राजपा र फोरमलाई एमाले-माओवादीको यस्तो प्रस्ताव

मंगलबार, ०९ माघ २०७४, १३ : २६
राजपा र फोरमलाई एमाले-माओवादीको यस्तो प्रस्ताव

काठमाडौं । एमाले र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्न औपचारिक प्रस्ताव गरेका छन् ।

बामगठबन्धनमा आवद्ध दुई दलले मंगलबार विहान राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्न राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग औपचारिक प्रस्ताव गरेको हो । प्रदेश नम्बर २ मा स्पष्ट बहुमत पाएको २ दलसँग राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा बाम गठबन्धनका तर्फबाट औपचारिक प्रस्ताव गरिएको एमाले नेता सुवाष नेम्वाङले जानकारी दिए ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपाल पनि एमाले नेतृत्वको बामगठबन्धनसँग सहकार्य गरेर जान सकारात्मक देखिएको बताइएको छ ।

छलफलमा एमाले र माओवादी केन्द्रका नेताहरुले केन्द्रिय सरकार निर्माणमा पनि सहकार्य गरेर जान सकिने प्रस्ताव पनि अघि सारेका थिए । राष्ट्रिय जनता पार्टी, नेपाल एमालेसँग सहकार्य गरेर जान इच्छुक भएपनि सहमति भैनसकेको नेता राजेन्द्र श्रेष्ठले बताए ।

एमाले र माओवादी केन्द्रले यसअघि नै १३ सिटमा अन्य दलसँग सहकार्य गर्नेगरी राष्ट्रिय सभा निर्वाचनमा जाने निर्णय गरेका थिए । सोही निर्णय अनुसार राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग पनि चुनावी तालमेलको विषयमा औपचारिक छलफल भएको हो ।

मंगलबारको बैठकमा एमालेबाट नेता नेम्वाङ र अग्नी खरेल, माओवादी केन्द्रबाट वर्षमान पुन र मातृका यादव सहभागी थिए भने राजपाका सर्वेन्द्रनाथ शुक्ला, रामनरेश यादव, वृशेषचन्द्र लाल तथा संघीय समाजवादी फोरम, नेपालबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार बुधबार मनोनयन गर्ने कार्यसूचि छ ।

प्रतिक्रिया दिनुहोस