Safal Khabar - सुन्दर हुनु भनेको आवश्यकता होइन
आइतबार, ०८ बैशाख २०७६ (Sunday, 21 April, 2019)
सुन्दर हुनु भनेको आवश्यकता होइन
बुधबार, २७ चैत २०७५, १४ : ०६
सुन्दर हुनु भनेको आवश्यकता होइन

– मेगान नोलान

मेरो गृहनगर आयरल्यान्डको सडकमा एउटा विशाल ऐना छ । त्यसले एउटा भवनको एकातर्फको भाग पुरै ओगटेको छ । मेरी आमाको घरबाट सहरको केन्द्रतिर जाँदा त्यो ऐना बाटामा पर्छ । टिनएजर भएपछि त्यो ऐना छल्न मैले अर्को बाटो हिँड्न थालेंँ । ऐना सधैं चमचमाउँदो र सफा हुन्थ्यो । त्यसमा सडकको छवि उदेकलाग्दो देखिन्थ्यो । त्यसले अनायासै मेरो छवि पनि मलाई देखाउँथ्यो, जसरी अरूले हेरिरहेका हुन्थे ।

मेरो वरपर र कोठामा रहेका अरू साना ऐनाहरू वा मेरो फोनमा रहेका क्यामरामा हेर्नुअघि म आफूलाई तयार पार्न सक्थेंँ । तर त्यो सडकको ऐनाले भने मजस्तो अवस्थामा हुन्थेंँ, त्यही रूपमा मेरो प्रतिविम्ब देखाइदिन्थ्यो । त्यसमा म सुन्दर वा आकर्षक नदेखिन पनि सक्थेँं । सत्यसँग एक्कासि मेरो साक्षात्कार हुन्थ्यो । जति नै समय लगाई मेकअप गरेर, राम्रा लुगा लगाएर वा आकर्षक देखिने गरी बाहिर निस्किए पनि म सुन्दर भने थिइनँ ।

युवा हुँदा मलाई सुन्दर देखिने उत्कट अभिलाषा थियो । त्यो निकै गाह्रो र पीडादायी इच्छा थियो । मलाई प्यारी वा मायालु हुनु थिएन । पुरुषहरूका अगाडि आकर्षक हुनु पनि थिएन । ‘सेक्सी’ देखिनु पनि थिएन । केवल सुन्दर देखिनु थियो । र म सुन्दर छैन भन्ने सत्यले थप पीडा दिन्थ्यो । मलाई कुनै बहस वा तर्कभन्दा माथि उठेर सुन्दर देखिनु थियो । कसैले सुन्दर युवतीको कल्पना गरेर कोर्ने चित्रमा जस्तै सुन्दर देखिनु थियो, मलाई ।

अहिले सोच्दा, टिनएजमा हुँदा मैले सुन्दरतालाई यति धेरै महत्त्व दिइछु, मलाई त्यसबेला असहजता र लाज लाग्थ्यो । सुन्दरता भनेको असहज महसुस हुनुको ठीक विपरीत हो भन्ने मेरो सोचाइ थियो । सुन्दर देखिनु भनेको अन्य माथिको नियन्त्रण हो । ठीकठाक देखिने केटीलाई भन्दा सुन्दर केटीलाई बेवकुफ देखाउन निकै गाह्रो हुन्छ भन्ने म सोच्थेँं ।

उमेर बढेसँगै पुराना सोचहरू हराउँदै गए । सुन्दर नहुनुभन्दा पनि नराम्रा कुरा मेरो जीवनमा आए । यो वर्षको पहिलो महिना मैले वाटरफोर्डस्थित घरमा आफ्ना आमा–बुबासँग बिताएँ । किनकि म वास्तविक जीवनमा फर्कन नसक्नेगरी टाट पल्टिएकी थिएँ । मेरो जीवन अधोगतितर्फ लागेकामा पनि तनावग्रस्त र निराश थिएँ । उमेरले अट्ठाइस वर्षकी भएर पनि दुई छाकका लागि आफ्ना आमा–बुबामा आश्रित भएकामा मर्नु भएको थियो । वर्षौंपछि म यति लामो समय घरमा थन्किएकी थिएँ । त्यसमा पनि ऐनाले देखाइदिएको आफ्नो शारीरिक वास्तविकताले मलाई थप पीडा दिएको थियो ।

टिनएजरका रूपमा आदर्श मानक माने अनुरुपको सुन्दर आफू छैन भन्ने सोच मबाट हटेको थिएन । त्यो कतै लुकेर मात्रै बसेको थियो । जेसुकै गरे पनि आफू सुन्दर भने छैन भन्ने सम्झाउनका लागि मेरो घर, आयरल्यान्डले कुरिरहेको थियो ।अब भने पहिलो पटक म कोही सुन्दर हुनै पर्दैन भन्ने बुझ्दै थिएँ । उमेर बढ्दै जाँदा आफूले आफूलाई प्रेम गर्ने प्रयास गर्दै थिएँ । आफ्नो शारीरिक कमीलाई पूर्वाग्रहरहित आँखाले नियाल्दै त्यसलाई आत्मसात् मात्रै नभई प्रशंसा गर्ने कोसिसमा थिएँ । चुनिएका केही मात्र होइन, वास्तवमा म पनि सुन्दर छु र अरू सबै जना सुन्दर छन् भन्नेमा विश्वास गर्ने प्रयत्नमा थिएँ ।

मैले यो सोचलाई नक्कली हाँसोका साथ दाह्रा किटेर स्वीकार गरिरहेकी थिएँ । आफ्नो शरीरलाई नग्नावस्थामा हेर्दै र ‘म सुन्दर छु’ भन्दै चिच्याएकी पनि थिएँ । मलाई सधैं डर लाग्ने गरेको काम गरेर हेर्ने कि भन्ने सोच पनि आएको थियो । मैले आफू कहिल्यै सुन्दर हुन सक्दिनँ र हुनु पनि परेको छैन भनेर आत्मसात् गरे के हुन्छ ?

समाजले निर्धारित गरेको सुन्दरताको मानकलाई चुनौती दिनु ठूलै काम थियो । त्यसमा पनि मिडियाले प्रतिनिधित्व गर्ने सुन्दरतामा गोरो, पातलो र सबल शरीर भएको र भिन्न हुनुको परिभाषालाई परिवर्तन गर्न जरुरी छ । ‘हरेक प्रकारका व्यक्ति सुन्दर हुन सक्छन्’ भन्ने झनाइ समयक्रमसँगै ‘सबै व्यत्ति सुन्दर छन्’ भन्ने समावेशी सन्देशमा बदलियो ।

त्यो सन्देश हामीले विश्वास गरेजतिको धेरै क्रान्तिकारी छैन, त्यससँगै उत्तिकै खराब पनि छ भन्नेमा विश्वस्त थिएँ । सबै मान्छे वास्तवमा सुन्दर हुँदैनन् भन्ने तथ्यलाई मान्नु नै सबैभन्दा सजिलो हुन्छ हैन र ? हामीले त्यसलाई धेरै महत्त्व नै दिन छाडे के हुन्छ ? केही मानिस सुन्दर हुँदैनन्, तर उनीहरूसँग अरू विशेषता हुन्छन् । कोही राम्रो पौडी खेल्न सक्लान् वा बाजा बजाउन सक्लान् । तसर्थ सुन्दर हुनु भनेको आवश्यकता होइन भन्ने संसारमा हुर्किन पाए कस्तो हुँदो हो भन्ने मलाई लाग्छ ।

सुन्दर देखिने सोचले मेरो जीवनको धेरै समय खाएको छ । अरूका अगाडि सुन्दर मात्रै नभएर अद्वितीय र आकर्षक देखिने कुराले मलाई निकै उत्तेजित बनाएको छ । सुन्दर देखिन यति धेरै नंग्रा नखियाएकी भए मेरो अनुभव कस्तो हुन्थ्यो ? मैले सुन्दर देखिनेबारे नसोचेर त्यो स्थान खाली भएको भए अरू के सोच्थेंँ, के महसुस गर्थें होला ?

गृहनगरको सडकमा रहेको त्यो ऐना अगाडिबाट हिँडेर पुस्तकालय जाँदा वा साथीहरूसँग पार्टीमा जाँदा वा पार्कमा जाँदा कस्तो हुन्थ्यो होला ? के मलाई आफ्नो शरीरले जे गर्न दिएको छ, त्यही गरेको देख्दा खुसी लाग्थ्यो होला त ? त्यसलाई वास्तै नगर्दा झन् के हुन्थ्यो होला ? हामीलाई भनिन्छ, सबैजना सुन्दर हुँदैनन् । सुन्दर नै किन हुनुपर्छ त ? (न्युयोर्क टाइम्सबाट)

प्रतिक्रिया दिनुहोस