आइल्याण्ड बनेको दश वर्षपछि चौबीसकोठीमा तीस बत्ती झलमल्ल

सोमबार, ०२ बैशाख २०७६, १६ : २६
आइल्याण्ड बनेको दश वर्षपछि चौबीसकोठीमा तीस बत्ती झलमल्ल

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० चौबीसकोठीमा रहेको आइल्याण्ड १० वर्षपछि पुनः सञ्चालनमा आएको छ । महानगरपालिका र विभिन्न निजी क्षेत्रको सहयोगमा सामाजिक अभियान बेटर चितवनले आवश्यक मर्मत संभार गरेपछि सञ्चालनमा आएको हो । महानगर प्रमुख रेनु दाहालले आईतबार एक कार्यक्रमकाबीच आइल्याण्डमा जडान गरीएको बत्ती र पानीको फोहोराको स्वीच अन गरेर उद्घाटन गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले सबैको सहकार्यबाट नै समृद्ध महानगरको संकल्प पुरा हुने बताइन्। प्रमुख दाहालले सामाजिक संघ संस्थाको सक्रियतामा आईल्याण्ड सञ्चालन हुनुले भरतपुरलाई स्मार्ट सिटी बनाउने सपना साकार हुन थप बल मिलेको बताइन।
सबै व्यक्ति, संघसंस्था, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संघसंस्थाले आ–आफ्नो स्थानबाट सकरात्मक सोचका साथ सहकार्य गरे स्मार्ट सिटीको नारा साकार गर्न धेरै समय नलाग्ने उनको भनाई थियो। यस्तै उनले गएको वर्ष २०७५ साल विकास निर्माण, लगायत समृद्ध महानगरका लागी सुखद भएको र २०७६ सालमा अझ धेरै काम गर्ने अठोटका साथ अघि बढेको बताइन।
यस्तै आइल्याण्ड संरक्षणको जिम्मा आइल्याण्ड सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बेटर चितवनलाई नै दिईएको छ । भरतपुर महानगरपालिकाको २ लाख रुपैयाँ, उद्योग वाणिज्य संघ चितवनको १ लाख रुपैयाँ र चौबिसकोठी वरिपराका विभिन्न हस्पिटलको तर्फबाट करिब १ लाख रुपैयाँ गरी ४ लाख रुपैयाँको स्टीमेटमा आइल्याण्ड सञ्चालनमा ल्याईएको बेटर चितवनका संयोजक सागर कार्कीले बताए।
आइल्याण्डमा ३० वटा बत्ती जडान गरीएको छ । ४ रङमा बल्ने बत्ती एउटैको ३ हजार रुपैयाँ परेको बेटर चितवनले जनाएको छ । यसअघि जडान गरिएका बत्ती अधिकांश हाराएको थियो भने केही बिग्रिएको अवस्थामा रहेको थियो । यस्तै पानीका फोहोराका सामाग्री पनि छ । अधिकांश सामाग्री काठमाण्डौबाट ल्याईएको बेटर चितवनका सहसंयोजक अजय डिसीले बताए।
आइल्याण्ड बिहान बेलुकी २ समय अथवा पुरै दिनभरीनै सञ्चालन गर्ने भन्नेबारे सल्लाह भइरहेको बेटर चितवनले जनाएको छ । अहिले तत्कालका लागि बिहान ८ देखि १० बजेसम्म र साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने तयारी भएको छ । ट्राफिक व्यवस्थापनमा असर नगरे दिनैभरी सञ्चालन गर्ने तयारी रहेको छ।
१० वर्ष अघि बनेको उक्त आइल्याण्ड करिब ६ महिना सञ्चालन भएपछि बिग्रिएर बन्द भएको थियो । २०६६ सालमा तत्कालिन भरतपुर नगरपालिका, उद्योग वाणिज्य संघ नारायणगढ र निम्बस दाना उद्योगको संयुक्त लगानीमा निर्माण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस