कथित छुतहरुले भन्ने गरेको अछुतको संघर्ष हो ‘मैदारो’

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०७५, ११ : ५८
कथित छुतहरुले भन्ने गरेको अछुतको संघर्ष हो ‘मैदारो’

कवितामा लामो समय रहेको साहित्यकार भूपिन निबन्ध विधामा फड्को मार्दैै यतिबेला उपन्यासको यात्रामा दौडिरहनुभएको छ । उहाँ छिटै उपन्यासको गन्तव्यमा पुग्दै हुनुहुन्छ, अर्थात् अब केही दिनमै उहाँले ‘मैदारो’ उपन्यास (कृतिमा पाँचौं र उपन्यासमा पहिलो) सार्वजनिक गर्दैहुनुहुन्छ । 
यसअघि कविता र निबन्धमा पौडिनुभएका भूपिन अब उपन्यासको बाटोमा लाग्नुभएको छ । उनले यसअघि क्षतिग्रस्त पृथ्वी र मूल सडक (कविताकृति–२०५३), हजार वर्षको निद्रा (कविताकृति–२०६६), चौबीस रिल (निबन्धकृति–२०६९) र सुप्लाको हवाइजहाज (कविताकृति–२०७२) सार्वजनिक गरिसक्नुभएको छ । उहाँका सबै कृतिहरु पाठकमाझ लोकप्रिय नै भएका छन् । अब आउँदै गरेको उहाँको पछिल्लो कृति अर्थात् ‘मैदारो’ उपन्यास कस्तो स्थानमा रहने हो ? यो विषय अहिले गर्भमै छ । 
उहाँको आउँदै गरेको नयाँ उपन्यास ‘मैदारो’ र लेखक अनुभवबारे सफल खबरले गरेको कुराकानी :

– कविता, निबन्ध हुँदै उपन्यासमा आउनुभयो । साहित्यिक विधा परिवर्तन गर्नुका पछाडि केही छ ? 
मेरो कृति प्रकाशनको सुरुवात् कविताबाट भएको हो । दोस्रो कृति पनि मेरो कविता नै भयो । त्यसपछि फेरि बाटो मोडियो, निबन्ध प्रकाशन गर्न पुगें । कस्तो कृति बन्यो त्यसको जानकार मेरा पाठकहरु नै हुनुहुन्छ । 
अब रह्यो विधा परिवर्तनको कुरो, जहाँसम्म एउटा सर्जक छ, जो सिर्जना गर्छ र विधा परिवर्तन पनि गर्छ । यो कुनै नौलो कुरो होइन । मैले यसलाई सामान्य रुपमा लिन्छु । 
कोही सर्जक सिर्जनात्मक क्षेत्रप्रति उदासीन भएर सिर्जना इतरको कुनै क्षेत्रमा पलायन भयो भने, अथवा लेख्न छोड्यो भने वा कुनै अपराधिक क्रियाकलापमा संलग्न भयो भने मात्र त्यहाँ गडबड हुन्छ । नत्र सर्जकले विधा परिवर्तन गर्ने कुरालाई असामान्य रुपमा लिनुहुँदैन । 
अर्को कुरो, समाजमा रहेका हरेक विषयलाई लेखकले एउटै विषयमा लेख्न सक्दैन । मलाई लाग्छ, सर्जकले हरेक विषयलाई एउटै विषयमा लेख्न पनि हुँदैन । मैले पनि मेरो मनमा आएका विषयहरु एउटै विद्यामा रहेर लेख्न सकिनँ र उपन्यास लेखेँ । फेरि अर्को कुरा ‘मैदारो’ मैले अरू विधामा लेख्न सक्दिनथेँ । त्यसकारण मैले उपन्यास नै लेखेको
हो । 

– पहिलो कृतिलाई छोड्ने हो भने तीनतीन वर्षको फरकमा कृतिहरु जन्माइरहनुभएको छ, संयोग हो कि या अरु नै कारण ?
हो, मेरा कृतिहरु तीनतीन वर्षको फरकमा जन्मिरहेका छन् । ‘हजार वर्षको सपना’पछि तीन वर्षमै ‘चौबीस रिल’ जन्मियो । ‘चौबीस रिल’पछि तीन वर्षमै ‘सुप्लाको हवाइजहाज’ जन्म भयो । अहिले त्यसको तीन वर्षमा ‘मैदारो’ जन्मने अवस्थामा पुगेको छ । यसपछि जन्मको विषयमा कुरा गर्दा अलि हतार गरेजस्तो हुन्छ । सबै सन्तान लेखकलाई अत्यन्तै माया लाग्छन् । सबै सन्तान जन्माउन लेखकले उतिक्कै मिहिनेत गरेको हुन्छ । 
जन्मेपछि लेखकका सन्तान पाठकहरूको मनमन्दिरमा हुर्केका हुन्छन् । पाठकले कृतिलाई कति मन पराउँछन् भन्नेकुरा लेखकको वसमा हुँदैन । धेरै कृतिको जन्म दिँदैमा उत्तम हुने पनि होइन । वर्षैपिच्छे लेख्नुपर्छ भन्ने पनि मलाई लाग्दैन । ढिलै होस् तर राम्रै होस् भन्ने कुराले मलाई सताइरहन्छ । मेरो लेखनको शैली या रफ्तार नै यस्तै प्रकारको छ भनेर बुझ्दा पनि हुन्छ । 

– ‘मैदारो’ उपन्यास कस्तो खालको कृति बनेको छ ? सार्वजनिक हुनुअघि पाठकलाई कतिसम्म भन्न सकिन्छ ?

लेखकले जब कृति सार्वजनिक गर्छ, त्यसपछि सम्पूर्ण हात पाठकको नै हुन्छ । जन्माउनसम्म लेखकले ठूलो मिहिनेत गरेको हुन्छ । त्यसपछि कृतिलाई कुन स्थान दिने पाठकको हात हो । 
लेखकले नै कृति यस्तो बनेको छ भन्नु त्यति सान्दर्भिक हुँदैन । यो पाठकलाई नै छोड्नुपर्छ । मैले यतिमात्र भन्न सक्छु, यस कृति जन्माउन ठूलो मिहिनेत छ । मिहिनेतको फल स्वादिलै हुनुपर्छ । 
‘मैदारो’ अनुभूति, संघर्ष, संवेदना र विचारको कथा हो । कथित छुतहरुले भन्ने गरेको एक अछुतको संघर्ष हो, समाजको विभेदको पर्दाफास पनि हो । 

–त्यसो भए विभेदको कथाले भरिपूर्ण छ ‘मैदारो’ ?
सबैकुरा दुईचार कुराको र्वार्तामा भन्न सकिने अवस्था पनि हुँदैन । भन्नुको सार पनि हुँदैन । कृतिलाई न्याय दिन पनि सबै अधिकार पाठकमा छोड्नु पर्छजस्तो मलाई लाग्छ । मैदारो एक प्रयोगात्मक उपन्यास हो, जहाँ दुनियाँकै सबैभन्दा निकृष्टतम विभेदको कथा बुनिएको छ । संघर्ष व्यथाहरु उनिएको छ । उज्यालोको खोजी गरिएको छ । यो उपन्यासमा स्टोरी टेलिङमा मैले विशेष मिहिनेत गरेको छु । यो लेखकले निर्माण गरेको अलग दुनियाँ हो, मूलतः रोमाञ्चक यात्रा नै हो भन्न सकिन्छ । यसको स्वाद उल्लास र उमंगको होइन, दलन र पीडाको हो ।

–मैदारोले पाठकलाई न्याय दिन नसकेर लेखकलाई निराशा जगायो भने ?
निरास हुनका लागि जीवनमा अन्य धेरै कुराहरू छन् । मानिसले नचाहेर पनि निराशलाई अँगाल्न पुग्छन् । म आशालाई जीवीत राख्न आख्यानको यात्रामा निस्केको यात्री हुँ । खासमा ‘मैदारो’ मैले पढ्न चाहेकोजस्तो उपन्यास लेख्ने प्रयास गरेको हुँ । 
लेखकले कृति जन्माइसके पछि त्यसको आशा गरिरहेको हुन्छ । त्यो आशामा म पनि रहेको छु । आफ्नो सन्तानलाई माया नगर्ने आमा को नै हुन्छ र ? सबै आमाहरु सन्तान राम्रो बनोस्, नाम राखोस् भन्ने नै चाहन्छन् तर त्यो सन्तानको मूल्यांकन त अरुकै हातमा हुन्छ ।

– यसपछि कवितातर्फ व्याक हुने कि, निबन्धतर्फ अथवा अन्य कुनै विधातर्फ लाग्ने ?
लेखन भनेको विकास प्रक्रियाको यस्तो सवारी हो, जसको कुनै ब्याक गियर हुँदैन । ममा पनि व्याक गियर छैन । लेखक हरेक विधामा अगाडी मात्रै बढिरहन्छ, बढ्न खोजिरहन्छ । म मैले लेखेका हरेक विधाहरुमा अघि बढ्न चाहन्छु, व्याक हुन चाहन्नँ । 

– मैदारोलाई मनमन्दिरमा सजाउनेहरुलाई कहिलेसम्म कुराइराख्ने ?
अब केवल दुईचार दिनमात्र । यसलाई यसरी बुझौँ ‘मैदारो’ उपन्यास गर्भमै छ अब केही दिनमै जन्म हुन्छ । पाठकहरुले यसलाई छिटै हुर्काउन पाउनुहुन्छ । 

 

प्रतिक्रिया दिनुहोस