भारतमा आँधीहुरीबाट ९ जनाको मृत्यु, नेपालमा पनि आउन सक्ने, सर्तक रहन आग्रह

सफल खबर संवाददाता

बुधबार, ०४ बैशाख २०७६, १५ : ०३
भारतमा आँधीहुरीबाट ९ जनाको मृत्यु, नेपालमा पनि आउन सक्ने, सर्तक रहन आग्रह

काठमाडौँ । भारतको राजस्थानमा आँधी र तुफानका कारण ९ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको सो आँधीबाट ३० जना घाइते भएका छन् । मंगलबार साँझ राजस्थानमा ६० किमी प्रतिघण्टाको रफतारमा आँधी आएको न्यूज १८ इण्डिया अनलाइनले मौसमविद्हरुलाई उद्धृत गर्दै जनाएको छ ।

राजस्थानको सो हुरी अरेबियन समुन्द्र र बंगालको खाडीबाट विकास भएको बताइएको छ । भारतको नयाँ दिल्ली र गुरगाउँ, नोइडा लगायतका क्षेत्रमा हुरीको असर देखिएको बताइएको छ । यस्तै बिहार, झारखण्ड, उत्तर प्रदेश लगायतका क्षेत्रमा समेत त्यसको असर देखिएको थियो ।

मौसमविद् गंगा नगरकोटीले राजस्थानको असर नेपालमा पनि पर्न सक्ने बताइन् । उनले पश्चिमी वायुको प्रभावले नै राजस्थानमा त्यस्तो घटना भएको जनाउँदै पश्चिमी वायु नेपालको दक्षिण पश्चिम भागमा प्रवेश गरेको जनाइन् । उनले संघीय राजधानी काठमाडौंमा पनि दिउँसो १–२ बजे सम्ममा हुरी बतास आउन सक्ने उनको भनाइ थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशै भरी सामान्य देखि पूर्णबदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्टयाङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षा र असिना पानीको सम्भावना रहेको छ ।
देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको जनाइएको छ । आज राति पनि देशै भरी सामान्य बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्यम वर्षा र असिना पानीको संभावना रहेको तथा तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको जनाइएको छ । भोलि बिहीबार पनि वर्षाको सम्भावना रहेको र त्यसैगरी शुक्रबार पनि अधिकांश भूभागमा मौसम बदली हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस