खारेज भएको कार्यालय छोड्न अटेर गर्छन् सिटिईभिटीका कर्मचारी

सोमबार, ०४ चैत्र २०७५, १६ : ४७
खारेज भएको कार्यालय छोड्न अटेर गर्छन् सिटिईभिटीका कर्मचारी

–सुमन गैरे
भरतपुर ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) मध्य क्षेत्रीय कार्यालय भरतपुर प्रदेशमा गाभिएको अवस्थामा भरतपुर अस्पतालको स्वामित्वमा रहेको जग्गा र संरचना छोड्न कर्मचारीले अटेर गरेका छन् । अस्पतालको स्वामित्वमा रहेको एक बिघा आठ कठ्ठा ६ धुर जग्गामा बनाइएका संरचना छोड्न अनुरोध गर्दा पनि अटेर गरेपछि अस्पताल प्रशासनले केही दिनअघि ताला लगाएर बोर्ड मेटाइएको थियो ।

त्यस लगतै सिटिईभिटीले स्कुल अफ हेल्थ साइन्सका विद्यार्थी प्रयोग गरी ताला तोडेर पुनः बोर्ड राखेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.कृष्णप्रसाद पौडेलले बताउनुभयो । क्षेत्रीय कार्यालय हेटौँडा सरिसकेको अवस्थामा सिटिईभिटीका कर्मचारीले दादागिरी देखाएको डा. पौडेलको भनाइ छ । ‘उपयोग नभएका भवन छोड भन्दा पनि कर्मचारीले टेरेनन्’ डा. पौडेलले भन्नुभयो,‘अस्पताल विकास समितिका अध्यक्ष खिमलाल भण्डारीले अस्पतालको सम्पत्ति फिर्ता माग्दा विद्यार्थी प्रयोग गरेर सिटिईभिटीका कर्मचारीले अवरोध गरेको बताउनुभयो । ‘स्वास्थ्य मन्त्रालयले समेत ठाँउ र संरचना अस्पताललाई हस्तान्तरण गर्न परिपत्र गरेको छ, समस्या छैन तर विवाद किन निकालियो ?’ अध्यक्ष भण्डारीले प्रश्न गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुशासन इकाइले २०७३ साल चैत १८ गते संरचना अस्पताललाई उपयोग गर्न परिपत्र गरेको बताइएको छ । सिटिईभिटी क्षेत्रीय कार्यालयका निर्देशक कृष्णबहादुर केसीले परीक्षासम्बन्धी काम भएकोले तत्काल परीक्षा शाखा र प्रशासन सार्न नसकिने बताउनुभयो । त्यहाँ रहेका संरचनामध्ये ३ नम्बर ब्लक केही दिनअघि खाली गरिएको उहाँले जानकारी दिनुभयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) परिषद्ले निर्णय गरेपछि मात्रै कार्यालयका सम्पत्ति स्थानान्तरण गर्ने निर्देशक केसीको भनाइ छ ।

सो परिषद्का अध्यक्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने व्यवस्था छ । वरिष्ठ प्राविधिक अधिकृत अर्जुन पौडेलले दुई महिनासम्म परीक्षाको कामले छोड्न नसकिने र त्यसपछि पनि सिटिईभिटीको परिषद् बोर्डले निर्णय गरेपछि मात्रै स्थानान्तरण हुन सकिने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले प्रयोग गर्दै आएको जमिनमा बनाइएका संरचनालाई स्कुल अफ हेल्थ साइन्सले प्रयोग गर्दै आएको थियो ।

हेल्थ साइन्सले प्रयोग गरेको सात बिघा जमिन मधये १ बिघा ८ कट्ठा ६ धुर जग्गा र त्यहाँ बनेको संरचना केही वर्षदेखि सिटिईभिटीको क्षेत्रीय कार्यालयले प्रयोग गर्दै आएको अस्पताल प्रशासनले जानकारी दिएको छ । दुवै पक्षको अवरोधपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले तत्काललाई परीक्षाको काम सञ्चालन गर्न दिने र अस्पतालको सम्पत्ति हस्तान्तरणको लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सिटिईभिटीको क्षेत्रीय कार्यालय हेटौँडा सरिसकेको अवस्थामा अस्प्तालको सम्पत्ति हस्तान्तरण गर्न सिटिईभिटी बोर्डलाई परिपत्र गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो । खाली भएका संरचना अस्प्तालले प्रयोग गर्न सक्ने निर्णय पनि गरिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । 

स्कुल अफ हेल्थ साइन्स व्यवस्थापन बोर्डका अध्यक्ष प्रमुख जिल्ला अधिकारी र परिषद्को अध्यक्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रहने व्यवस्था छ । भरतपुर अस्पतालले सिटिईभिटीले चलाएको भवनमा फिजियो थेरापीलगायत प्रशासनिक कार्यहरु सञ्चालन गर्ने जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस