दुई दशकभन्दा बढी सडकमा जीवन बिताएका खुकुलालको मानवसेवाद्वारा उद्धार

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०७५, १२ : ४४
दुई दशकभन्दा बढी सडकमा जीवन बिताएका खुकुलालको मानवसेवाद्वारा उद्धार

काठमाडौं । मानवसेवा आश्रम काठमाडौंले राती बाह्र बजेको समयमा काठमाडौंको सिनामगंलबाट एक असहाय बृद्धको उद्धार गरेको छ । खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० बर्षीय बृद्ध सडकजीवन विताउन थालेको २० वर्षपछि चैत्र १ गते राती १२ बजेको समयमा आश्रमले उद्धार गरी सामाखुशीस्थित काठमाडौं शाखामा ल्याएको हो । 

कसैले केही दिए खाने नत्र भोकै बस्नुपर्ने बाध्यताबीच सडक जीवन व्यतित गर्दैै आइरहेका महर्जन सिनामंगलमा भएको घर सानैमा दाइले बेचेर गाउँ गएपछि आफु सडकमा आएको बताउँछन् । 

मनमैजु निवासी मुना राइले कार्यालय आउदा जादा बृद्ध बुबा सडकपेटीमा सुतिरहेको देखेपछि आश्रमलाई खबर गर्नुभएको थियो । 

रातको एघार बजे आश्रमको टोली उद्धारको लागि सिनामंगल पुग्दा पेटीमै सुतिरहेका थिए खकुलाल महर्जन । दुईओटा कुकुर उनीसँगै सुतिरहेको थिए । सम्पपत्तिको नाममा कसैले दिएको तिनचार ओटा केरा, आदि पोका पाउरोटी र केही ठूला साइजका कपडाहरु ८० बर्षे बृद्धको साथमा भेटिए । स्थानिय ट्याक्सी ड्राइभरले आफुले १० बर्षदेखी त्यहि ठाउँमा बृद्धलाई पेटीमै सुत्ने गरेको देखेको बताए ।

लगाउनको लागि एक दुई जोर कपडा थियो तर लगाएको भने रहेनछन् । हामीले जाडो हुन्छ भएको कपडा त लगाएरै सुतेको भए हुन्थ्यो नि भनेर प्रश्न राख्दा उनले, भन्ने वित्तिकै नुवाउन पाउदैन, कपडा लगाएरै सुत्दा जुम्रा पर्ने डरले कपडा नलगाएको बताए । 

उनी जुन घरको पेटीमा सुतेको थिए त्यो आफ्नै भान्जाकोको घर भएको बद्ध बुबा बताउछन् । परिवार र आफन्त त टन्नै छन् तरपनि उनीहरुकोमा आफुलाई बस्न सजिलो नभएको बृद्धको भनाई रहेको छ ।

आफु सानै हुँदादेखी नै सडक पेटीमै सुत्ने गरेको महर्जनले बुबा आमालाई आफु सानै हुँदा गुमाए । भएको घर बेचेर गाउँ गएका दाईले आफूलाई भने सँगै गाउँ नलगेको महर्जनले गुनासो गरे । अब त दाइपनि वितेको धेरै भैसक्यो । 
यस अघि पनि कुनै आश्रमले लगेको थियो तर उहाँ आफै बस्न नमानेर फेरी सडकमै आएको उद्धारको क्रममा भेटीएको एक स्थानियले जानकारी दिए । 

भान्जा भन्जी र अन्य आफन्तलाई सम्झाइ बुझाई परिवारमै बस्न सहजीकरण गरिने मानवसेवा आश्रमका काठमाडौंकी सह संयोजक सन्तोषी मगर बताउँछिन् । 

मानवसेवा आश्रम काठमाडौं शाखाका संयोजक सुमन बर्तौला, सह संयोजक सन्तोषी मगर र अभियान्ता जमिर श्रेष्ठ सहितको टोलिले बृद्ध महर्जनलाई रातको १२ बजे सिनामंगलको सडकपेटीबाट संरक्षणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस