बुटवल–नारायणगढ सडक

महेन्द्रले बनाएको सडक ५७ वर्षपछि चौडा पारिँदै

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०७५, १३ : १३
महेन्द्रले बनाएको सडक ५७ वर्षपछि चौडा पारिँदै

चितवन । तत्कालीन राजा महेन्द्र शाहले बनाएका हुन् बुटवल–नारायणगढ सडक । तत्कालीन राजा महेन्द्रले २०१८ सालमा नवलपरासीको गैंडाकोटमा सो सडकको शिलान्यास गरेका थिए । नाम राखिएको थियो –महेन्द्र राजमार्ग । 
उनै महेन्द्रले निर्माण गरेको सडक अहिलेको सरकारले चौडा बनाउन लागेको छ । सो सडक अहिले पूर्वपश्चिम राजमार्गबाट चिनिएको छ । बुटवल–नारायणगढ सडक खण्ड  विस्तारको काम आजबाट सुरु हुँदैछ । वर्तमान सडक दुई लेनको छ । 
सो सडक १ हजार २७ किलोमिटर पर्छ । सडक खण्डमध्ये बुटवल–नारायणगढ सडकमा १ सय १४ किलोमिटर सडक बस्तीमा पर्छ । बस्तीमा पर्ने सडकमा ६ लेन हुनेछ । र जंगलमा ४ लेनमा विस्तार गरिने छ । सडक खण्ड राजमार्गको मध्य भागमा पर्छ । १ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन सहितको हुनेछ ।
अब केहीबेरमा सडक विस्तारको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने छन् । सडक एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्न लागेको हो । सडक विभाग आयोजनो ३ वर्षमा सडक देशकै नमूना बन्ने जनाएको छ ।  
‘यो सडक २ प्याकेजमा बन्छ । दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको छ । नारायणगढ– दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने बुटवल ४९ किलोमिटरमा बन्नेछ ।
सडक आयोजनाको कूल लागत १५ अर्ब रूपैयाँ रहेको छ । जसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने भएको छ । निर्माण सम्पन्न भएपछि पनि ४ वर्षसम्म सडकको मर्मत सम्भारको काम चाइना स्टेट कन्ट्रक्सनले नै गर्नुपर्ने सम्झौता गरिएको छ । २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने छ । सडक नवलपरासीको दाउन्नेको पहाडमा तीन लेनको हुनेछ । सडक खण्ड विस्तारसँगै २१ वटा नयाँ पुलहरू पनि बन्ने भएका छन् । 

प्रतिक्रिया दिनुहोस