भरतपुर महानगरमा विपद व्यवस्थापन गर्न तालिम

सफल खबर संवाददाता

सोमबार, ३० बैशाख २०७६, १६ : ४४
भरतपुर महानगरमा विपद व्यवस्थापन गर्न तालिम

भरतपुर । भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन गर्नको लागि वडाका स्वयम्सेवकहरुलाई तालिम दिएको छ । आजबाट संकटा सन्नता क्षमता लेखाजोखा तालिम सुरु भएको हो । 
तीन दिन तालिमको उद्घाटन आज भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभयो । पहिलो चरणको तालिममा भरतपुर महानगरका जम्माजम्मी १३ वटा वडाका दुई÷दुई जनाको दरले विपद व्यवस्थापन समितिका प्रतिनिधि रहेका छन् । तालिमको उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले विपदबाट जोगिन पूर्वतयारी आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सहभागीहरुले तालिमपछि वडामा गएर त्यहाँको समग्र विपद व्यवस्थापनका समस्याहरुको तथ्यांक संकलन गर्नेछन्, सोही तथ्यांकको आधारमा महानगरले विपद् व्यवस्थापन योजना निर्माण गर्नेछ ।’ प्रमुख दाहालले यसअघि विपद् आइसकेपछि तयारी गरिनु गलत परिपाटी बसेको बताउँदै भन्नुभयो, ‘अब महानगरमा विपद् आउनुअघि नै सम्पूर्ण स्रोत साधन पूरा तयारी अवस्थामा हुुन्छ ।’

भरतपुर महानगर धेरै भाग राप्ती र नारायणी नदीको बीचभागमा रहेको हुनाले पनि यहाँ विपद्को जोखिम बढी हुने महानगर प्रमुख दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विपद् कतिबेला कहाँ आउँछ थाहा हुँदैन, त्यसैले आउनुअघि नै पूर्व तयारी अवस्थामा रहनुपर्छ, महानगरले तालिम त्यसैको लागि उपलव्ध गराएको हो ।’
कार्यक्रममा भरतपुर महानगरका वडा नं ५ का वडाध्यक्ष पदमपाणी सुवेदीले विपद् व्यवस्थापनमा एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा महानगर विपद व्यवस्थापन शाखा प्रमुख झलककुमार श्रेष्ठले महानगरका सबै वडाका विपद् व्यवस्थापन समितिका दुई दुई जनालाई तालिम उपलव्ध गराउने बताउनुभयो ।

दोस्रो चरणको तालिम जेठ ३ गतेबाट वडा नं २१ मा हुनेछ । महानगरका ६४ जनालाई तालिम उपलव्ध गराउने उहाँको भनाइ छ । शाखा प्रमुख श्रेष्ठको अनुसार भरतपुर महानगरले भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) को सहयोगमा विपद् व्यवस्थापन योजना निर्माण गर्न लागेको छ । 


 

प्रतिक्रिया दिनुहोस