न्युजिल्यान्ड । न्युजिल्यान्डको दुई मस्जिदमा आज गोलाबारी भएको छ । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अल नूर र एक अर्को मस्जिदमा गोलाबारी भएको एजेन्सीहरुले जनाएका छन् । मस्जिदमा आज जुमेको नमाज चलिरहँदा त्यही बेला आक्रमण भएको बताइएको छ । गोलाबारी गर्नेमध्ये एक व्यक्तिलाई हिरासतमा लिइएको छ । घटनामा अन्य कोको कति संलग्न छन्, खुलेको छैन ।
न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले घटनापछि देशका नाममा सम्बोधन गर्दै कालो दिनको रुपमा लिएका छन् । सो क्षेत्रका स्कुलहरु बन्द भएका छन् । थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ । न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु सुरक्षित छन् । आक्रमण गरिएको ठाउँ दक्षिण टापुमा अवस्थित न्यूजिल्याण्डकै ठूलो शहर हो ।
प्रत्यक्षदर्शीले बन्दुकधारीले क्राइस्टचर्चस्थित अल नुर मस्जिदमा ५० सट गोली हानेको र उनीसँग सेमी–अटोमेटिक सटगन र राइफलसमेत भएको बताएका छन् । ती बन्दुकधारीले अल नुर मस्जिदभित्र लाइभ–स्ट्रिम गर्दै अन्धधुन्ध गोली चलाएका थिए । घटना नेपाली समयअनुसार शुक्रबार बिहान सवा ६ बजेको हो ।
डेली मेलका अनुसार यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेको भिडियो फुटेजमा देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०१ चैत्र २०७५, १० : ५४
लेखकबाट थप