारको पक्षमा प्रधानमन्त्रीको पक्षमा जनताको बीचमा पब्लिक कार्यक्रममा पनि, सरकारले गरेका राम्रा कार्यक्रममा पनि के–के हुन् भनेर भनिराखेको छु । त्यसैले म अहिले तपाईंको यो प्रश्नमा जान चाहन्नँ। त्यसो गर्नु अहिले वास्तवमा उचित हुन्न । हामी सहज ढंगले कुराकानी गरिराखेका छौं। एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं । त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नुहुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ । यो विषय जे हामीले समझदारी गरेका छौं। त्यो समझदारी अनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो। यसरी नै बुझ्नुहोला। योभन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ।

दोश्रो सवाल जनताको सुशासन र विकास तथा समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो। जनताले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भएको बेला सुशासनको अनुभूति गर्‍यो कि गरेन? यो एउटा सवाल हो भने अब जनताले देशमा विकास हुने भयो । भ्रष्टाचारमुक्त समाजतिर पनि यो अगाडि बढ्यो। विकास र समृद्धितिर पनि गयो। सरकार र पार्टी नेताको अर्को कुनै स्वार्थ्य छैन भन्ने जनताले बुझ्यो भने चिज एक ढंगले जान्छ।

जनताले होइन भ्रष्टाचार त बढेको छ। चिज झन् उस्तै छ। विकास पनि भनेको जस्तो अगाडि आइराखेको छैन भन्ने ठान्यो भने परिस्थिति अर्को ढंगले जान्छ। कुरा बुझ्नुभयो त। पार्टीभित्र छलफलले गर्दा हिजो जे सहमति भएको छ त्यो स्पिरिटमा अगाडि बढ्यौं भने चिज एक ढंगले जान्छ। त्यो सहमतिभन्दा विपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जान्छ।

म पार्टीको अध्यक्षको नाताले पार्टी एकता गर्न मुख्य भूमिका खेल्ने प्रस्तावकको नाताले यसलाई बचाउने, सुदृढ गर्ने, एकताको आधारमा टेक्ने, जे सहमति गरिएको हो त्यो इमान्दारिता साथ कार्यान्वयन गर्ने। के का लागि भन्दा देश र जनताका लागि । जनताको विकासको आंकाक्षाका लागि। तर त्योबाट दायाँबायाँ गर्‍यो भने त्यो टिक्नेवाला छैन भन्नेछ मेरो। मैले गर्न खोजें भने म पनि टिक्दिनँ। अर्कोले गर्न खोज्यो भने अर्को पनि टिक्दैन ।

हामी कसैले धेरै घमण्ड गरियो भने त्यो घमण्डको अन्तिम परिणति राम्रो हुँदैन। यो कुरा मलाई लाग्छ, हामी सबैले महसुस गरेका छौं ।

 

ओली र तपाईंबीचमा असझदारी बढ्यो । दूरी बढ्यो भन्नेहरू पनि छन् नि बाहिर ।
त्यस्तो होइन । हामीले सहमति कार्यान्वयनमा आवश्यक गम्भीरता र निर्णय लिँदा सम्पूर्ण रूपमा इमान्दार र पारदर्शी रूपमा छलफल र छलफलबाट निर्णय लिने प्रक्रियामा हामी गम्भीर हुनैपर्छ। त्यहाँ गम्भीर भएन भने स्थिति अप्ठ्यारोतिर जाने खतरा हुन्छ। तर हामी अहिले जसरी छलफल गरिराखेका छौं। त्यहाँ केपीजीसँग मेरो खुलेर छलफल हुन्छ।

तीन चार दिन अगाडि बस्यौं। खुलेर मनमा लागेको कुरा भनियो। दुई जना मात्र बसेर। यसले के देखाउँछ भने एकता गर्दाको स्पिरिट, जनताले दिएको भरोसा विश्वास। हामीले एकले अर्कालाई दिएको भरोसा विश्वास तोड्ने होइन बलियो बनाउनेतर्फ जाने लाइनमा छलफल भएको छ।

 

एकता महाधिवेशनपछि तपाईंलाई अध्यक्ष बनाउनुभयो भने उहाँ पाँच वर्षको प्रधानमन्त्री हो ?
अब त्यो सही होइन। त्यो पूरा होइन। सही त हो, सत्यको अंश हो, पूरै होइन। केपीजीले एकता महाधिवेशनमा मलाई अध्यक्ष बनाउँदैमा उहाँ पाँच वर्ष प्रधानमन्त्री हुने भन्ने हुँदैन। मुख्य कुरा जनताले चाहेजस्तो सुशासन र विकासलाइ पनि गति दिइयो र एकता अधिवेशनमा सबैकुरा सहमतिमा गयो भने केपीजी पाँचै वर्ष प्रधानमन्त्री हुन सक्नुहुन्छ। त्यही हो।

 

ऋषि धमलाः  जनताको चाहनाअनुसार काम भएन भने नेतृत्व परिवर्तन हुन सक्छ?
भएन भने त त्यो हुनसक्छ। त्यो त सहमतिअनुसार परिवर्तन गर्नु पर्ने स्थिति आउन सक्छ।

 

माधवकुमार नेपाल बामदेव गौतम झलनाथ खनाल, नारायणकाजी श्रेष्ठको बीचमा एउटा सहमति भैसकेको छ रे । संसदीय दलको नेता परिवर्तन गर्ने केपी शर्मा ओलीलाई हटाएर तपाईं प्रधानमन्त्री बन्ने ? त्यो निर्णय भएको हो?
 त्यो बिल्कुल गलत कुरा हो। सरकारलाई कसरी सफल पार्ने। पार्टी एकता कसरी सफल पार्ने भन्ने विषमा विभिन्न नेतासँग छलफल भएकै छ। यो कुरा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम मेरोबीचमा मात्र होइन। मेरो र प्रधानमन्त्रीको बीचमा पनि छलफल सबैभन्दा धेरै हुन्छ। अहिले पनि उत्तिकै छलफल भैराखेको छ। मेरो र ईश्वर पोरखेलको बीचमा छलफल भैराखेको छ। मेरो र महासचिव विष्णु पौडेलको बीचमा त झन् डे टु डे कुराकानी भैराख्न पर्छ। भैराखेको छ। अहिले कुनै पनि छलफल सरकार हटाउने र अर्को सरकार बनाउने विषयमा केन्द्रीत भएर भएको छैन। सरकारलाई के गरी प्रभावकारी बनाउने पार्टी एकतालाई के गरी छिटोभन्दा छिटो राम्रो तरिकाले टुङ्ग्याउने। आजसम्म भएको छलफल यहाँसम्म सीमित छ। बाँकी सबै हल्ला हुन्।

 

(पाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासागको कुराकानीको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस