चुनावी सभा

प्रचण्डलाई किन जिताउने ? मंगलपुरमा कसले के भने ?

आइतबार, २६ कार्तिक २०७४, १७ : २५
प्रचण्डलाई किन जिताउने ? मंगलपुरमा कसले के भने ?

चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई किन भोट दिने ? किन जिताउने ? यसबारेमा के भन्छन् वामपन्थी नेताहरु ? यस्तो जिज्ञासा सबैको मनमा उठ्न सक्छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मंगलपुरमा आइतबार सम्पन्न संयुक्त वाम गठबन्धन चुनावी सभामा वक्ताहरुले राखेका विचार यहाँ प्रस्तुत छ ।


प्रेम रिमाल (वामपन्थी बुद्धिजीवी)
ऐतिहासिक महत्वपूर्ण दस्तावेज शान्ति सम्झौतामा हस्ताक्षर गरेका गिरिजाप्रसाद कोइरालालाई साँचो श्रद्धाञ्जलि दिने हो भने नेपाली काँग्रेसका साथीहरुले अर्का हस्ताक्षरकर्ता पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गर्नुहोस् । पुष्पकमल दाहाल वाम गठबन्धनको मात्र होइन, नेपाली काँग्रेसको पनि साझा उम्मेदवार हुनुहुन्छ । प्रचण्ड यो देशको टाउको हुनुहुन्छ, बिक्रम पाण्डे घुँडा । घुँडा खुस्कियो भने फेर्न पनि सकिन्छ, तर टाउको फेर्न सम्भव छैन । तपाइँहरुको भोट हेलमेट हो । प्रचण्डलाई भोट दिएर देशको टाउको जोगाउनु होस् ।


कृष्ण भुर्तेल (उम्मेदवार, प्रदेश सभा सदस्य, क्षेत्र नम्बर तीन क)

चितवनको विकासको निम्ति चितवनवासीलाई अवसर आएको छ । चितवनबाट निर्वाचित भएर कमरेड प्रचण्डले विकासका योजना केन्द्रमा पेश गर्नुहुनेछ । प्रदेशबाट मैले सघाउनेछु । स्थानीय तहमा पनि वामपन्थी गठबन्धनकै बहुमत रहेकोले विकासका काम गर्न वामपन्थी नै चाहिन्छ । देशको राष्ट्रिय व्यक्तित्व पुष्पकमल दाहाल प्रचण्डलाई अत्याधिक बहुमतले विजयी गराऔँ ।


देवी ज्ञवाली (सल्लाहकार सदस्य, नेकपा एमाले)

इख नभएको मानिस र विष नभएको सर्पको काम छैन भनेर मलाई सामाजिक सञ्जालमा खिसीट्युरी गरियो । एक युगमा एक दिन एकचोटी आउँछ । देशमा पहिलोपटक कम्युनिष्टहरुको बहुमतको सरकार बन्ने अवसर आउँदैछ । कम्युनिष्ट पार्टीको बहुमतको सरकारले देश र जनताको पक्षमा काम गर्छ भन्ने लागेर नै म प्रचण्ड जिताउन लागिपरेको हुँ । स्कुल पढ्ने बेलादेखि झोला बोकेर म कम्युनिष्ट बनेको हुँ । सच्चा कम्युनिष्टले आफ्नोबारे होइन, देश र जनताको बारेमा सोच्छ । मैले पनि त्यसरी नै सोचेको छु । नेपाली काँग्रेसका साथीहरुले रुख काटेर हलो बनाउनु भयो । अब हलो काटेर मुंग्रो हुनेछ ।


बद्री तिमिल्सिना (पूर्वजिल्ला अध्यक्ष, राप्रपा प्रजातान्त्रिक)
मैले ३८ वर्षको राजनीति आज नेकपा माओवादी केन्द्रमा किन बिसाएँ ? सुन्नुहोस् । एक सय ६५ सिटको प्रतिनिधि सभामा जम्मा चार सिटमा उम्मेदवार उठाएको छ राप्रपा प्रजातान्त्रिकले । चार सिटमा जितेर के गर्छ राप्रपा प्रजातान्त्रिकले ? त्यो पार्टी सकियो अब । जिल्ला कार्यालयमा ताला लागेको छ । चाबी मेरै खल्तीमा छ । कोही माग्न आउँदैन । जनाधार नभएको पार्टीले केही गर्नेवाला छैन । यो देशलाई पुष्पकमल दाहाल कमरेड प्रचण्डको आवश्यकता छ । प्रचण्डजीको एक फोनमा चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भयो । त्यतिबेला काठमाडौँ डेलिगेसन जानेमध्ये एक जना मै हुँ । हामीले साँच्चै विकास चाहेका हौँ भने हिजोका राप्रपाका साथीहरु र नेपाली काँग्रेसका साथीहरुलाई म यो निर्वाचनमा प्रचण्डलाई मतदान गर्न आग्रह गर्दछु ।
 

प्रतिक्रिया दिनुहोस