घर फर्कने अवस्थामा चेपाङ विद्यार्थी

बुधबार, २९ फागुन २०७५, १४ : ३९
घर फर्कने अवस्थामा चेपाङ विद्यार्थी

चितवन । दाताको सहयोग नआएपछि रत्ननगर–१५ माधवपुरस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ३० चेपाङ विद्यार्थी घर फर्कने अवस्थामा पुगेका छन् । 

विसं २०४५ मा स्थापना भएको विद्यालयले साविक सिद्धी गाविसका विपन्न, आमा बुबा जेलमा परेका र टुहुरा चेपाङ बालबालिकालाई आवसीय सुविधासहित विद्यालयमा अध्यापन गराउँदै आए पनि अहिले आर्थिक अभावले उनीहरुको अध्यापनमा समस्या देखिएको हो । 

विद्यालयले दाताकै सहयोगमा २०६९ सालदेखि कालिका नगरपालिका–११ र १२ नम्बर वडाका १६ जना छात्रा र १४ जना छात्र चेपाङ विद्यार्थी अध्ययन गराउँदै आएको छ । गत वैशाखसम्म सपना भिजेज सोसल इम्प्याक्ट सौराहामार्फत विद्यालयका चेपाङ विद्यार्थीलाई खाजाको व्यवस्था भए पनि अहिले ती विद्यार्थीले खाजा खान पाएका छैनन् । 

सो छात्रावास सञ्चालन गर्न समस्या देखा परेसँगै उनीहरु बिदाको बेलामा घर गएर फर्केर आउन नमान्ने गरेको विद्यालयका प्रधानध्यापक भीमप्रसाद खनालले बताउनुभयो । सिप्रर्दी ट्रेडिङ प्रालिले चेपाङ विद्यार्थीका लागि मासिक रु ८० हजार आर्थिक सहयोग गरे पनि त्यो रकमले ३० जनालाई पर्याप्त नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य गोकुल पन्तले बताउनुभयो । विद्यालयका अङ्ग्रेजी विषयका शिक्षिका गङ्गा खनालले चेपाङ विद्यार्थीको पढाइ राम्रो रहेको जानकारी दिनुभयो । 
कक्षा ७ मा अध्ययरत कोपिला चेपाङले सिरक, खेलकूद सामग्री र टेलिभिजनलगायतका सामग्रीको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै अर्का कक्षा ८ मा पढ्ने चेपाङ छात्र अविन चेपाङले व्यवस्थित भान्छा र दिवा खाजाको पनि व्यवस्था नभएपछि घर फर्किने मनस्थितिमा पुगेको बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस