Safal Khabar - कलिलै उमेरमा विद्यालय भर्ना : उचित कि अनुचित ?
सोमबार, ०२ भदौ २०७६ (Monday, 19 August, 2019)
विद्यार्थी भर्ना अभियान–१

कलिलै उमेरमा विद्यालय भर्ना : उचित कि अनुचित ?
बिहिबार, ०५ बैशाख २०७६, १२ : ५५
कलिलै उमेरमा विद्यालय भर्ना : उचित कि अनुचित ?

चितवन । 
– ‘ओहो ! तिम्रो बच्चालाई स्कुल हालिदिने बेला भएन ?’ 
– ‘लौ, अहिलेसम्म किन स्कुल नहालेको ?  
– ‘बच्चा हुर्किसक्यो त, अझै स्कुल नपठाएको ? 
– अब त मन्टेश्वरी हाल्ने बेला भयो नि ?

जब बच्चा एक वर्ष पूरा हुन्छ, अनि जोकोही अभिभावकले यस्ता प्रश्नहरुसँग खुब मुकाबिला गर्न पर्छ । त्यसमाथि भर्ना अभियानको बेला अझ बढी, कुरै नगरौँ । 
यतिबेला देशभर भर्ना अभियान नै चलिरहेको छ । धेरै अभिभावकको टाउको आफ्नो बच्चाले होइन, अरुले दुखाइरहेका हुन्छन् यो सययमा । आफ्नो बच्चा बामे सर्न पाएको छैन, स्कुल पठाऊ भनेर टाउको अरुले दुखाउँछन्, स्कुल भएन फेर्नुहोस् भन्दै अरुकै टाउको दुख्छ । 
जब कुनै अभिभावकको बच्चा एक वर्ष पूरा हुन्छ, थुप्रै प्रश्नहरुले अभिभावकलाई घेरा हाल्न थाल्छ । आफन्त, छिमेकी, चिनेजानेका सबैले केरकार गर्ने एउटै प्रश्न यही हो, ‘किन बच्चालाई घरमै राखेको ? छिटो भर्ना गर्नुपर्छ ।’
बच्चालाई कलिलै उमेरमा विद्यालय पठाउनुपर्छ भन्ने मान्यताले समाजलाई अत्याउन थालेको छ । जति–जति बच्चा हुर्कँदै जान्छ, आमाबुवालाई हतारो बढ्न थाल्छ । यही हतारोले गर्दा त, दुधको लाम्टा नछाड्दैका बच्चालाई चोकचोकमा खुलेका मन्टेश्वरी कक्षाहरुमा धकेलिन्छ । 
अभिभावकहरु बच्चालाई रुवाउँदै, फकाउँदै, हप्काउँदै विद्यालय घिच्याइरहेका दृश्य जोकोहीले देखिरहेका हुन्छन् । पछिल्लो समय कलिलै उमेरमा विद्यालय पठाउने मान्यता नेपाली समाजमा बढिरहेको छ ।  

कति बाध्यता, कति फेसन 
हिजोआज जोकोही अभिभावक व्यस्त नै देखिन्छन् । बढ्दो महँगी, विलासी जीवनशैली, देखासिकीलगायतका विविध कारणले बालबालिकाका बाबुआमा कुनै न कुनै काममा व्यस्त नै हुन्छन् । घरमा पूरा समय बच्चालाई हेरेर बस्ने फुर्सद नै पाउँदैनन् । त्यस्ता व्यस्त अभिभावकलाई एक वर्ष पुगेपछि बच्चालाई भर्ना गर्न हतार हुन्छ । 
कम उमेरमै बच्चाहरुलाई स्कुल धकेल्नु कतिपय अभिभावकको बाध्यता बनेको छ भने कतिपयको रहर वा कतिको देखासिकी अर्थात् फेसनजस्तो भएको छ । कामकाजी आमाले बच्चालाई जतिसक्दो चाँडो स्कुल भर्ना गरेर आफ्नो करिअर र व्यवसाय अघि बढाउन चाहन्छिन् । फेरि श्रीमान एक्लैले काम गरेर सहरमा कोठा लिएर बस्नेलाई जीवन चलाउन पनि गाह्रो छ ।
‘दुई वर्ष पुगेपछि मैले त बाबुलाई मन्टेश्वरी पठाएको छु, घरका परिवार सबै व्यस्त नै भए, हेरेर बस्ने फुर्सद नै छैन’ हेटौँडा–७ कि रञ्जु खनालले भनिन्, ‘कामकाजी महिलाहरुले चारपाँच वर्षसम्म बच्चालाई घरमै राखेर पनि के गर्नु ?’
तर कतिपय बाबुआमा भने घरमा समय दिन सक्ने अवस्थामा पनि देखासिकीले साना बच्चालाई स्कुल पठाइरहेका छन् । भरतपुर १० की एक महिलाले भनिन्, ‘घर वरिपरिका साथीहरुले पनि बच्चालाई पठाए, त्यसैले मैले पनि दुई वर्षमै मन्टेश्वरी हालेकी हुँ ।’
छिमेक, आफन्त र कार्यालयको वातावरण नै यस्तो छ कि, सन्तान डेढ, दुई वर्षको हुँदा नहुँदै प्रश्न आउँछन्, ‘अझै स्कुल पठाउनु भएको छैन ? मेरो नानीले त दुई वर्षको हुँदा नै ‘राइम्स’ सुनाउन थालिसकिन, तपाइँले अझै साढे दुई वर्षमा पनि स्कुल हाल्नुभएको छैन ?’
अहिलेका बच्चाहरुलाई त्यही उमेरमा विद्यालय प्रवेश गराइन्छ, जतिबेला उनीहरु आफै हिँड्न, बोल्न, खान, बस्न सक्षम भएका हुँदैनन् । यही उमेरमा यी कलिला बालबच्चालाई रंगीन किताब देखाएर बोल्न र लेख्न सिकाइन्छ, ‘ए, भन, बी भन... ।’
यस्तो पृष्ठभूमिमा अभिभावकसामु एउटा अनिवार्य प्रश्न, ‘बच्चालाई कलिलो उमेरमा विद्यालय पठाउनु किन आवश्यक छ ?’ यो प्रश्नमा मुल त तीनवटा तर्क गरिएको पाइन्छ । एक, ‘कलिलो उमेरदेखि विद्यालयमा पढ्ने बानी गराउन ।’ दुई, ‘विद्यालयमा पठाएपछि बच्चाले केही न केही नयाँ कुरा सिक्छन् ।’ तीन, ‘हामीसँग बच्चा स्याहार्ने फुर्सद नभएकाले ।’ 
हुन त अहिले समाजको रुपान्तरण जुन हिसाबले भइरहेको छ, त्यसले पनि बच्चाको विद्यालय जाने उमेर छोट्याइदिएको छ । अहिले एकल परिवार बढ्दो छ । दम्पती कामकाजी छन् । घरमा बच्चाको हेरचाह गर्ने फुर्सद छैन । यसरी बेफुर्सदिला बनेका दम्पतीले बच्चालाई शिशु कक्षामा लैजाने गरेका छन् । यसले शिशु कक्षाको व्यवसायलाई पनि टेवा दिएको छ ।

के हुन्छ पहिलो कक्षा ?
खासमा पूर्वप्राथमिक तह भनेको विद्यालय होइन । पूर्व प्राथमिक शिक्षामा तिनै बालबच्चालाई राखिन्छ, जसलाई आमाबुवाले हुर्काउने फुर्सद पाउँदैनन् । पूर्व प्राथमिक तह भनेका बच्चालाई खुवाउने, खेलाउने, स्याहार्ने र हुर्काउने ठाउँ हो । यस्ता ठाउँमा बच्चालाई यसरी राख्नुपर्ने हुन्छ, जहाँ उनीहरुले आमाबुवाको आवश्यकता महसुस नगरोस् । उन्मुक्त खेल्न, रमाउन, खान–पिउन, दिसा–पिसाब गर्न पाउन् ।
पूर्व प्राथमिक शिक्षाको आवश्यकतामाथि पनि अहिले चर्चा हुन थालेको छ । यसका पक्षधरहरु भन्ने गरेका छन्, घरमा भन्दा कक्षा कोठामा बच्चाले खेल्ने, हुर्कने, रमाउने अनुकुलता प्राप्त गर्न सक्छन् । घरमा एक्लै हुन्छन्, कक्षाकोठामा साथीभाई हुन्छन् ।
पूर्व प्राथमिक शिक्षाविदका अनुसार शिशु कक्षा एवं पूर्व प्राथमिक कक्षामा बच्चाले पढ्ने होइन, खेल्ने र रमाउने नै हो । यसले उनीहरुको वृत्ति–विकासमा थप सहयोग पुग्छ । यो उमेरमा पढाउन र घोकाउन थालियो भने बच्चालाई नकारात्मक असर पर्छ । 

मनोसामाजिक समस्या 
साना बच्चाले घर आएर सुनाउने केही हरफ कविता, केही फलफूल, चराका नाम र रंगका नाम सुनेर मख्ख पार्ने कि घरमा उसले आफै सिक्ने समय छुटेकोमा चिन्ता गर्ने ? यो अहम् प्रश्न बनेको छ । घरमा अभिभावकको अगाडि देखेर सिकेको ठीक कि, कुनै कक्षामा घन्टौँ बसेर असिनपसिन भई ए फर एपल जानेको ठीक ? यो अर्को अहम् प्रश्न हो । 
बालबालिका र किशोर–किशोरीलाई सामाजिक परामर्श दिँदै आएका समाजशास्त्री भूमिराज खनालले अभिभावकको व्यस्तता नै बालबालिकाको हुर्काइमा मुख्य समस्या हुन थालेको बताउँछन् । सानो उमेरमा स्कूल पठाउँदा तत्काललाई केही फाइदाहरु देखिए पनि त्यसले पार्ने असरतर्फ भने कुनै अभिभावकले नसोचेको उनी तर्क गर्छन् । 
‘कलिलै उमेरमा विद्यालय पठाएका बच्चाहरु सुरुको अवस्थामा विद्यालयबाट घर आएपछि आमा र बुबासँग मात्र झुम्मिने, अरुसँग नमान्ने हुन्छन् । किशोरावस्थामा पुगेपछि अभिभावकलाई वास्ता नगर्ने, सानो कुरामा पनि छिटो रिसाउने जस्ता समस्याहरु देखिन थाल्छन्,’ उनले भने ।
डेढ, दुई वर्षका सन्तानलाई स्कूल पठाएर अभिभावकबाट टाढा राख्दा उसले भोलिका दिनमा अभिभावकलाई हेर्ने नजर फरक पर्न सक्ने समाजशास्त्री खनालको भनाइ छ । 
‘कम उमेरमा विद्यालय पठाउँदा शारीरिक–मानसिक समस्या आउने विभिन्न अध्ययनहरुले पनि देखाएका छन्,’ समाजशास्त्री खनालले भने, ‘त्यसैले युरोपका विकसित देशहरुमा त त्यसमा कडाइ नै छ । ६ वर्षको पुगेपछि मात्रै उनीहरु स्कूल पठाउन थाल्छन्, यहाँ तोते बोली आउन पाएको छैन, रायम्स सिक्छ भन्दै पठाउँछन् ।’
डेढदुई वर्षको उमेरको बच्चा भनेको अभिभावकको काखमा रमाउनपर्ने बच्चा हो, यो उमेरमा झन हामी अभिभावकबाट बच्चालाई टाढा राख्छौँ । 

काखमा लुटपुटिने अवधि छोटियो
अघिल्लो पुस्तासम्म सामान्यतया पाँच वर्षको उमेरलाई विद्यालय शिक्षामा प्रवेश गर्ने उपयुक्त उमेर मानिन्थ्यो । अहिले यो उमेर–अवधी घटेर दुई र अढाइमा झरेको छ । अझ पछिल्लो समय त दूधे एवम् काखे बच्चा स्याहार्ने कक्षासमेत खुल्न थालेका छन् । यसरी बच्चाहरु आमाबाबाको काखमा लुटपुटिने अवधी छोटिएको छ र विद्यालय शिक्षाको यात्रा लम्बिएको छ ।
कुनै बखत कक्षा एकलाई विद्यालय शिक्षाको प्रारम्भिक खुड्किलो मानिन्थ्यो । कक्षा एकमा प्रवेश गरेपछि कखरा सिकाइन्थे । अहिले भने कक्षा एकमा आइपुग्न अरु चार र पाँच तह छिचोल्नुपर्छ । 
प्ले गु्रप, नर्सरी, जेकेजी (जुनियर किन्डर गार्टेन), एसकेजी (सिनियर किन्डरगार्टेन) । त्यसपछि बल्ल बच्चाले कक्षा एकमा प्रवेश पाउँछन् । भन्न त यसलाई पूर्व–प्राथमिक तह भनिएको छ, जहाँ बच्चालाई खेल्ने, स्याहार्ने गरिन्छ । तर, व्यवहारिक रुपमा के देखिएको छ भने पूर्व–प्राथमिक तहबाट नै बच्चालाई पेन्सिल समात्ने, अक्षर खिप्ने, पाठ पढाउने र होमवर्क दिने । काम हुन्छ । 
अर्थात कक्षा एकमा आइपुग्दासम्म बच्चाले आधारभूत शिक्षा लिइसकेको हुनुपर्छ भन्ने भित्री–मान्यता अभिभावक र पूर्व प्राथमिक शिक्षा संचालकहरु दुबैमा पाइएको छ । यो कति उचित हो, या अनुचित ? अभिभावक र पूर्वप्राथमिक शिक्षा सञ्चालकहरु उचित मान्छन् भने मनोविद तथा समाजशास्त्रीहरु अनुचित ।

कुन उमेरमा विद्यालय ?
हाम्रो वर्तमान शिक्षा–प्रणालीसँग यसको खास जवाफ छैन । तर, विश्व परिवेशलाई नियाल्ने हो भने, ६ वर्षभन्दा कम उमेरका बालबालिका विद्यालय शिक्षाका लागि योग्य हुँदैनन् । तयार हुँदैनन् । ६ वर्षसम्म उनीहरु आमाबुवाको स्पर्शबाट विमुख हुन हुँदैन ।
जापानमा ६ वर्षभन्दा अघि बच्चालाई पेन्सिल समात्न पनि दिइँदैन । ६ वर्षभन्दा कम उमेरका बच्चालाई निस्फिक्री घरमै खेल्न, रमाउन, हुर्कन दिइन्छ । त्यसपछिको उमेर भने विद्यालय शिक्षाका लागि हो ।
हाम्रो पूर्वीय संस्कृतिले पनि शिक्षा–दीक्षाका लागि निश्चित उमेर तोकेको छ । जीवनका १६ संस्कारमध्ये यसलाई पनि एक संस्कारको रुपमा लिइएको छ । यस अन्र्तगत ब्रतबन्ध पछिको समय उनीहरु शिक्षा–दीक्षा लिने हो । यो उमेर ८ वर्षबाट सुरु हुन्छ ।
हिन्दू संस्कारअनुसार बच्चा जन्मिएपछि आठ वर्षसम्म आमाको ममतामयी स्पर्शमा हुर्कनुपर्छ । हिन्दू संस्कारमा यस अवधिलाई गर्भाश्रम भनिएको छ । त्यसपछि ब्रम्हाचार्यश्रम सुरु हुन्छ, जुन आठ वर्षदेखि २५ वर्षसम्मको उमेर हो । यो उमेर अवधी भनेको उसले गुरुकुलमा विद्या तथा सांसारिक ज्ञान आर्जन गर्ने हो ।
यस हिसाबले हेर्दा ६ वा ८ बर्षपछि नै बच्चा शिक्षा आर्जन गर्नका लागि योग्य हुन्छन् । त्यसअघिको उमेरमा उसले आमाबुवाकै आलिंगनमा रमाउन पाउनुपर्छ ।
तर, अहिले कलिला बालबच्चा आमाबुवाबाट विमुख हुँदैछन् । उनीहरुलाई आमाको न्यानो काखबाट कक्षाकोठामा स्थानान्तरण गरिएको छ । पूर्व प्राथमिक तहका यी पाठशाला अब बच्चाका लागि अनिवार्य मानिन थालिएको छ ।
कलिलो उमेरमा बच्चालाई आफुबाट छुटाएर कक्षा कोठामा लैजाँदा के हुन्छ ? अभिभावकले यसको जवाफ खोजेका छैनन् । बरु उनीहरुले गणना गरेका छन्, जति सानो उमेरमा पढायो, करियरका लागि उत्ति नै समय लम्बाउन सकिनेछ ।
अर्थात् सानै उमेरमा विद्यालय शिक्षा पूरा गरेपछि छोराछोरी उच्च शिक्षा हासिल गर्नेछन् । २० वा २२ वर्षको उमेरमा स्नातक र स्नातकोत्तर तह सिध्याएपछि करियर बनाउन सहज हुन्छ भन्ने मान्यता अभिभावकमा जरा गढेर बसेको छ ।  

प्रतिक्रिया दिनुहोस