आत्महत्याको घटना बढेपछि नेपालमा पब्जी खेल प्रतिबन्ध

सफल खबर संवाददाता

विहीबार, २८ चैत्र २०७५, १६ : ३९
आत्महत्याको घटना बढेपछि नेपालमा पब्जी खेल प्रतिबन्ध

काठमाडौं । नेपाल पब्जी खेल प्रतिबन्ध भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । 
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरेका छन् । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको बताए ।
पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।
 

ज्यान गयो
गत अगस्टमा एक चिनियाँ किशोर चौथो तलामा रहेको काकाको अपार्टमेन्टबाट हाम्फाले । हाइमेन शहरका बासिन्दा उनको ज्यान गयो । रातको पौने १ बजे आत्महत्या गर्नुअघिसम्म उनी आइप्याडमा पब्जी खेलिरहेका थिए । किशोरकी आमाले त्यो घटना पब्जीका कारण भएको दाबी गरिन् । 
यो गेममा प्लेयरहरू अग्ला भवनबाट सजिलै हाम्फाल्छन् । यसबाट प्लेयरलाई कुनै चोट लाग्दैन । धेरै समय यो गेम खेलेपछि त्यसकै प्रभावले आफ्नो छोरा अग्लो घरबाट हाम्फालेको आमाको भनाइ थियो । 
इन्टरनेट गेममा नशाजस्तै बन्न जान्छ। गत वर्ष गरिएको एक अध्ययनअनुसार १८ प्रतिशत चिनियाँ किशोरकिशोरी इन्टरनेट गेमको लतमा पर्ने जोखिम छ । उनीहरू दैनिक चारदेखि पाँच घण्टासम्म गेममा बिताउँछन्।
 

स्वास्थ्य समस्या
इन्टरनेट गेमका कारण शारीरिक र मानसिक दुवै प्रकारका समस्या निम्तिरहेका छन् । आँखा र गर्धनमा सबैभन्दा बढी समस्या देखिएको छ। यसै पनि स्मार्टफोनको ब्लुलाइट स्वास्थ्यका लागि हानिकारक मानिन्छ । ओछ्यानमा सुत्दासमेत गेममा व्यस्त हुनाले अनिद्राको समस्या बढ्ने विज्ञहरूले चेताएका छन् ।  
पब्जीसहित अधिकतर गेमको विषयवस्तु हिंसात्मक हुन्छ । गेममा मारकाट, गोली प्रहार सामान्य दृश्य हो । अझ भन्ने हो भने बाँच्नका लागि अर्कोलाई मार्नैपर्ने अवस्थाको सामना गर्छन् प्लेयरले । यसले कलिला मस्तिष्कमा नकारात्मक असर पुर्याउने र हिंसात्मक व्यवहारका लागि उक्साउन सक्ने चिन्ता मनोविश्लेषकहरूले व्यक्त गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस