दिल्ली क्यापिटल्स आईपीएलको क्वालिफायरमा प्रवेश

एजेन्सी

विहीबार, २६ बैशाख २०७६, ०८ : २८
दिल्ली क्यापिटल्स आईपीएलको क्वालिफायरमा प्रवेश

एजेन्सी । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले क्वालिफायरमा स्थान बनाएको छ ।

दिल्लीले अब फाइनल प्रवेशका लागि सुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । दिल्लीसँगको हारसँगै हैदरवादको आईपीएल यात्रा सकिएको छ ।

एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । दिल्लीको जितमा पृथ्वी शा ले ५६ रनको अर्धशतकीय इनिङ खेले । ऋषभ पन्तले ४९, शिखर धवनले १७ र कोलिन मुरानोले १४ रन बनाए । बलिङमा हैदरावादका लागि राशिद खान, भुवनेश्वर कुमार र खलिल अहमदले दुई दुई विकेट लिए । दिपक होडाले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो । हैदरावादका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ३६ रन बनाए । कप्तान केन विलियम्सनले २८ रन बटुले । मनिष पाण्डेले ३०, विजय शंकरले २५ र मोहमद नाबीले २० रन बनाए । बलिङमा दिल्लीका किमो पलले तीन विकेट लिए । 

ईशान्त शर्माले दुई तथा अमित मिश्रा र टेन्ट्र बोल्टले एक एक विकेट झारे । यद्यपी दिल्लीले यस खेलमा नेपालका बलर सन्दीप लामिछानेलाई खेलाएको थिएन । 

प्रतिक्रिया दिनुहोस