–सुमन गैरे
भरतपुर । बालकुमारी माध्यमिक विद्यालय नारायणगढ सामुदायिक विद्यालय हो । विस २०२२ मा स्थापना भएको यस विद्यालयका संस्थापक प्रधानाध्यापक हुन् कृष्णराज हमाल । ललितपुरको लामाटारमा जन्मिएका हमाल बालकुमारी माविमा २०२२ सालदेखि २०५१ सालसम्म प्रधानाध्यापक भएका थिए ।
एउटै विद्यालयमा २९ वर्षसम्म अनवरत रुपमा प्रधानाध्यापकको भूमिका खेलेका हमालको कार्यकालमा सो विद्यालय नमुना विद्यालयका रुपमा स्थापित भएको थियो । उनकै कार्यकालमा विद्यालयले तत्कालीन प्रवेशिका (एसएलसी) परीक्षामा बोर्डमा पर्न सफल भएको थियो । २०३३ र ०३४ सालमा विद्यालयले राम्रो नतिजा ल्याएर बोर्डमा पर्न सफल भएको थियो । २०३२ सालमा त विद्यालय एसएलसी बोर्ड नेपालमा प्रथम भयो । ‘बजार क्षेत्रको अभिभावकको सहयोगले विद्यालय राम्रो भएको थियो’ संस्थापक प्रअ हमालले भने ।
प्रअ हमालको कार्यकालमा नारायणगढमा स्थायी बसोबास भएकाहरुका छोराछोरी विद्यालयमा पढ्न आउँथे भने अहिले बजारमा डेरा गरी मजदुरी गर्नेका छोराछोरीको धेरै यहाँ आउने गरेका छन् ।
विद्यालयको इतिहासलाई पल्टाएर हेर्दा अहिले शैक्षिक गुणस्तर खस्कँदै गएको पाइन्छ । पहिलाकै स्तरमा विद्यालयको गुणस्तर कायम गर्न विद्यालय प्रशासनले स्थानीय अभिभावकले व्यवहारिक प्रतिबद्धता जनाउनु पर्ने पूर्व प्रअ हमालको भनाइ छ ।
शिक्षकले विद्यार्थी केन्द्रित विधि अपनाएर वैयक्तिक भिन्नताको आधारमा शिक्षण गर्नुपर्ने बेला आएको उनले बताए । विद्यालय प्रशासन गुणस्तरीयता कायम गर्न सवल भएमात्रै स्थानीय अभिभावकले निजी विद्यालयमा पठाएका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पठाउने वातावरण बन्ने पूर्वप्रधानाध्यापक हमालको भनाइ छ । अभिभावकसँग नियमित अन्तरक्रिया गर्नुपर्ने कुरामा उनले विद्यालय प्रशासनलाई सुझाव दिएका छन् ।
पूर्वप्रधानाध्यापक कृष्णराज हमालबाट बालकुमारी माविमा अध्ययन गरी विगत वर्षदेखि सोही विद्यालयको पुस्तकालय प्रमुखका रुपमा काम गर्दै आएकी साधना लामिछानेले हमाल सरमा प्रधानाध्यापकमा हुनुपर्ने गुण रहेको बताएकी छन् । ‘उहाँमा जवाफदेहिता, पारदर्शीता, कर्तव्यनिष्ठता जस्ता गुणहरु थिए, शिक्षक, कर्मचारीलाई मिलाएर लैजाने खुवी थियो उहाँमा’ पुस्तकालयकी प्रमुख लामिछानेले भनिन् ।
सोही समयदेखि हालसम्म कार्यालय सहयोगीको रुपमा कार्यरत विष्णुमाया लामाले हमाल प्रधानाध्यापक हुँदा विद्यालयको शैक्षिक वातावरण राम्रो भएको बताइन् । ‘उहाँले कसैलाई सानो ठूलो व्यवहार गर्नु भएन, समान व्यवहार गर्नुभयो’ उनले भनिन् । बालकुमारी माध्यमिक विद्यालयबाट प्रधानाध्यापक भएर त्यहीँबाट स्वच्छिक अवकाश लिएका हमालको समयमा विद्यार्थीको चाप पनि बढी नै थियो । एउटा कक्षा ६० देखि ७० जनासम्म राखेर पढाउन परेको थियो ।
अहिले सो विद्यालयमा विद्यार्थी संख्या घट्दै गएर एउटा कक्षा मुस्किलले ३५ देखि ४० जना हुने गरेको शिक्षक सुरेन्द्र पौडेलले जानकारी दिए । अभिभावकको मन जित्ने शैक्षिक सुधारका कार्यक्रमहरु ल्याएर अभिभावकको घरघरमै पुगेर अभिमूखीकरण गर्ने बेला आएको उनको भनाइ छ । अन्यथा विद्यालय नै समायोजन गर्नुपर्ने अवस्था आउने बताइएको छ ।
सो विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष उद्योगकुमार पियाले प्रधानाध्यापक कृष्णराज हमालको समयमा बालकुमारी सुनौलो युगमा प्रवेश गरेको बताए । ‘प्रअमा हुनुपर्ने गुण देखियो, अनुशासन र कर्तव्यनिष्टका प्रतिमूर्ति हुनुहुन्थ्यो उहाँ’ अध्यक्ष पियाको भनाइ थियो । सबै शिक्षक, कर्मचारी र अभिभावकलाई मिलाएर अघि बढ्ने नेतृत्वदायी भूमिका रहेको पियाले बताए ।
काठमाडौँको बानेश्वर घर भएका हमालले स्वच्छिक अवकाशपछि शैक्षिक तालिममा प्रशिक्षकको रुपमा काम गरेको र केही पुस्तकहरु प्रकाशन गरेको बताए । कर्तव्यप्रति सजग, शालिन स्वभावका प्रधानाध्यापक हमालको गुणगान अहिले पनि बालकुमारी माविमा गाइन्छ । अनि भन्ने गरिएको छ, ‘हेडमास्टर त हमाल सरजस्तो हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस