Safal Khabar - मार्क्सवादको मुटु भनेको द्वन्द्वात्मक भौतिकवाद हो
आइतबार, १२ जेठ २०७६ (Sunday, 26 May, 2019)
मार्क्सवादको मुटु भनेको द्वन्द्वात्मक भौतिकवाद हो
बिहिबार, ०५ बैशाख २०७६, १४ : ४७
मार्क्सवादको मुटु भनेको द्वन्द्वात्मक भौतिकवाद हो

– गुणराज लोहनी

विज्ञान भन्ने शब्दले बृहत् अर्थ राख्दछ । तर पनि यसलाई छोटकरीमा पनि परिभाषित गर्न सकिन्छ । यो संज्ञा हो । “विज्ञान सामान्य निमयहरूको सत्य तथ्यमा व्यवस्थित तरिकाले अध्ययन गर्ने वा ज्ञानको शाखा हो, अवलोकन वा प्रयोगद्वारा भौतिक जगतको व्यवस्थित ज्ञान हो, भौतिक वा प्राकृतिक विज्ञानको कुनै शाखा हो, सामान्यतः व्यवस्थित ज्ञान हो, व्यवस्थित अध्ययनद्वारा प्राप्त तथ्य र सिद्धान्त अथवा ज्ञानको विशेष शाखा भन्ने गरिएको छ ।”१ यसको क्षेत्र व्यापक रहेको छ । अध्ययनका आधारमा यसलाई भौतिक, जैविक, खगोल, रसायन आदि विज्ञानमा विभाजन गरिएको छ ।

भौतिक जगतमा आधारित भएर गरिएको अध्ययन, खोज, अनुसन्धानमा भएका विकास र आविस्कारहरूले समृद्ध हुँदैजाँदा यसको क्षेत्र व्यापक हुँदै गएको छ । यसले भौतिक, जीव जगत मात्र नभएर पृथ्वीको सिमा काट्दै अन्तरिक्ष पार गरी ब्रम्हाण्डमा प्रवेश गरिसकेपछि ज्ञानको क्षेत्र बढेसँगै भौतिकवादी सोचलाई फराकिलो त बनाएकै छ नै, साथै मिथ्थक आदर्शवादले अस्तित्व जोगाउनका पनि यसको साहारा लिनु पर्ने बाध्यता रहेको छ । अहिले आएर दुई दर्शन भौतिकवाद र आदर्शवादका बीचमा द्वन्द्व चलिरहँदा ज्ञान र विज्ञानलाई आदर्शवादले जवर्जस्त तान्ने गरेको छ । आदर्शवादले मिथ्यलाई तथ्यमा पुस्टि गर्न खोज्दा विज्ञानका सिद्धान्तहरूको साहारा लिने गरिएको छ । त्यसैले पनि विज्ञानलाई जस्ताको त्यस्तै रूपमा बुझ्न जरुरी रहेको छ ।

सिङ्गो ब्रम्हाण्ड, त्यसको एक अंश सौर्य मण्डल र त्यसको पनि अर्को अंश पृथ्वी विज्ञानका नियमहरूद्वारा सञ्चालित छन् । त्यसैले तिनै निमयहरूको खोजी कसरी, के को आधारमा गरिएका छन्, ती निमयहरू सिङ्गो प्रकृतिमा कसरी लागू हुन्छन् । यति मात्र नभएर मानव समाजमा तिनीहरूको प्रभाव कस्तो र किन परेको छ भन्ने कुराको खोज गर्न जरुरी रहेको छ । वैज्ञानिकहरूले केही हदसम्म खोजी पनि गरिराखेका छन् । प्रकृतिकानियमहरूको मानव समाज र मानव विकास, वर्ग सङ्घर्ष र उन्नत समाजतिर उन्मुख हुन के कस्तो भूमिका खेलेका हुन्छन्, ती नियमहरूको खोज, यिनको परिमार्जन, विकाससँगै समतामुलक र वर्ग विहीन समाज निर्माणका यी नियमहरूको महत्व छ कि छैन भनी पहिचान गर्न जरुरी रहेको छ ।

प्राकृतिक विज्ञानका केही मुलभूत सिद्धान्त

“गणितहरूको आवश्यक पर्ने प्रस्थान विन्दूका तथाकथित स्वयंसिद्ध तथ्यहरू हुन् जसले गणितका केही विचार निर्धारण गर्दछन् । गणित भनेको मापनको विज्ञान होस यो मापनको यसको प्रस्थान विन्दूको अबधारणा हो, यसले अविश्वानिय तरिकाले र त्यसपछि अरू मापनहरूको प्रारम्भिक निर्धारणको परिभाषा गर्दछ, परिभाषामा रहने होइन, स्वयंसिद्ध तथ्यबाट बाहिर, अप्रमाणित देखिन्छ, र गणितीयरूपमा अप्रमाणित पनि देखिन्छ । परिणामको विश्लेषणले यी सबै स्वयं सिद्ध तथ्यहरूलाई प्राप्त गर्न आवश्यक पर्ने परिणामहरूको निर्धारण गर्दछ । टाउकोमा लगाउने नक्कली कपाल यतिसम्म सही देखिन्छन् कि यी स्वयंसिद्ध तथ्यहरू हामीलाई आत्माप्रमाणका रूपमा विरासतमा देखिन्छन् । तिनीहरू द्वन्द्वात्मक रूपमा, पूर्ण शुद्ध पुनरुक्तिभन्दा टाढा रहेका हुँदैनन् ।”२

एंगेल्सका माथिल्ला भनाईहरूले दुईवटा कुराहरूलाई स्पष्ट पारेको छ । प्रकृति विज्ञानका खोज, अनुसन्धान, आविस्कारको पहिलो सर्त भनेको दृष्टिकोण हो र त्यो आदर्शवाद नभएर भौतिकवाद हो भन्ने पुस्टि भएको छ । अर्को कुरा प्राकृतिक विज्ञानका नियमहरू समाज विज्ञानमा पनि लागू हुन्छ । यिनीहरूले दृष्टिकोणको पुस्टि गर्दछन् । त्यसमा पनि भौतिकवादी दृष्टिकोणलाई व्यावहारतः पुस्टि गर्दछन् । त्यसैलाई पुस्टि गर्न एंगेल्सले १८७३—१८८६ सम्म प्रकृतिको द्वन्द्ववाद लेख्नु भएको थियो । १९१४ मा लेनिनले भौतिकवादस अनुभव सिद्ध आलोचना लेख्नु भयो । यी तथ्यहरूले माक्र्सवाद र प्रकृति विज्ञानबीचको सम्बन्धलाई दर्साउँदछ । यति मात्र नभएर माक्र्सवादको विकास हुँदै गर्दा कार्ल माक्र्स र फ्रिडरिक एंगेल्सले उहाँका समकालिन र उहाँभन्दा अघिका विज्ञानका अनुसन्धान, खोज र आविस्कारहरूको गहिरो अध्ययन गरी मुलरूपमा ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादलाई सिद्धान्त र व्यावहारमा पुस्टि गर्दा तिनीहरूलाई आधार बनाउनु भएको थियो । वैज्ञानिकहरूको खोज आदर्शवादमा आधारित नभएर भौतिकवादमा रहेको हुन्छ । विज्ञानका खोज र आविस्कारहरू आदर्शवादको खण्डन गर्दै भौतिकवादमा आधारित हुने भएकाले धर्मभिरुहरूले भौतिकवादीहरूमाथि व्यापक दमन गरेको इतिहास रहेको छ । त्यसैले इसाईहरूले पहिलो महिला वैज्ञानिक हिपासिया, दोस्रो ब्रुनो र सर्भेन्टसहरूको हत्या गरेका थिए । यद्यपी यी कालहरूमा माक्र्सवादको आविस्कार भएको थिएन, द्वन्द्वात्मक भौतिकवादलाई संश्लेषण गरिएको थिएन । तर पनि भौतिकवादका आधारमा आदर्शवादको खण्डनमण्डन भैराखेको थियो । त्यसैले माक्र्सवाद जसलाई समाज विज्ञान भनिने गरेको छ, प्रकृति विज्ञानका सिद्धान्त र नियम लागु हुन्छ । तलका तथ्यहरूले यी कुराहरूलाई पुस्टि गर्दछन् ।

यान्त्रिक सिद्धान्त र माक्र्सवाद

मानव जीवनलाई सहज र श्रमको मात्रा र गुण दुवै बढाउन र बनाउनका लागि यन्त्रहरूको आविस्कार भएको थियो । इसा पूर्व २८७—२१२ मा आर्किमेडिजले उत्तोलकको सिद्धान्तलाई स्थापित गरेर यान्त्रिक विज्ञानको शुरुआत गरेका थिए । त्यसमा थप विकास ग्यालिलियो ग्यालिलीले गरेका थिए भने सर आइज्याक न्युटनले पूर्णता दिएका थिए । यान्त्रिक सिद्धान्तलाई रेने डेकार्टले ९१५९६—१६५००मा आफ्नो प्रशिद्ध पुस्तक दर्शनको सिद्धान्तमा “यो भौतिक जगत पदार्थका कणहरूको संघटन तथा गतिको परिणाम हो ।” स्पष्ट पारेका थिए । यान्त्रिक विज्ञानलाई वैज्ञानिक स्वरूप दिनु पर्दथ्यो र त्यसलाई गणितको सूत्रमा पनि ढाल्न जरुरी थियो । यसरी वैज्ञानिक स्वरूप दिने र गणितको सूत्रमा ढाल्ने काम सर आइज्याक न्युटनले १६४२—१७२७ मा आफ्नो प्रशिद्ध पुस्तक “प्राकृतिक दर्शनको गणितीय सिद्धान्त”मा गरेका छन् । न्युटनले प्रतिपादन गरेको यान्त्रिक सिद्धान्तका नियमहरू ३ वटा रहेका छन् । यसलाई चालका नियमहरू पनि भनिन्छ, यी हुन् जडत्व, प्रवेग र सन्तुलन । यी नियमहरू स्थूल बस्तुमा लागू हुने गर्दछन् ।

यी नियमहरूले माक्र्सवादको वल प्रयोगको सिद्धान्त र बस्तुको गतिलाई व्यावहरतः पुस्टि गर्दछ । यद्यपी न्युटनका यी नियमहरू सार्वभौम हुन सकेका छैनन् । यिनीहरू स्थूलमा त्यो पनि मुलरूपमा सौर्यमण्डलमा मात्र सीमित भएकाले अधिभूतवादी रहन गएको छ । यद्यपी भौतिक जगतमा यी नियमहरूले ठूलो क्रान्ति ल्याइदिएका छन् । साथै न्युटनले गुरुत्वाकर्षणको सार्वभौम नियम र तापको गति नियम पनि पत्ता लगाएका थिए । यान्त्रिक क्रान्तिको सिद्धान्तको खोज र प्रयोगले विश्वमा भएका वैज्ञानिक, औद्योगिक र राजनैतिक क्रान्तिमा निकै ठूलो भूमिका खेलेको थियो र अहिले पनि त्यत्तिक्कै महत्वपूण रहेको छ । यस सानो लेखमा ती नियमहरूको व्याख्या सम्भव छैन ।

यान्त्रिक सिद्धान्तहरूका पनि कैयौं सीमाहरू रहेका छन् । उन्नाइसौं शताब्दिको उत्तराद्र्धमा जब विद्युतीय र प्रकाशकीय घटनाहरू देखि थाले त्यसपछि मात्र यान्त्रिक गतिका सीमाहरू सतहमा आएका थिए । तर पनि न्युटको यी सिद्धान्तहरूले वलको परिभाषा मात्र गरेनन् कि वललाई सूत्रबद्ध गर्दै त्यसलाई व्यावहारमा ल्याएका थिए । यसैका आधारमा गुरुत्व, गुरुत्वाकर्षण लगायतका वलहरूलाई बुझ्न र लागू गर्न सहज भएको थियो । यसको एकातिर द्वन्द्वात्क भौतिकवाद र अर्को समान रूपान्तरणमा वल प्रयोगको माक्र्सवादी सिद्धान्तलाई सूत्र र व्यावहारमा पुस्टि गरेको छ । कार्ल माक्र्स र एंगेल्सले माक्र्सवादको प्रतिपादन गर्दै गर्दा यी खोज र सिद्धान्तहरूलाई आधार मानेका थिए । माक्र्सले रसायन विज्ञानका बारेमा धेरै जानकारी राखेको बुझिन्छ भने एंगेल्सले सम्पूर्ण प्रकृति विज्ञानको तत्कालिन अवस्थाका बारेमा अध्ययन गरेको देखिएको छ । त्यसैको परिणाम हो उहाँको पुस्तक “प्रकृतिको द्वन्द्ववाद” र “ड्युरिङ मत खण्डन” मा प्रशस्त उदाहरण र सन्दर्भ पाइन्छ ।

सापेक्षताको सिद्धान्त र माक्र्सवाद

बिसौं शताब्दीको अत्यन्त महत्वपूर्ण उपलब्धिहरूमध्ये परमाणविक शक्ति हो । यसकालागि सपेक्षताको सिद्धान्त जोडिएको छ । उक्त सिद्धान्तका प्रवर्तक अल्वर्ट आइन्स्टाइन हुन् । उनले सापेक्षताको सिद्धान्तको खोजी गरेका थिए र उक्त सिद्धान्तलाई गणितीय समिकरणमा पनि व्यक्त गरेका थिए । सामान्य रूपमा भन्दा सापेक्षता भनेको दुई बस्तुहरूबचिको सम्बन्ध हो । विज्ञान जगतको सापेक्षताको सम्बन्ध भौतिक गतिसँग छ र यसको क्षेत्र पनि भौतिक जगत मात्र हो । त्यसकारण सापेक्षताको सिद्धान्तलाई यसरी व्यक्त गर्न सकिन्छ—गति सापेक्ष छ निरपेक्ष छैन । यसको अर्थ के हो भने कुनै पनि बस्तु स्वयंमा गतिशिल वा स्थिर हुँदैन । अर्को बस्तुको तुलनामा९सापेक्षतमा० मात्र त्यो गतिशिल वा स्थिर हुन्छ । यसबाट के निष्कर्ष निस्किन्छ भने गति सापेक्षित कुरा हो, निरपेक्ष होइन । गतिको यहि सापेक्षित प्रकृति र यसबाट उत्पन्न सम्पूर्ण भौतिक घटनाहरूलाई सूत्रबद्ध गर्ने वैज्ञानिक सिद्धान्तलाई नै सापेक्षताको सिद्धान्त भनिन्छ ।

भौतिक गति दुई प्रकारका हुन्छन्—१० समरूप गति र २० असमरूप गति । यिनै दुईवटाको आधारमा सापेक्षताको सिद्धान्तको पनि दुई शाखा रहेका छन् १० विशेष सापेक्षताको सिद्धान्त र २० सामान्य सापेक्षताको सिद्धान्त हो ।

सापेक्षताको सिद्धान्त न्युटनको पालादेखि स्थापित यान्त्रिक सिद्धमन्तको शास्त्रिय पक्षमा संकट देखापरेपछि मात्र खोजमा आएको हो । मुलरूपमा प्रकाशको गतिलाई लिएर यसको खोज भएको हो । न्युटनका अनुसार प्रकाशको यात्रा कणमा हुन्छ । त्यसलाई प्रकाशको सिद्धान्त भनिन्छ भन्ने थियो । यसका लागि माध्यम चाहिन्छ । त्यो माध्यम भनेको इथर हो । प्रकाश इथरका कणमा यात्रा गर्दछ भन्ने थियो । सूर्यबाट पृथ्वीमा यही इथरको माध्यमबाट आउँछ भन्ने थियो । इथर शब्द ग्रीस भाषाबाट आएको हो । यसको अर्थ स्वर्गीय हुन्छ । यसले आदर्शवादलाई पुस्टि गर्दछ । तर १८८६ मा माइकेल्सन—मोर्लेको निकै मिहेनतपछिको परीक्षणले इथर भन्ने तत्व नरहेको पुस्टि गरेपछि प्रकाशको यात्रा कणमा हुन्छ र त्यो कण भनेको इथर हो भन्ने न्युटनको मान्यतालाई खारेज गरिदिएको थियो । साथै परीक्षणले इथर नरहेको प्रमाणित गर्नुका साथै स्वर्ग वा भगवान पनि नरहेको प्रयोगात्मक पुस्टि गरेको थियो ।

त्यसो भए प्रकाश कसरी एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दछ त रु यसको सही उत्तर बेलायतका दुई जना प्रसिद्ध वैज्ञानिक माइकेल फराडे र जेम्स क्लर्क म्याक्सवेलले प्रकाश विद्युतीय तरङ हो, प्रकाशलाई यात्रा गर्न कुनै माध्यमको आवश्यकता पर्दैन भन्ने मान्यता स्थापित गरेर दिएका थिए । तर उनीहरूले इथरको अस्तित्व नरहेको पुस्टि गर्न सकेका थिएनन् । आइन्साइनले इथरको अस्तित्वलाई अस्वीकार गरेर सापेक्षताको सिद्धान्तको खोजीलाई अगाडि बढाएका थिए । साथै आइन्स्टाइनले न्युटनको स्थान र समय निरपेक्ष हुन्छ भन्ने मान्यतालाई खारेज गरेर सापेक्षताको सिद्धान्तलाई स्थान, समय र प्रकाशसम्म विस्तार गरेका थिए । उनले जडत्व यन्त्र अथवा अवलोकन कर्ताको सापेक्षतामा प्रकाशको गति ३ लाख किलोमिटर प्रतिसेकेण्ड हुन्छ भन्ने मानेका छन् । साथै स्थानको ३ वटा आयाम हुन्छन् भन्ने थियो । तर आइन्स्टाइनले त्यसमा अर्को आयम समय पनि रहेको निष्कर्ष निकालेका थिए । साथै उनले द्रव्य र शक्तिको सम्बन्धको पनि व्याख्या गरेका थिए । यसले गर्दा द्रव्यलाई शक्तिमा परिणत गर्न सकिने भएको छ । यसका साथै अहिले पदार्थको अन्त भयो, सबै स्थूल बस्तु विद्युतीकरण भएकाले माक्र्सवादको पनि मिति पुगिसकेको तर्क गरिराखेका सन्दर्भमा प्रकाशको गति र द्रव्य र शक्तिको सम्बन्धलाई परिभाषित गरिएपछि उनीहरूको तर्क स्वतः खारेज हुन पुगेको छ । आइन्स्टाइनले यसैको आधारमा शक्तिको गणितीय सूत्र भ्।mअद्द प्रतिपादन गरेका थिए । उनले प्रतिपादन गरेको उक्त सूत्रलाई प्रयोग गरी निर्माण गरिएको परमाणु बम १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा हानेर व्यावहारिक पुस्टि गरिएको थियो । यसका साथै आइन्स्टाइनका विशेष सापेक्षताको सिद्धान्त अनुसार ढिलो समय, बस्तुको सङ्कुचन र अन्तिम सीमाको रूपमा प्रकाशको गति रहेका छन् ।

त्यसैगरी सामान्य सापेक्षताको सिद्धान्तले असमान गति र त्यसबाट उत्पन्न भौतिक परिघटनाहरूलाई सूत्रबद्ध गर्दछ । यसको लक्ष्य सम्पूर्ण भौतिक गतिलाई सापेक्षताको अवधारणाअन्तर्गत ल्याउनु हो । सामान्य सापेक्षताको सिद्धान्तका गुरुत्व पिण्ड र जडत्व पिण्डको समतुल्यताको नियम र गुरुत्वाकार्षण बल र असमरूप गतिको समतुल्यताको नियम रहेका छन् । यसको विस्तृत व्याख्या यहाँ सम्भव छैन । तर यसका परिणामहरू भने प्रकाश बाङ्गिनु, विस्तारशील ब्रह्माण्ड, बिग ब्याङ र ब्ल्याक होल रहेका छन् । यी परिणामहरूले पृथ्वीदेखि ब्रह्माण्डसम्मको अध्ययन, त्यहाँका परिघटनाहरूका बारेमा जानकारी राख्न सकिने भएको छ । यति मात्र नभएर पृथ्वी लगायत सौर्य मण्डल र ब्रह्माण्डको उत्पत्ति र विनाशको भविश्यवाणी गर्न सकिने भएको छ ।

क्वान्टम सिद्धान्त र द्वन्द्ववाद

स्थूल जगतका वस्तुहरू, घटनाहरू तथा प्रक्रियाहरूलाई नियमन तथा निर्धारण गर्ने नियमहरू तथा सिद्धान्तहरू पनि अलग—अलग हुन्छन् । जुन नियम र सिद्धान्तले स्थूल जगतमा काम गर्दछन्, तिनीहरूले सुक्ष्म जगतमा काम गर्दैनन् । त्यसैगरी जुन नियम तथा सिद्धान्तहरूले सुक्ष्म जगतमा काम गर्दछन् तिनीहरूले स्थूल जगतमा काम गर्दैनन् । यो स्थूल जगतभित्र रहेको सूक्ष्म जगतको अध्ययन गर्ने नियमन गर्ने प्रमुख सिद्धान्तलाई नै क्वान्टम सिद्धान्त भनिन्छ ।

सापेक्षताको सिद्धान्त जस्तै क्वान्टम सिद्धान्तमा पनि प्रकाशको प्रमुख भुमिका रहेको हुन्छ । यसले सूक्ष्म बस्तुको बारेमा अध्ययन गर्ने यस सिद्धान्तको खोज म्याक्स प्लङ्कले १९१८ मा गरेका थिए । सापेक्षताको सिद्धान्त जस्तै क्वान्टम सिद्धान्तमा पनि प्रकाशको प्रमुख भूमिका रहेको हुन्छ ।

क्वान्टम सिद्धान्तमा ३ वटा नियमहरू रहेका छन् । पहिलो शक्तिको विच्छिन्नताको नियम हो, यसका अनुसार सूक्ष्म अवस्था वा आधारभूत रूपमा नै शक्ति विच्छिन्न हुन्छ । दोस्रो, तरङ्ग— कण द्वैतताको नियम अनुसार शक्तिको वास्तविक रूप तरङ्ग हुन्छ । तर द्रव्य अर्थात पदार्थको रूप कण हुन्छ । तर क्वान्टम सिद्धान्तले सूक्ष्म जगतमा तरङ्ग र कण अभिन्न भएको तथ्य उद्घाटित ग¥यो । यो नियम अनुसार पदार्थको सूक्ष्म स्वरूपमा जाँदा तरङ्ग र कण अभिन्न रूपले जोडिएका हुन्छन् । पदार्थको सूक्ष्म स्तरमा उही वस्तु तरङ्ग पनि हो र कण पनि हो । यसैलाई तरङ्ग—कण द्वैतताको सिद्धान्त भनिन्छ । तेस्रो र अन्तिम भनेको अनिश्चितताको नियम हो । क्वान्टम सिद्धान्तले सूक्ष्म जगतमा, विशेषगरी तरङ्ग— कणको जगतमा, यो सुनिश्चिताको धारणा लागु हुँदैन भन्ने कुरा अगाडि कल्याएको छ । जति ठीकसँग कुनै कणको स्थिति सुनिश्चित गरिन्छ, त्यत्ति त्यसको गति अनिश्चित हुनजान्छ र जति ठीकसँग कुनै कणको गति सुनिश्चित गरिन्छ, त्यत्ति त्यसको स्थिति हुनजान्छ । परिणामस्वरूप सूक्ष्म जगतमा सुनिश्चितताको सट्टा अनिश्चितता अर्थाथ सम्भाव्यता एउटा आधारभूत नियमको रूपमा स्थापित भएको छ ।

क्वान्टम सिद्धान्तका दुईवटा परिणाम रहेका छन् । पहिलो परमाणुको संरचना र त्यसमा रहेको शक्तिको विनियोजन । परमाणुको संरचनामा रहेको प्रोटोन, इलेक्ट्रोनमा इलेक्ट्रोनले बाहिरी कक्षमा केन्द्रलाई घुमिराखेको हुन्छ । क्वान्टम सिद्धान्तअनुसार शक्ति निश्चित मात्रामा विभाजित हुन्छ । इलेक्ट्रोनमा शक्तिको निश्चित मात्रा हुन्छ, जसअनुसार त्यसको कक्ष निश्चित हुन्छ । त्यसकारण हरेक इलेक्ट्रोन आफ्नो कक्षमा रहन्छ । त्यो शक्तिको स्तरलाई क्वान्टम सङ्ख्या भनिन्छ । इलेक्ट्रोनहरूले आफ्नो कक्ष बदल्दा क्रमिक रूपमा नभएर विच्छिन्न रूपले बदल्छन्, किनभनें शक्तिको मात्रा निश्चत र विच्छिन्न हुन्छ ।

दोस्रो हो, वर्णपट सूर्यबाट आएको प्रकाशलाई प्रिज्ममा पठाएमा वा वर्षामा इन्द्रेणी देखिएमा त्यसमा ७ वटा विभिन्न रङ्गहरू देखिन्छन् । यी ७ वटै रङ्गको तरङ्ग लम्बाई फरकफरक हुन्छन् । क्वान्टम सिद्धान्त अनुसार व्याख्या गर्ने हो भने तरङ—लम्बाईअनुसार बन्ने अलग—अलग प्रकाशमा अलग—अलग शक्तिका मात्रा रहेका हुन्छन् । त्यसैलाई फोटोन भनिन्छ । यस लेखमा क्वान्टम सिद्धान्तका बारेमा अरू लेख्न सकिदैन । यसले लामो व्याख्याको माग गर्दछ ।

क्वान्टम सिद्धान्तले नै बस्तुगत जगतको यान्त्रिक अधिभूतवादी अवधारणालाई पूर्ण रूपले खारेज गरिदिएको छ । यी तथ्यहरू हुन् विच्छिन्नता अर्थात क्रमभङ्गको धारणा, मात्रा र गुणको अनिवार्य द्वन्द्वात्मक सम्बन्ध, विपरित पक्षहरूको अस्तित्वको सापेक्षिकता र अन्तरसम्बन्ध । आधारभूत स्तरमा शक्तिको कण अथवा विच्छिन्नस्वरूपले द्वन्द्ववादको क्रमभङ्गको अनिवार्यतालाई पुस्टि गर्दछ । यान्त्रिक धारणाले क्रमिकताको अस्तित्वलाइृ मान्दछ, जसले अधिभुतपादलाई समर्थन गर्दछ । तर क्वान्टम सिद्धान्तले विच्छिन्नतालाई यथार्थ मान्दछ, जसले द्वन्द्ववादलाई समर्थन गर्दछ । त्यसैगरी क्वान्टम सिद्धान्तमा शक्तिको निश्चित मात्रा निर्णायक हुन्छ । यसले द्वन्द्ववादको मात्रा र गुणको अनिवार्य द्वन्द्वात्मक सम्बन्धलाई सही सिद्ध गर्दछ ।

क्वान्टम सिद्धान्तको तरङ्ग—कण द्वैतताको नियमले द्वन्द्ववादका विपरित पक्षहरूको अस्तित्वलाई दर्शाउँछ । त्यसैगरी अनिश्चितताको नियमले अधिभूतवादी धारणा अर्थात नियतत्ववादलाई खण्डन गर्दछ । नियतत्ववाद भनेको कार्यकारणको निश्चित सम्बन्ध हो । अनिश्चितताको नियम द्वन्द्ववादको पक्षमा छ ।

मुख्यरूपमा मानव जीवनमा त्यसमा पनि वैज्ञानिक, औद्योगिक र राजनैतिक क्रान्तिमा प्राकृतिक विज्ञानका यी सिद्धान्तहरूको निकै महत्व रहेको मात्र होइन, यिनीहरूले मानव खोजलाई पृथ्वीबाट ब्रह्माण्डमा पु¥यो । परमाणुदेखि ब्रह्माण्डसम्मको संरचनालाई खोतल्यो ।

निष्कर्ष

यो सानो लेखमा विज्ञानका सबै पक्षहरूका बारेमा उल्लेख गर्न सकिदैन । माओले भन्नु भएको छ “सही विचार वर्गसङ्घर्ष, उत्पादनकालागि सङ्घर्ष र वैज्ञानिक प्रयोगद्वारा आउँछ ।”३ माक्र्सवादमा वैज्ञानिक प्रयोग अनिवार्य शर्त रहेको हुन्छ । वैज्ञानिक प्रयोगहरूको सही परिणाम भौतिकवादमा आधारित हुन्छ । त्यसको विधि भनेको द्वन्द्ववाद हो । माक्र्सवादको मुटु भनेको द्वन्द्वात्मक भौतिकवाद हो । भौतिकवाद स्वीकार नगरी खोजिएका न्युटनका केही सीमित यान्त्रिक नियम होस् या द्वन्द्ववादलाई पुस्टि गर्ने क्वान्टम सिद्धान्त यी सबै भौतिकवादमा आधारित रहेका छन् । अझ पछिल्लो क्रममा स्टेफिन हकिङले पत्ता लगाएको कृष्ण विवरहरू त्यत्ति काला छैनन्, यिनीहरूले विकिरण छाड्छन् भन्ने तथ्यहरूले द्वन्द्वात्मक भौतिकवादलाई पुस्टि गर्दछन् । अझ माक्र्सवादको प्रतिपादनपछिको कालमा प्रकृति विज्ञानका खोज, अनुसन्धान र आविस्कारमा आश्चर्यजनक विकास भएको छ । सापेक्षता, क्वान्टम, तार, कृष्ण विवर, अनिश्चय जस्ता सिद्धान्तहरू त्यसपछि नै पत्ता लागेका हुन् । यी तथ्यहरूले के भन्दछ भने माक्र्सवाद प्रकृति र समाजविज्ञानहरूको पनि विज्ञान हो ।

प्रतिक्रिया दिनुहोस