निकै खतरनाक दुई पदाधिकारीका कारण अमेरिका कैयन देशसँग युद्धको स्थितीमा

एजेन्सी

विहीबार, २६ बैशाख २०७६, १५ : ४६
निकै खतरनाक दुई पदाधिकारीका कारण अमेरिका कैयन देशसँग युद्धको स्थितीमा

एजेन्सी । इरान र भेनेजुयलादेखि चीनसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीति उनका युद्ध मानसिकता भएका पदाधिकारीको नियन्त्रणमा पुगेको देखिएको छ । अमेरिकी स्वार्थमा कुनै पनि चुनौती दिने राष्ट्रलाई ठेगान लगाउनुपर्ने मानसिकता भएका यी अधिकारी ट्रम्प प्रशासनमा महत्वपूर्ण स्थानमा छन् ।

ट्रम्प प्रशासनका विदेशमन्त्री माइक पोम्पियो पछिल्लो समय राष्ट्रपतिलाई पनि बाइपास गरेर निर्णय गर्न थालेका छन् । उनका नीतिमा सैन्य हस्तक्षेप पनि प्रमुख विकल्पका रुपमा देखिन थालेका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन पोम्पियोभन्दा कडा मानिन्छन् । उनको पनि विदेश नीतिमा उल्लेख्य प्रभाव हुने गरेको छ ।

“यी दुई निकै खतरनाक छन् । अहिले अमेरिकाको विदेश नीति पोम्पियो र बोल्टनको हातमा छन्,” राजतीतिक विश्लेषक अलेजान्द्रो ब्रुनोले रुसी मिडिया आरटीसँग भने ।

राष्ट्रपति ट्रम्पका यी गरमपन्थी सहयात्रीले अमेरिकालाई केही देशसँग मुठभेडको दिशातर्फ डोर्‍याइरहेका छन् । तिनको उग्र नीति कार्यन्वयनमा गइरहँदा समय घर्किंदै जाँदा कुटनीतिक समाधानको सम्भावना कम हुँदै गएको छ ।

इरानलाई ‘स्पष्ट सेन्दश’ दिनका लागि छिट्टै ‘युएसएस अब्राहम लिंकन’ नामक युद्धविमान जहाज पर्सियन खाडीमा पुग्दैछ ।

तेल व्यापारमा कडाई गरेपछि इरानले लिएको विकल्पलाई पनि नियन्त्रण गर्ने प्रयासमा छ, अमेरिका ।

तेल व्यापारको लागि ‘ग्रे मार्केट’ जाने इरानको निर्णय र आणविक सम्झौता कायम राख्नको लागि युरोपले दिन सक्ने सहुलियतले इरानको तेल निर्यातलाई यथावस्थामा कायम राख्न सक्थ्यो । तर अब खाडीमा अमेरिकी सेनाको उपस्थितिले यो प्रयासमा हानी पुग्नेछ ।  

तेलको राजस्वबाट विमुख गर्ने र इरानलाई देशबाहिर सक्रिय हुन पनि नदिने वासिङ्टनको नीतिको प्रमुख उद्देश्य इरानको खाडी क्षेत्रमा रहेको प्रभाव नियन्त्रण गर्नु हो । यो उद्देश्यमा इजरायल, साउदी अरब र अमेरिका एक ठाउँमा उभिएका छन् । यसको प्रमुख ‘आर्किटेक्ट’ पोम्पियो र बोल्टन नै हुन् । यो कडा कुटनीतिले रक्तपातपूर्ण द्वन्द्व सुरु गर्न सक्छ ।

“यो किन खतरनाक अवस्था हो भने अ‍ेमेरिकाले विगतमा युद्ध सुरु गर्न यही रणनीति प्रयोग गरेको छ,” ब्रुनोले भने । ब्रुनोका अनुसार सन् १८९८ को स्पेनसँगको युद्ध र सन् १९६४को भियतनाम युद्ध अमेरिकाले आफ्ना समुद्र युद्धजहाजमाथि आक्रमण भएको भन्दै सुरु गरेको थियो ।

पोम्पियो र बोल्टनको निशानामा रहेको देश इरानमात्र होइन । हालसालै अमेरिकी युद्धजहाज साउथ चाइना सी प्रवेश गर्यो । चीनका दावी अनुसार जहाज चीनको ‘टेरिटोरियल समुद्र’ भित्रै पुगेको थियो । दुई देश व्यापार–युद्धमा रहेको अवस्थामा यस विवादले झनै तनाव थपेको छ ।

त्यस्तै गत हप्ता पोम्पियोले भेनेजुयलाका राष्ट्रपतिलाई अपदस्थ गर्न आफूले सैन्य हस्तक्षेपसम्मका विकल्पमा सोचविचार गरिहेको बताएका थिए । 

यस उग्र बोलिव्यवहारले रक्तपातको जोखिम बढाउने मात्र नभएर अमेरिकाको विश्वसनीयता नै नष्ट गर्न सक्छ । ‘शत्रु’ राष्ट्रलाई एक्लाउने प्रयासमा वासिङ्टन आफै एक्लिने सम्भावना पनि देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस