फेसबुकमा #ट्रयासट्याग च्यालेन्ज : फोहोर सफा गरेर फोटो पोस्ट गरौं

एजेन्सी

बुधबार, २९ फागुन २०७५, १२ : ०७
फेसबुकमा #ट्रयासट्याग च्यालेन्ज : फोहोर सफा गरेर फोटो पोस्ट गरौं

काठमाडौं । फेसबुकमा एउटा सामाजिक अभियान अहिले चर्चामा आएको छ । त्यो अभियान हो –#ट्रयासट्याग च्यालेन्ज । अर्थात सार्वजनिक ठाउँमा थुप्रिएका फोहोरमैला सफा गर्ने, फोटो खिच्ने र सामाजिक सञ्जालमा सेयर गरेर अरूलाई पनि त्यस्तै काम गर्न प्रेरित गर्ने । 

आफ्नो वरिपरि कहाँ फोहोरमैला थुप्रिएको छ खोज्नुहोस र फोटो खिच्नुहोस । त्यसपछि मास्कले नाक–मुख छोप्नुहोस पञ्जा लगाउनुहोस अनि सबै फोहोरमैला बोरामा कोचेर त्यो ठाउँ झाडूले चिरिचट्ट पार्नुहास । 

त्यसपछि फोटा खिच्नुहोस् । एउटै ठाउँको दुइटा छुट्टाछुट्टै फोटो (फोहोरसहित र सफा गरेपछि) फेसबुक लगायत सामाजिक सञ्जालमा हाल्नुहोस् । साथमा लेख्नुहोस #ट्रयासट्याग च्यालेन्ज कम्प्लिटेड । अर्थात पोहोर सफाइ चुनौती पूरा भयो ।

तपाईंको यो पोस्टका कारण सामाजिक सञ्जालमा तपाईंको चर्चा हुनेछ । तपाईंका पोस्टले मनग्य लाइक र थुप्रै राम्रा–राम्रा प्रतिक्रिया त पाउँछ नै, सँगसँगै अरूलाई त्यसरी नै फोहोरमैला सफा गर्ने चुनौती पनि दिनेछ । अरुले पनि तपाईंले जस्तै आफू वरिपरिको फोहोरमैला सफा गरेर फेसबुकमा पोस्ट गर्नेछ र अरूलाई पनि चुनौती दिनेछ ।

सामाजिक सञ्जालमा आइरहने यस अघिका चुनौतीभन्दा #ट्रयासट्याग अर्थात फोहोरमैला सफा गर्ने चुनौती पृथक छ । यो आफ्नो टोल र सहरबजार सफा राख्ने अभियानसँग जोडिएको छ ।


पछिल्लो समय यो चुनौती स्वीकारेका धेरै युवाले सामाजिक सञ्जालमा सफाइका तस्बिर राखेका छन । यसले धेरैलाई प्रेरणा मिलेको छ । चुनौतीमा भाग लिनेले धन्यवाद पाइरहेका छन । इन्स्टाग्राममा मात्र यो चुनौतीका २५ हजारभन्दा बढी तस्बिर पोस्ट भएको बिबिसीले जनाएको छ ।
फोहोरले भरिएका सार्वजनिक स्थान, पार्क, समुद्र वा खोला किनार, यात्रु प्रतीक्षालय, बस स्टप, सडक लगायत सार्वजनिक ठाउँ सफा हुँदै छन । सरसफाइको चेतना पनि फैलिँदै छ । तपाईं पनि सामाजिक सञ्जाल सदुपयोग गर्न चाहनुहुन्छ भने आफ्नो वरपरको ठाउँ सफा गर्नुहोस । तपाईं पनि सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर चर्चा बटुल्न चाहनुहुन्छ भने ढिला नगर्नुस ।
३ ट्रयासट्याग चुनौतीको निम्ति जम्मा गरिएको फोहोरमैला कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने प्रश्न उठ्न सक्छ । यस्तोमा महानगरले बोरामा जम्मा गरिएका फोहोरमैला व्यवस्थापनमा सघाउन सक्छ ।
 

प्रतिक्रिया दिनुहोस