३ नं प्रदेशलाई समृद्धतर्फ अघि बढाउने प्रतिबद्धता सहीत सकियो लगानी सम्मेलन

सफल खबर संवाददाता

शनिबार, ०७ बैशाख २०७६, २० : ५७
३ नं प्रदेशलाई समृद्धतर्फ अघि बढाउने प्रतिबद्धता सहीत सकियो लगानी सम्मेलन

चितवन । प्रदेश नं ३ को चितवनमा भएको दुई दिने लगानी सम्मेलन सकिएको छ । ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सात वटा विषयमा निजी क्षेत्रसँग अन्तक्र्रिया गरी लगानी सम्मेलन समापन गर्नुभएको हो ।
सम्मेलनको समापनमा मुख्यमन्त्री पौडेलले प्रदेश ३ लाई समृद्धतर्फ अघि बढाउने प्रतिबद्धता गर्नुभएको थियो । उहाँले सरकारले नीतिगत स्पष्टता दिन सके लगानी आउने बताउनुभयो । 
सम्मेलनमा ठूला निजी क्षेत्र कृषि, उद्योग, पर्यटन र पूर्वाधारमा लगानी गर्न इच्छुक भएका हुन् । प्रदेशका १३ जिल्लाहरु कृषि, उद्योग, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रहरुमा प्रचुर सम्भावना भएको हुनाले निजी क्षेत्रलाई लगानी गर्न प्रदेश सरकारले आग्रह गरेको थियो । लगानी गर्न निजी क्षेत्र सकारात्मक भएका छन् ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘समाजवाद उन्मुख अर्थतन्त्रमा सरकार प्रतिबद्ध छ, अब एक्सन ओरिन्टेड काम हुन जरुरी छ, अब भाषण होइन काम गर्नुपर्छ ।’
प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरणमन्त्री अरूणप्रसाद नेपालले प्रदेश सरकार उद्योगीका पक्षमा लगानीमैत्री नीति एवम् कानुन निर्माणका क्रममा रहेको बताउनुभयो । उहाँले १५ दिनभित्र उद्योग दर्ताको प्रमाणपत्र पाइने जानकारीसमेत दिनुभयो । 
प्रदेश ३ नं का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले निराश नहुन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले के गर्नपर्ने हो, त्यो गर्न तयार छ, निराश हुनुपर्ने अवस्था छैन, उत्साह जगाउनुपर्ने अवस्था छ ।’
प्रदेशका अन्य मन्त्रीहरुले निजी क्षेत्रलाई लगानीको वातावरण बनेको र लगानी गर्न आग्रह गर्नुभएको थियो । निजी क्षेत्रले प्रदेश सरकारले वातावरण बनाए लगानी गर्न इच्छुक भएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस