मुक्का हान्ने नेइमार अनुसन्धानको घेरामा, एमबाप्पेलाई कारबाही

एजेन्सी

शनिबार, २१ बैशाख २०७६, १२ : २०
मुक्का हान्ने नेइमार अनुसन्धानको घेरामा, एमबाप्पेलाई कारबाही

एजेन्सी । फ्रेन्च फुटबल महासंघ (एफएफएफ)ले पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । एफएफएफले शुक्रबार राति कारबाही सुनाएको हो । एमबाप्पे फ्रेन्च कपअन्तर्गत गत साता रेनेसविरुद्धको फाइनल खेलमा रातो कार्ड पाउँदै बाहिरिएका थिए । मैदानमा गल्ती गरेका कारण उनलाई रातो कार्ड दिइएको थियो । त्यसपछि अनुसन्धानमा रहेका एमबाप्पेलाई एफएफएफले तीन खेल खेल्न नपाउने कारबाहीको निर्णय सुनाएको छ ।

फ्रेन्च कपको फाइनलमा रेनेसले पीएसजीलाई सडन डेथमा ६–५ गोलले हराउँदै उपाधि जितेको थियो । निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएको थियो । पीएसजी उपाधि जित्नबाट बञ्चित भएपछि नेइमारले पनि समर्थकमाथि अभद्र व्यवहार गरेका थिए । उपविजेताको पदक थाप्न जाने क्रममा नेइमारले समर्थकलाई मुक्का हानेका थिए । सोही घटनामाथि अहिले एफएफएफले अनुसन्धान गरिरहेको छ । नेइमारलाई आठ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस