पूर्वी तराईमा आजदेखि सिरुवा पर्व शुरु

आइतबार, ०१ बैशाख २०७६, ११ : ४७
पूर्वी तराईमा आजदेखि सिरुवा पर्व शुरु

काठमाडौं । नयाँ वर्षको शुरुआत भएसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व शुरु भएको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया गनगाई, मेचे माझीलगायत कोच जातिका समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउन शुरु गरेका छन् ।

कोच समुदायमा यो पर्वले निकै महत्व बोकेको छ । वर्षभरिको रिसरागलाई पानीले पखालेर आपसमा पानी हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवीदेवताको पूजा गर्ने गरिन्छ । 

वर्षको एक दिन माटोसँग खेलेमा शरीरका रोगहरु नाश हुने मान्यता रहेकाले आपसमा हिलो लगाएर काद सिरुवा खेल्ने र सिरुवाको अन्तिम दिन नयाँ वर्षलाई हर्सोल्लासका साथ रङ्गले खेलेर समापन गरिने प्रचलन रहेको कमल गाउँपालिका–६ का आदिवासी समुदायका अग्रज नित्यानन्द ताजपुरियाले बताउनुभयो ।
 
परापूर्वकालदेखि आदिवासी समुदायले मनाउँदै आएको सिरुवा पर्व विगतका केही वर्षहरुमा सामूहिक रूपमा मनाउँदै आएको नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय महासचिवसमेत रहनुभएका ताजपुरिया बताउनुहुन्छ ।
     
यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ । झापा, मोरङ र सुनसरी जिल्लामा मात्र बस्दै आएका राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् ।

पर्वको अवसरमा यी जिल्लामा विशेष सांस्कृतिक कार्यक्रमसहित सिरुवा मेला पनि लाग्ने गर्दछ । पूर्वका तीन जिल्लामा करीब तीन लाख ५० हजार कोच समुदाय रहेको अनुमान गरिएको छ ।
  
सिरुवाका अवसर पारेर जिल्लाको आदिवासी कोच बाहुल क्षेत्रका गौरादह, गौरीगञ्ज, कचनकवललगायतका स्थानीय सरकारहरुले वैशाख ३ गते सार्वजनिक बिदासमेत दिएका छन् । 
- रासस

प्रतिक्रिया दिनुहोस