भरतपुरमा भएको बम बिष्फोट र आशंका

सफल खबर संवाददाता

बुधबार, २९ फागुन २०७५, १५ : १७
भरतपुरमा भएको बम बिष्फोट र आशंका

चितवन । मंगलबार मध्यरातको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालयमा बम बिष्फोट भयो । बिष्फोटबाट कार्यालयको कागजपत्र, फर्निचर तथा झ्यालढोकाको सिसाहरु फुटेका छन् । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । 

बिष्फोटबाट वडा कार्यालयमा पूर्णरुपमा क्षति पुगेको छ । घटनाको प्रारम्भिक अनुसन्धान अनुसार वडा कार्यालयमा बम बिष्फोटसँगै आगजनी गराउन खोजीएको बुझिएको छ । बिष्फोटमा प्रयोग भएको एलपि ग्याँसको सिलिण्डरसँगै दुईवटा टायरलाई पनि प्रयोग गरिएको छ । अज्ञात समूहले विष्फोटपछि कार्यालयमा भएका कागजपत्रहरु नष्ट होस् भन्ने उद्देश्यले टायरलाई सल्काएर सिलिण्डरमा जोडेर कार्यालबाट निस्किएको देखिन्छ । सो समूहले कार्यालयको पछाडिपट्टीको भागबाट सुरक्षित रुपमा ढोका फोडेर सबै महत्वपूर्ण कागाजातहरुलाई ‘प्यासेज’ मा राखेर सिलिण्डर बिष्फोट गराएको छ । 
स्थानीयका अनुसार बिष्फोट राती ११ः५५ बजे भएको थियो । बिष्फोट भएपछि कार्यालयमा ठूलो आवजसँगै आगोको मुस्लो निस्किएको थियो । रातीको करिब १ बजेतिर भरतपुर महानगरबाट गएको दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

घटना लगत्तै बम बिस्फोट गराउने घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । घटनापछि राती र आज बिहान गरी ६ जना लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिह राठौरले जानकारी दिनुभयो । छानविन र अनुसन्धान चलिरहेकोले उनीहरुको पहिचान अहिले नखुलाईने राठौरले बताउनुभयो । 

बिष्फोटमा विप्लव समूहको संलग्नताको आशंका
भरतपुर महानगरपालिकाको वडा नम्बर ५ मा भएको विष्फोटमा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्व नेकपा आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसको केही घण्टापछि नै त्यसको विरोधमा यो बिष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीयका अनुसार यही कार्यालयमा यो सँगै ३ पटक बम बिष्फोट भएको छ । यसअघि स्थानीय तहको निर्वाचनका बेला पनि बिष्फोट भएको थियो । यही कार्यालयमा ३ पटकसम्म बिष्फोट हुनुलाई स्थानीय तहका पदाधिकारीसँग व्यक्तिगत मनमुटाव थियो कि भन्ने आशंका गरिएको छ । कार्यालय ५ का वडा अध्यक्ष पदमपाणि सुवेदी अहिले कोरियाको भ्रमणमा छन् । अध्यक्ष नभएको समयमा घटना घट्नु अर्को रहस्यमय कुरा हो । पछिल्लो पटक विप्लव समूहको नेकपाले विभिन्न स्थानमा बम बिष्फोट गराउने काम गरीरहेकाले यो घटनामा विप्लव कै हात रहेको अधिकांशले आशंका गरेका छन् । अर्को विषय यस समूहले आफ्ना कार्यकतालाई सरकारले पक्राउ गरेको भन्दै आह्वान गरेको नेपाल बन्द सफल बनाउन यस्तो गरेको हुन सक्छ । केही समय यता नेपाल बन्दको प्रभाव चितवनमा त्यति नदेखिने गरेकाले बन्दलाई सफल बनाउन एक दिन पहिले नै बम बिष्फोट गराएर जनतालाई त्रासमा राख्न खोजेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस