Safal Khabar - जीवनमरणको दोसाँधमा एक युवती
बुधबार, ०४ असार २०७६ (Wednesday, 19 June, 2019)
जीवनमरणको दोसाँधमा एक युवती
बुधबार, २७ चैत २०७५, १२ : ०६
जीवनमरणको दोसाँधमा एक युवती

गलेश्वर । माया पिरती र अध्ययन/रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया एक युवती मृत्युसँग जुधिरहेकी छन् ।

फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरहेकी छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराकी  सन्तु अहिले जीवनमरणको दोसाँधमा अस्पतालको श्ययामा छट्पटाइरहेकी छन् । दुई वर्षअघि मुटुमा प्वाल परेर शल्यक्रिया गरेपछि केही समय हाँस्दै, मुस्कुराउँदै भविष्यको सपना देखेकी यी युवतीको अहिले फोक्सोमा पानी जमेका कारण सबै सपना भताभुङ्ग भएका छन् । उपचारका लागि लाग्ने खर्चको अभावका कारण मर्ने बाँच्ने टुङ्गो नभएकी सन्तु अस्पतालको श्ययाबाट आफूलाई बचाउन याचना गरिरहेकी हुन् ।

सन्तुका बुबा सूर्य र आमा जमुना छोरीको उपचारका लागि पैसा नभएपछि आफूहरुलाई नै धिक्कार्दै परोपकारी सङ्घसंस्था र दाताहरुलाई गुहारी रहनुभएको छ  । चार छोरी र एक छोराको पालनपोषण, शिक्षादिक्षा र छोरी सन्तुको उपचार गर्दा भएको सबै सम्पत्ति रित्याएका सूर्य पोखरेल अब छोरीको उपचारका लागि खर्च गर्न एक पैसा नभएको बताउनुहुन्छ ।

“छोरीको थप उपचारका लागि जहाजबाट काठमाडौँ लैजानुपर्ने चिकित्सकले बताएका छन्”, सूर्यले रुन्चे स्वरमा भन्नुभयोे । “गाडीबाट लैजान सक्ने अवस्था छैन, काठमाडौँ पु¥याउने हो भने बचाउन सकिएला” सन्तुको उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै सूर्यले भन्नुभयो “साथमा रु १०० पनि छैन, कहाँबाट छोरीलाई जहाजमार्फत काठमाडौँ  लैजाऊँ ।”

अहिले सन्तुलाई अस्पतालको सघन उपचारकक्षमा राखिएको र दैनिक रु १० हजार औषधि र अन्य चार्जको रुपमा खर्च हुने गरेको उहाँले बताउनुभयो । गाउँमा बचेको अलिकति जग्गा र बास बस्ने घर बैंकमा धितो राखेर आएको पैसाले यतिञ्जेलसम्म छोरीको उपचार गराइएको बताउनुभयो । उहाँले सक्दो सहयोग गरेर आफ्नी छोरीको जीवनरक्षा गरिदिन मनकारी व्यक्ति र सङ्घसंस्थासँग आग्रह गर्नुभएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस