सन्दीपको दिल्लीले एलिमिनेटर खेल सनराइजर्स हैदराबादसँग खेल्ने

एजेन्सी

सोमबार, २३ बैशाख २०७६, १० : ३२
सन्दीपको दिल्लीले एलिमिनेटर खेल सनराइजर्स हैदराबादसँग खेल्ने

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । आईतबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेपछि शीर्ष स्थानमा रहँदै मुम्बई क्वालिफायरमा प्रवेश गरेको हो ।
मुम्बईले क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग मंगलबार खेल्ने छ । मुम्बई विजयी भएसँगै सन्दीप लामिछाने सम्मिलित दिल्ली भने तेस्रो स्थानमा झरेको छ । यो सँगै दिल्लीले बुधबार एलिमिनिटर खेल सनराइजर्स हैदराबादसँग खेल्ने छ ।
समान १२ अंक भएपछि नेट रन रेटमा कोलकतालाई पछि पार्दै हैदराबाद प्ले अफमा पुगेको छ । हैदराबाद दिल्लीसँग एलिमिनिटर खेल्ने छ । एलिमिनिटरको विजेताले चेन्नई र मुम्बईसँगको खेलमा पराजित हुने टोलीसँग फाईनलको लागि प्रतिस्पर्धा गर्ने छ ।

१ सय ३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको सहज जितमा कप्तान रोहित शर्माले ४८ बलमा ८ चौका सहित ५५ रनमा अविजित रहे । त्यस्तै क्विन्टन डी ककले २३ बलमा ३ छक्का र १ चौका सहित ३० रनमा आउट भए । सुर्य कुमार यादव ४६ रनमा अविजित रहे । यादवले २७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । कोलकताका लागि एक मात्र विकेट प्रसिद्ध कृष्णले लिए ।

त्यस अघि मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । कोलकताका लागि रोबिन उथप्पाले ४० रन बनाए । उथप्पा ४७ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर सुभमन गिल र क्रिस लिनले पहिलो विकेटका लागि ६ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौ ओभरको पहिलो बलमा हार्दिक पाण्ड्याले गिललाई ९ रनमा एलवी डब्लू आउट गरे । नबौं ओभरको दोस्रो बलमा लिनलाई पाण्ड्यालेनै क्विन्टन डी ककबाट ४१ रनमा क्याच आउट गराए ।

लिनले २९ बलमा ४ छक्का र २ चौका प्रहार गरे । १३ औं ओभरको चौथो बलमा दिनेश कार्तिक र पाँचौ बलमा आन्द्रे रसेललाई लाथिस मलिङ्गाले क्याच आउट गराएपछि कोलकता संकटमा परेको थियो । रसेल डक र कार्तिक ३ रनमा आउट भए ।

तल्लोक्रमका नितेश रानाले १३ बलमा ३ चौका सहित २६ रनको योगदान दिए । मलिङ्गाले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै हार्दिक पान्ड्या र जसप्रित बुमराको नाममा समान २ विकेट रह्यो ।

मुम्बई १४ खेलमा ९ मा जित र ५ मा हारका साथ १८ अंक जोड्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो । चेन्नईले समान खेल र नतिजाका साथ दोस्रो स्थानमा रहेपछि क्वालिफायर पक्का भएको हो । दिल्ली क्यापिटल्सले १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंक भएपनि नेट रन रेटका कारण तेस्रो स्थानमा पुगेको हो । १४ खेलमा ६ मा जित र ८ मा हारका साथ चौथो स्थानमा रहदै हैदरावादले प्ले अफमा स्थान बनाउदै दिल्लीसँग एलिमिनिटर पक्का गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस