काठमाडौं। आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको नयाँ संस्करण मंगलबारदेखि शुरू हुँदैछ । चौथो संस्करणको पहिलो खेल श्रीलंका र बंगलादेशबीच खेलिने छ । यो खेल श्रीलंकाको घरेलु मैदान गालेमा खेलिनेछ ।
बंगलादेशविरुद्धको यो खेलपछि श्रीलंकाली टोलीका प्रभावशाली खेलाडी एन्जेलो म्याथ्यूजले टेस्ट क्रिकेटबाट सन्न्यास लिँदैछन् । त्यसैले यी उनका लागि यो टेस्ट विशेष हुनेछ । ३८ वर्षीय म्याथ्यूजले आफ्नो सक्रिय खेलजीवनमा एक सय १९औँ टेस्ट खेल्न लागेका हुन् ।
विश्व टेस्ट च्याम्पियनसिपको २०२५–२७ सिजनमा कूल एक सय ३१ खेल खेलिनेछ । यो संस्करणमा सबैभन्दा बढी खेल अस्ट्रेलियाले खेल्नेछ । यो संस्करणमा अस्ट्रेलियाले कूल २२ खेल खेल्नेछ । त्यसपछि इङ्ल्यान्डले २१ खेल खेल्नेछ ।
अस्ट्रेलियाले नयाँ सिजनमा आफ्नो पहिलो खेल वेस्ट इन्डिजसँग र इङ्ल्यान्डले आफ्नो पहिलो खेल भारतसँग खेल्नेछ । चौथो संस्करणमा भारतले भने कुल १८ खेल खेल्नेछ । भारतले नौ खेल घरेलु मैदानमा र नौ खेल विपक्षी टोलीको मैदानमा खेल्नेछ ।
यसैगरी, नयाँ संस्करणमा न्युजिल्यान्डले १६ र दक्षिण अफ्रिकाले १४ खेल खेल्नेछ । पाकिस्तानले १३ तथा बंगलादेश र श्रीलंकाले १२–१२ खेल खेल्नेछन् । टेस्ट च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि न्युजिल्यान्डले जितेको थियो । फाइनलमा न्युजिल्यान्डले भारतलाई हराएको थियो ।
दोस्रो संस्करणको उपाधि अस्ट्रेलियाले जितेको थियो । फाइनलमा अस्ट्रेलियाले पनि भारतलाई नै पराजित गरेको थियो । तेस्रो संस्करणको उपाधि भने दक्षिण अफ्रिकाले चमेको थियो । दक्षिण अफ्रिकाले फाइनलमा अस्ट्रेलियालाई हराएको थियो । दक्षिण अफ्रिकाले जितेको यो पहिलो आईसीसी ट्रफी हो ।
आफ्नो अन्तिम खेल भएकाले एन्जेलो म्याथ्यूजले बंगलादेशविरुद्धको टेस्टलाई स्मरणीय बनाउने प्रयास गर्नेछन् । उनले टेस्ट क्रिकेटमा हालसम्म कुल आठ हजार एक सय ६७ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय रन हो ।
उनले टेस्ट क्रिकेटमा हालसम्म १६ शतक र ४५ अर्धशतक पनि प्रहार गरेका छन् । यसका अतिरिक्त उनले टेस्ट क्रिकेटमा ३३ विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४४ रन खर्चिएर चार विकेट हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, ११ : ५४
लेखकबाट थप