सात सय जनाको निःशुल्क स्वास्थ्य जाँच

सफल खबर संवाददाता

शनिबार, ०९ चैत्र २०७५, १५ : ३७
सात सय जनाको निःशुल्क स्वास्थ्य जाँच

चितवन । सुम्नीमा ग्रामीण बचत तथा ऋण सहकारी गैंडाकोटले पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा सात सय जना सेवाग्राहीले सेवा लिएका थिए ।
गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नु भएको शिविर सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारीले आफ्नो २५ वर्ष पूरा गरेको रजत जयन्तिको उपलक्ष्यमा सञ्चालन गरिएको सहकरिका शेयर सदस्य तथा शिविरका संयोजक सुर्यप्रसाद घिमिरेले बताउनुभयो । 

पुरानो मेडिकल कलेजका तर्फबाट वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ प्राडा महेश माथुर, वरिष्ठ मृगौला रोग विशेषज्ञ प्राडा माधव घिमिरे, बरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेषज्ञ प्राडा प्रबिन कुमार, बरिष्ठ दन्तरोग विशेषज्ञ प्राडा पाशा, वरिष्ठ बाल रोग विशेषज्ञ प्राडा अतनु पान, वरिष्ठ हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ प्राडा हेमन्त कुमार गुप्ता, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डा अपार पोख्रेल, वरिष्ठ जनरल फिजिसियन डा जितप्रसाद घिमिरेसहित ३० जनाको प्राविधिक टोलीले विभिन्न ८ वटा विभागमा विशेषज्ञ सेवा प्रदान गरेका थिए । 

निःशुल्क स्वास्थ्य शिविरमा पुरानो मेडिकल कलेज र ट्याब्लेट इन्डिया फार्मासिटिकल्सले आफ्ना बजार प्रतिनिधि समिरा अधिकारीसहित निःशुल्क औषधि उपलब्ध गराएको थियो । साथै यम सप्लायर्स र टाइम फर्मासिटिकल्सले पनि औषधि सौजन्य गरेका थिए । 

सार्क क्षेत्रको पहिलो नेपाली सर्जिकल अस्पताल तथा निजी क्षेत्रको नेपालकै पुरानो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता विभिन्न कार्यक्रम गर्ने गरेको र यसलाई आगामी दिनमा अझै प्रभावकारी रुपमा अगाडि बढाइने अस्पतालका प्रमुख सञ्चालन अधिकृत प्राडा सुप्रभात श्रेष्ठले बताउनुभयो । 

नेपाल सरकारले विपन्नलाई लक्षित गरी सुरु गरेको निःशुल्क स्वास्थ्य विमा, निःशुल्क कडा रोग सेवा, निःशुल्क डट्स कार्यक्रम, निःशुल्क पाठेघरको शल्यक्रिया, भुपु भारतीय नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम इसिएचएस सेवा एउटै अस्पतालमा उपलब्ध भएको र सम्पूर्ण विभागमा विशेषज्ञ सेवा उपलब्ध भएको पुरानो मेडिकल कलेजले मध्य नेपालमा गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गरिरहेको र भावी दिनमा समेत आफ्नो सेवालाई प्रभावकारी बनाइने अस्पतालका बजार तथा जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले बताउनुभयो । कार्यक्रममा नगर प्रमुख पौडेल, डा महेश माथुर, डा माधव घिमिरेले मन्तव्य राख्नु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस