मैले उपयुक्त प्रतिस्पर्धी नै पाइन : प्रचण्ड

शनिबार, २५ कार्तिक २०७४, १८ : २६
मैले उपयुक्त प्रतिस्पर्धी नै पाइन : प्रचण्ड


चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन लड्नको लागि आफूले उपयुक्त प्रतिस्पर्धी नै नपाएको बताएका छन् । भरतपुरको आँपटारीमा शनिबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

यसपालि निर्वाचन लड्नको लागि मैले उपयुक्त प्रतिस्पर्धी नै पाउन सकिन, माओवादी केन्द्का अध्यक्ष प्रचण्डले भने, यदि नेपाली काँग्रेसले मेरो विरुद्धमा आफ्नो दलबाट पाको केन्द्रीयस्तरको नेता उठाइदिएको भए बल्ल मलाई पनि चुनाव लड्दैछु भन्ने हुन्थ्यो । मैले बलियो प्रतिस्पर्धी पाउने थिएँ । अहिले त मैले प्रतिस्पर्धी नै पाइन भनेपनि हुन्छ । प्रचण्डविरुद्ध चितवन क्षेत्र नम्बर तीनमा नेपाली काँग्रेसको समर्थनमा राप्रपा प्रजातान्त्रिकबाट बिक्रम पाण्डे चुनावी मैदानमा छन् । उनी ठेकेदार हुन् ।

तपाइँले चुनाव जित्ने आधार के हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, मैले चुनाव जित्ने आधार भनेको मेरो क्षेत्रका जनता हुन् । घरदैलोको क्रममा मेरो उम्मेदवारीले जनतामा उत्साह थपिएको पाएँ । चुनाव जित्नकै लागि त मलाई अरु जिल्लाबाट पनि उम्मेदवार भइदिनु प¥यो भनेर अनुरोध आएका थिए । मैले म हुर्केको, बढेको, पढेको मेरो आफ्नै ठाउँ चितवनलाई नै रोजेको हुँ । चितवनसँगै देशकै समृद्धिको लागि मैले काम गर्नेछु ।

 

सुकुम्बासीबीच प्रचण्ड
चुनावी प्रचारप्रसार र घरदैलोमा व्यस्त प्रचण्डले शनिबार बिहान भरतपुर महानगरपालिका १४, शिवनगरमा भूमिहीन सुकुम्बासीहरुसँग छलफल र अन्तरक्रिया गरे । संयुक्त चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको लालपूर्जाविहीन नागरिकहरुसँग क. प्रचण्डको साक्षात्कार कार्यक्रममा सहभागी भएर प्रचण्डले सुकुम्बासीहरुबीच अन्तरक्रिया गरेका हुन् ।

प्रचण्डबीच आफ्ना भनाइ राख्दै सुकुम्बासीहरुले राज्यले सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न नसकेको भन्दै गुनासो पोखेका थिए । उनीहरुले चुनावको मुखमा मात्रै सुकुम्बासीका समस्या बुझ्न आउने र चुनाव सकिएपछि आफ्ना समस्याहरु कहिल्यै समाधान नभएको पीडा सुनाए । वर्षौंदेखि भूमिहीन भएर बाँच्नुपर्दा आफूहरुले कुनै उद्यम वा स्वरोजगारीको काम गर्न समेत नपाएको सुकुम्बासीहरुको भनाइ थियो ।
सुकुम्बासीहरुका समस्या गम्भीरतापूर्वक सुनेका प्रचण्डले निकै भावुक हुँदै भने, मैले तपाइँहरुको कुरा गम्भीरतापूर्वक सुनेँ । २०३६ सालमा भूमिहीनले जमिन पाउनु पर्छ भनेर यही शिवनगरको गौचरनमा राति गएर खाँबो (खम्बा) गाड्ने व्यक्ति मै हुँ । मलाई तपाइँहरुको समस्या राम्रोसँग थाहा छ । म अलिकति जमिन भएकै परिवारको सदस्य भएपनि कम्युनिष्ट आन्दोलनमा लागेको हुँदा सुकुम्बासीलाई बस्ने ठाउँ दिनुपर्छ भनेर संघर्ष गरेको थिएँ । त्यही कारणले गर्दा म भूमिगतसमेत हुनुपर्‍यो ।

अहिलेसम्म वामपन्थीहरुको बहुमतको सरकार नहुँदा सुकुम्बासीका समस्या चाहे जसरी समाधान गर्न नसकिएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, अब देशका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेका छन् । अहिले चुनावी गठबन्धन र निकट भविष्यमै दुई पार्टी एक हुँदैछन् । निर्वाचनपछि बन्ने कम्युनिष्टहरुको बहुमतको सरकार बनेपछि सुकुम्बासी समस्यालाई मन्त्रिपरिषदको पहिलो बैठकबाटै सम्बोधन गरिनेछ ।

 

विकास र समृद्धि मुख्य एजेण्डा
भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगरमा शनिबार आयोजित कोणसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको मुख्य एजेण्डा विकास र समृद्धि भएको बताएका छन् । उनले पहिलोपटक देशव्यापीरुपमा वाम गठबन्धन गरिएकोले यसपटक वामपन्थीको बहुमतको सरकार बन्ने र त्यो सरकार पाँच वर्षसम्म टिक्ने बताए । अबको पाँच वर्षभित्र चितवनसँगै सिंगो देशले काँचुली फेर्ने उनको भनाइ थियो ।

तीसवर्षे पञ्चायती शासनमा पनि तीन वर्षभन्दा बढी कुनै सरकार टिकेनन्, अध्यक्ष प्रचण्डले भने, २०४८ सालको पहिलो आमनिर्वाचनपछि काँग्रेसले बहुमत ल्याएर सरकार बनाएपनि पाँच वर्ष टिकाउन सकेन । २०६२ । ६३ को दोस्रो जनआन्दोलनपछि बर्सेनी सरकार फेरिए । यो निर्वाचनपछि बन्ने अबको वामपन्थीको सरकार पाँच वर्ष टिकाएर देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाइनेछ । मेरो उम्मेदवारी राजनीतिक स्थायित्व, आर्थिक विकास र मुलुकको समृद्धिका लागि हो ।

चितवन जिल्लालाई अन्तर्राष्ट्रिय स्तरको नमुना शहर बनाउन सकिने प्रचण्डले बताए । एसियाली मापदण्डभन्दा माथिको शहरमा चितवनलाई रुपान्तरण गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो । यहाँको नदीनाला, वनजंगल र जमिनलाई उपयोग गरेर सिंगो चितवनलाई एउटै अन्तर्राष्ट्रिय स्तरको नमुना शहर बनाउन सम्भव छ, प्रचण्डले भने, अबको हाम्रो राजनीतिक यात्रा मुलुकको समृद्धि र विकासका लागि हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस