ट्यालेण्ट शो प्रतियोगिताको नाममा चितवनमा ठगी

सफल खबर संवाददाता

आइतबार, १५ बैशाख २०७६, १८ : ३९
ट्यालेण्ट शो प्रतियोगिताको नाममा चितवनमा ठगी

चितवन । ट्यालेण्ट प्रतियोगिताको नाममा अल नेपाल इभेन्ट म्यानेज प्रोडक्शन ‘एएनएमपी’ ले पूर्वी चितवनका १० वटाभन्दा बढी विद्यालयका ३० जनाभन्दा बढी विद्यार्थीहरुबाट ठगी गरेको खुल्न आएको छ ।
‘एएनएमपी’ ले विद्यार्थीहरुलाई प्रलोभनमा पारेर विभिन्न समयमा विभिन्न शिर्षकमा पैसा माग्नेदेखि टिकट विक्री गर्नुपर्ने शर्त राखेर उनीहरुबाट पैसा असुल गर्दै आइरहेको थियो ।
शुरुवाती चरणमा ३ सय रुपैयाँको फर्म भराएर उनीहरुले केही समयपछि १० हजार रुपैयाँ र अहिले एक विद्यार्थीलाई प्रति पिस रु ३०० पर्ने ७५ वटा टिकट विक्री गरेर पैसा आयोजकलाई बुझाउन भनेका थिए ।
विद्यार्थीले आफ्ना अभिभावकलाई यो कुरा जानकारी गराएपछि मात्रै अभिभावकहरुले सो प्रतियोगिता नभई ठगीधन्दा रहेको थाहा पाएका थिए । प्रतियोगितामा सहभागि भएका विद्यार्थीहरुले आफूहरुको फाइनल अगाडि नै प्रतियोगिताको शुल्क र साढे २२ हजारको टिकट विक्री गर्नुपर्ने अभिभावकलाई बताएपछि यो कुरा बाहिर आएको थियो । विद्यार्थीहरुले अभिभावकहरुलाई आफू पढ्ने विद्यालयकै ट्यालेण्ट शो आयोजना भएको भनेपछि आफूहरुले पाठाएको एक अभिभावक सोभिता बुर्लाकोटीको भनाई छ ।
बैशाखको पहिलो हप्तादेखि शुरु भएको सो ट्यालेण्ट प्रतियोगिता विद्यार्थीहरुलाई दिउँसो चार बजेदेखि ६ बजेसम्म प्रशिक्षण दिने गरिएको थियो । उनीहरुले विद्यार्थीहरुलाई जति धेरै टिकट विक्री गर्यो त्यती नै बढी भोट गन्ती हुने बताउँदै विद्यार्थीहरुलाई टिकट विक्री गर्न दबाब दिएका थिए । 
पूर्वी चितवनमै प्रशस्त हलहरु भएपनि ‘एएनएमपी’ ले कहिले सिमल टाँडी त कहिले सौराहाका हलहरुमा लगेर प्रशिक्षण दिने गरेका थिए । एउटा विद्यार्थीलाई ३ बुक बराबर साढे २२ हजारको टिकट विक्री गर्न दबाव दिएका थिए । विद्यार्थीलाई घरबाट जान र आउन उनीहरु पढ्ने स्कुललाई बस उपलब्ध गराउन त्यहाँ शिक्षकहरुलाई आग्रह गर्दै आइरहेका थिए । एक छात्रले साथीहरुले सबै टिकट विक्री गरी सके मैले चाहिँ टिकट विक्री गर्नै सकिन भनेपछि अयोजक प्रति शंका जागेको अर्का अभिभावकले बताए । 
‘एएनएमपी’ ले शुरुमा पूर्वी चितवनका राजमार्गमा जोडिएका विद्यालयसँग शो को बारेमा जानकारी गराएका थिए । त्यसपछि उनीहरुले विद्यालयसँगभन्दा विद्यार्थीहरुलाई नै बसमा पारेर प्रतियोगितामा सहभागि गराएका थिए । अल नेपाल इभेन्ट म्यानेज प्रोडक्शन ‘एएनएमपी’ ले आफ्नो टिकटमा कोटेश्वर काठमाडौँको ठेगाना राखेको छ । टिकटमा काठमाडौँकै ठेगाना राखिए पनि आयोजक भने चितवनकै रहेको खुल्न आएको छ । ‘एएनएमपी’ प्रबन्ध निर्देशक सुरज दराईले आफ्नो घर चितवन रहेको बताए ।
आयोजकले विद्यार्थीहरुलाई विभिन्न बहाना बनाएर पैसा असुल्ने गरेको थियो । तत्काल पैसा उपलब्ध गराउन नसक्नेलाई केही दिनमा दिनुपर्ने बताउने गरेका थिए । 
विद्यार्थीहरुले शिक्षकलाई नै आएर एउटा टिकट खरिद गर्नु पर्यो भनेपछि शिक्षकहरुलाई पनि ठगी भइरहेको शंका उब्जिएको एक शिक्षक पूर्णप्रसाद रिमालको भनाई छ ।
‘एएनएमपी’ प्रबन्ध निर्देशक सुरज दराईले ४ वर्षदेखि आफूहरुले उपत्यकामा यस्तो खाले कार्यक्रम गर्दै आइरहेको बताए । काठमाडौँ, भक्तपुर, ललितपुर हुँदै यस वर्ष चितवनमा यस्तो कार्यक्रम गरेको उनको भनाई छ । 
कक्षा ४ देखि ९ सम्मका ३० भन्दाबढी विद्यार्थीहरुलाई प्रलोभनमा पारेर एक विद्यार्थीबाट ३० हजारभन्दा बढी रकम संकलन गरी ९ लाख रुपैयाँभन्दा बढी उठाएर ठगीधन्दा गर्न लागेको बुभिएको छ । 
कलिला बालबालिकालाई नचाहिने सौन्दर्यसम्बन्धी तालिम दिएर उनीहरुले विद्यार्थीहरुको पढाई त बिगारेकै छन् अझै लुटधन्दा बढी चलाएका छन् । उनीहरुले यही बैशाख २० गते ११ बजे सौराहाको थारु साँकृतिक घरमा फाइनलको मिति समेत तय गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस