‘गाँजा हिल’ नयाँ पदमार्ग अध्ययन गर्ने घोषणा

सफल खबर संवाददाता

मंगलबार, ०३ बैशाख २०७६, ०७ : ०४
‘गाँजा हिल’ नयाँ पदमार्ग अध्ययन गर्ने घोषणा

धादिङ । धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा ‘गाँजा हिल’ नयाँ पदमार्ग अध्ययन गर्ने घोषणा गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले नेपालको राष्ट्रिय झण्डा फहराउँदै उक्त क्षेत्रमा नयाँ पदमार्ग अध्ययनको घोषणा गर्नुभएको हो । थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको छ ।  
पर्यटनको प्रच्युर संभावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो झण्डाचुलीमा २०३२ साल तिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहासलाई स्मरण गर्दै फेरि राष्टिय झण्डा राखिएको कँडेलले वताउनुभयो । 

पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको आयोजनामा झण्डा स्थापना गरिएको हो । 
मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीलाई केन्द्रित गरी एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको डा कँडेलले भनाई छ ।  

ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले आफुले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । ‘सरकारले अगाडी बढाएको समृद्ध नेपाल सुखी नेपाली अभियान सार्थक बनाउन मुल संवाहकको रुपमा पर्यटनलाई महत्वपुर्ण अंगको रुपमा लिएका छौं ।’ कँडेलले भन्नुभयो । 
आदिबासी जनजाती तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाँ पदमार्ग खोल्न यही वर्ष अध्ययन हुने उहाँले जानकारी दिनुभयो । ‘यस अघि हिमाली क्षेत्र मात्र थियो, महाभारत क्षेत्र पर्यटनका लागि खोलिएको थिएन । यो मार्ग नयाँ प्रयोग पनि हुन्छ । यो काठमाडौं, नारायणगढ र हेटौंडाको बीचमा परेकाले यसको संभावना धेरै छ । यस क्षेत्रमा बस्ने तामाङ र चेपाङ जातिको उत्थानका लागि पनि यस मार्गले ठुलो भूमिका खेल्छ,’ डा कँडेलले भन्नुभयो । 
पाँच वटा स्थानीयतहलाई जोड्न तत्काल सडक निर्माण गर्नु पर्ने भएकाले प्रदेश सरकारसंग यसलाई प्राथमिकतामा राख्न अनुरोध गर्ने उहाँको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस